पार्टी फुटाएर प्रचण्डसँग मिल्ने उपेन्द्र-बाबुरामको अन्तिम तयारी



हाम्रो इकोनोमि

 

जनता समाजवादी पार्टी फुटाएर प्रचण्डसँग मिल्ने उपेन्द्र यादव र बाबुराम भट्टराई गुटले तयारी गरेको स्रोतको दाबी छ । उता जनता समाजवादी पार्टी (जसपा) का बरिष्ठ नेता लक्ष्मणलाल कर्णले माओवादी बन्ने रहर भए तत्काल प्रचण्डतिर लाग्न अध्यक्ष उपेन्द्र यादवलाई चेतावनी दिनुभएको छ । यादवका पछिल्ला गतिविधि जसपा फुटाउन र माओवादी बन्न उद्दत रहेका निश्कर्षसहित नेता कर्णले यस्तो चेतावनी दिनुभएको हो ।

यादवको समूहले लुम्बिनी प्रदेश सभामा गरेको चलखेल र किर्ते कामबाटै माओवादीतिर बिलय हुने लक्षण प्रष्ट भएको नेता कर्णको भनाइ छ । ‘राजनीतिक दल सम्बन्धी ऐन अनुसार पाँच वर्षसम्म जसपा विभाजन हुन सक्दैन, उपेन्द्रजीहरुलाई जानै मन लागेको हो भने बाटो खुला छ, नयाँ पार्टी खोलेर प्रचण्डसँग गए हुन्छ,’ नेता कर्णले भन्नुभयो । केन्द्रको निर्णयविपरित लुम्बिनी प्रदेश सभामा जसपाबाट प्रतिनिधित्व गर्ने चार सांसद्लाई उपेन्द्र समूहले पदमुक्तका लागि सिफारिस गरेको थियो । सोही कीर्ते सिफारिसका आधारमा माओवादी कार्यकर्ता बनेर लुम्बिनीका सभामुखले चार सांसद् पदमुक्त भएको सूचना वैशाख १६ गते सार्वजनिक गर्नुभएको थियो ।

सो सिफारिस गैरकानुनी भएको भन्दै सोही दिन नै जसपा अध्यक्ष महन्थ ठाकुरले लुम्बिनीका सभामुखलाई पत्र पठाउनुभएको थियो । ठाकुरले निर्णय कार्यान्वयन नगर्न भन्दै शुक्रबार निर्वाचन आयोगमा निवेदन समेत दिनुभएको छ । डा. बाबुराम भट्टराईसहित यादव पनि माओवादीमा मिसने कुरा लुम्बिनीको यस प्रकरणले प्रष्ट पारेको कर्णको निश्कर्ष छ ।

प्रचण्ड र डा. बाबुराम भट्टराईका कारण जसपा लुम्बिनीमा किचलो देखिएको उहाँले बताउनुभयो । उपेन्द्र यादव आफैंले यस्तो कुरा सोच्न नसक्ने बताउँदै कर्णले भन्नुभयो, ‘लुम्बिनीमा प्रचण्डको स्पष्ट सहभागिता छ, प्रचण्डको सहयोगबिना सभामुखले त्यस्तो काम गर्न सक्छ ? उपेन्द्रजी त प्रचण्डको प्यादा बन्नुभयो ।’ उपेन्द्र यादव प्रचण्डबाट निर्देशित मान्छे भएको ठोकुवा पनि कर्णले गर्नुभयो । पार्टी र पार्टीका प्रथम अध्यक्ष महन्थ ठाकुरको आँखा छलेर प्रचण्डकै निर्देशनमा उपेन्द्रले जसपा लुम्बिनी भाड्नुभएको उहाँको भनाई छ । ‘उपेन्द्रजीले लुम्बिनीमा त्यस्तो गर्नु नै थियो भने पनि बैठक बोलाएर बहुमतको निर्णय गरेर गर्न सक्नुहुन्थ्यो, तर त्यसो गर्नुभएन, उहाँ प्रचण्डबाट निर्देशित मान्छे हो,’ कर्णले भन्नुभयो ।

प्रचण्ड र बाबुरामको पछाडि लागेपछि उपेन्द्रले मधेसका मुद्दा र माग बिर्सिएको पनि उहाँको आरोप छ । ‘उपेन्द्रजी हामीसँगै मधेसको आन्दोलनबाट आएको मान्छे हो, बाबुराम हिजो हामीसँग मिलेको मान्छे हो, तर बाबुरामको पछि लागेर उपेन्द्रजीले मधेसका मुद्दा र मागहरु भुल्नुभएको छ,’ कर्णको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...