यी हुन् एमाले स्थायी कमिटीका नयाँ अनुहार ( नामसहित )



हाम्रो इकोनोमि

 

अहिले नेकपा एमालेमा अध्यक्ष र महासचिवबाहेक कोही पदाधिकारी छैनन् । अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलबाहेक अरु सबैको हैसियत दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्य हो । वैशाख ६ गते बस्ने एमाले केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी गठन गर्ने एजेण्डा रहेकाले अब नियमित कार्य सम्पादनका लागि उपल्लो कमिटी गठन हुने सम्भावना छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले चैत १३ गते जारी गरेको अन्तरपार्टी निर्देशनको ९ नम्बर बुँदामा स्थायी कमिटीको नामावली तयार गरी केन्द्रीय कमिटीको आगामी बैठक समक्ष निर्णयार्थ पेश गर्ने जिम्मेवारी अध्यक्ष र महासचिवलाई सुम्पेको उल्लेख छ । पोलिटब्यूरो गठनको तत्काल सम्भावना नभए पनि एमालेको तत्कालीन पोलिटब्युरो कमिटीमा रहेका नेताहरूमध्येबाट स्थायी कमिटी सदस्यमा थप गर्ने ढंगले शीर्ष नेतृत्वमा अनौपचारिक छलफल चलेको छ ।

पार्टी बैठकहरूमा सहभागी नभई समानान्तर गतिविधि गरिरहेको माधव नेपाल पक्षका नेताहरूलाई स्थायी कमिटीमा राख्ने वा नराख्ने भन्ने निधो नभइसकेको एक नेताले बताए । तर, समानान्तर कमिटी गठन गर्न लागेको भन्दै माधव नेपालसहित चार नेतालाई केन्द्रीय सदस्यबाट समेत निलम्बन गरिएको अवस्थामा सो अभियानमा लागेकाहरुलाई नियमित कामकाज गर्नुपर्ने कमिटीमा राख्ने सम्भावना नरहेको उनको भनाइ छ ।

स्थायी कमिटी कति सदस्यीय बनाउने भन्ने पनि टुंगो लागिसकेको छैन । यसबीचमा नेताहरूबीच छलफलबाट संख्या तय हुने र ठूलो कमिटी नबनाइने महासचिव पोखरेलनिकट स्रोतले बताएको छ । सामान्यतः केन्द्रीय कमिटीको एक तिहाई पोलिटब्यूरो र पोलिटब्यूरोको एक तिहाई स्थायी कमिटी रहने गरेको छ । २६४ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक कमिटीको एक तिहाई ८८ हुन्छ भने त्यसको एक तिहाई २९ सदस्यीय हुन्छ । एमाले स्रोतका अनुसार पदेनबाहेक २५ सदस्यभन्दा माथि नहुने गरी स्थायी कमिटी गठन हुने सम्भावना छ । तत्कालीन नेकपाका ४३ स्थायी कमिटी सदस्यमध्ये विभाजनको बेला केपी ओली पक्षमा १६ जना थिए ।

यी १६ जना निरन्तर

केपी ओली, ईश्वर पोखरेल, रामवहादुर थापा बादल, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सत्यनारायण मण्डल, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, किरण गुरुङ, विष्णु रिमाल र मणि थापा स्वतः स्थायी कमिटी सदस्य हुनेछन् ।

वामदेव गौतम बैठकमा आएर निर्णय प्रक्रियामा सहभागी भए उनी स्थायी कमिटीमा निरन्तर रहने बताइएको छ । आवश्यकता अनुसार पदाधिकारी समेत राख्ने अधिकार लिएका अध्यक्ष ओलीले गौतमलाई उपाध्यक्षमै कायम राख्ने सम्भावना पनि छ ।

समानान्तर कमिटी गठनमा लागेका नेताहरूलाई स्थायी कमिटीमा नराख्ने हो भने ९ जनासम्म नयाँ सदस्य थपिने सम्भावना छ । त्यसमा माओवादीबाट प्रवेश गरेकामध्ये प्रभु साह थपिने र अन्य आठ जना वरिष्ठताका आधारमा एमाले नेताहरु थपिने बताइएको छ ।

तत्कालीन पोलिटब्यूरोबाट दाबेदार

तत्कालीन पोलिटब्यूरो सदस्यमध्ये काशिनाथ अधिकारी, थममाया थापा, विन्दा पाण्डे, भानुभक्त ढकाल, यमलाल कँडेल, राधा ज्ञवाली, लालबाबु पण्डित, विजय सुब्बालगायतका नेता स्थायी कमिटीका दाबेदार हुन् ।

तर, तत्कालीन पोलिटब्यूरोमा नरहेका कृष्णगोपाल श्रेष्ठ स्थायी कमिटीमा पर्ने सम्भावना छ । उनी २०५४ सालकै केन्द्रीय सदस्य भएकाले स्थायी कमिटीका दाबेदार हुन् । वरिष्ठताको हिसाबले गुरु बराल, युवराज कार्की, देवराज घिमिरेलगायतका नेता पनि स्थायी कमिटीका दाबेदार हुन् । दलबहादुर राना, शेरबहादुर तामाङ, कर्ण थापा, शेरधन राईलगायतका नेताको नाम पनि चर्चामा छ ।

स्थायी कमिटीमा महिलासहित वरिष्ठता, क्रियाशीलता र आवश्यकता आधारमा व्यक्ति छनौट गरी केन्द्रीय कमिटी बैठकमा पेस गरिने एमाले स्रोतले जनाएको छ । माधव नेपाल पक्षलाई पर्खेर स्थायी कमिटी गठन गर्ने कि भन्ने छलफल भएपनि पछिल्लो समय सो समूह अलग पार्टी अभ्यासमा लागि सकेकाले त्यो च्याप्टर बन्द भएको नेताहरुले बताएका छन् । यसबीचमा सबै प्रदेश कमिटी, जिल्ला कमिटीलगायत सबै संरचनामा माधव नेपाल पक्षका नेताहरुलाई सदस्यमा मात्र सीमित गरेर मूल नेतृत्व पार्टीको संस्थापन पक्षका नेताहरूले सम्हालेका छन् । स्थायी कमिटी पनि सोही अनुसार बन्ने उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री नआएसम्म सदन चल्न नदिने एमालेको चेतावनी

   नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री सदनमा नआएसम्म सदन अगाडि नबढ्ने...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

     मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । पर्सा अदालतको आदेशपछि...

काठमाडौंको गोकर्णेश्वरमा बर्ड फ्लु देखियो

    काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड...

४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...