एमालेको उपाध्यक्षमा बादल, २० प्रतिशत हिस्सा पनि



हाम्रो इकोनोमि

 

नेकपा एमालेले विघटित नेकपाको विभाजनमा केपी ओली पक्षलाई साथ दिएका माओवादी केन्द्रका नेता कार्यकर्तालाई सबै तहमा सम्मानजनकरूपमा समायोजन गर्ने भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा एमाले र ओली पक्षधर माओवादी केन्द्रका नेताहरूबीचको छलफलपछि सबै कमिटीमा समायोजनको मोडालिटी बनाइने भएको हो ।

माओवादी स्थायी कमिटी सदस्यहरू रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रदेश २ का अध्यक्ष प्रभु साहलगायतका मन्त्रीहरूसँग एमाले अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतले छलफल गरिरहेका छन् । केन्द्रदेखि स्थानीय तहसम्म उल्लेख्य संख्यामा माओवादी केन्द्रका नेता कार्यकर्ता पार्टी विभाजनसँगै ओली पक्षमा लागेकोले उनीहरूको व्यवस्थापनमा उदारता देखाइने एमालेले जनाएको छ । अरु नेता कार्यकर्ताहरु पनि माओवादी केन्द्र छाडेर एमालेमा आउन वार्ता गरिरहेको उपमहासचिव विष्णु पौडेलले बताए ।

पौडेलले भने, ‘हिजो नेकपा हुँदा हामीसँग रहनुभएका र अब एमालेमा समाहित हुने सबै कमरेडहरुको व्यवस्थापन हुन्छ । यति बुझ्नुस् सबैलाई चित्त बुझ्नेगरी धेरै राम्रो व्यवस्थापन हुन्छ । यो सन्देश तलैसम्म दिन चाहन्छौं ।’ नेकपा विभाजनसँगै ओली पक्षमा लागेका नेताहरुले आफ्नो सांसद पद गए पनि ओलीको साथ नछाड्ने बताइसकेका छन् । उनीहरुलाई अब एमालेको विधान अनुसार अर्को पार्टी एकताबाट आउनेहरुका लागि व्यवस्था भए अनुसार २० प्रतिशतसम्म केन्द्रीय कमिटी सदस्य बनाइने एमाले स्रोतले जनाएको छ ।

माओवादीतर्फका केन्द्रीय सदस्यहरूको सूची बन्ने क्रममा रहेको र प्रदेशदेखि जिल्ला र स्थानीय तहसम्म सोही अनुसार समायोजन गरिने बताइएको छ । अहिले माओवादी केन्द्रका नेताहरू थप नेता कार्यकर्ता एमालेमा तान्नका लागि छलफलमा छन् । एमाले स्रोतका अनुसार रामबहादुर थापा ‘बादल’ लाई उपाध्यक्ष बनाएर टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साहलाई स्थायी कमिटीमा समायोजन गर्नेबारे छलफल हुँदैछ । एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पाँच जना उपाध्यक्षमध्ये विद्यादेवी भण्डारी राष्ट्रपति भएपछि एक उपाध्यक्ष खाली छ ।

अरु पदाधिकारी थप्न विधान संशोधन गर्नुपर्ने हुन्छ । बादललाई वामदेवपछि दोस्रो बरियताको उपाध्यक्ष बनाउने सम्भावना छ । एमालेको विधान संशोधन गर्न राष्ट्रिय प्रतिनिधि परिषद् बोलाउनुपर्छ, सो संरचना पनि एमालेमा स्वतः ब्युँतिएको छ । विधानमा उल्लिखित ७० वर्ष पुगेका नेताले कार्यकारी जिम्मेवारीबाट बिदा हुनुपर्ने विषयलाई माधव नेपाल पक्षले उठाउन थालेको छ ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...