इज्जत त्यागेर पद जोगाउन माधवको टोली एमालेमा



हाम्रो इकोनोमि

 

 

नेपाली राजनीतिकर्मीहरूका निम्ति देश, जनता र आफ्नै इज्जत प्रतिष्ठाभन्दा पनि महत्वपूर्ण ‘पद’ नै हुने गर्छ भन्ने तथ्यको पुनः पुष्टि भएको छ । आफूहरू समेत भइ पार्टीको साधारण सदस्यताबाट हटाइएका केपी शर्मा ओलीनेतृत्वकै पार्टीमा निर्लज्ज ढङ्गले फर्किएर माधवकुमार नेपाल र झलनाथ खनाललगायतका नेताहरूले उक्त तथ्यको पुष्टि गरेका हुन् ।

बितेका तीन महिनाभित्र माधव नेपाल, झलनाथ खनाल, रामकुमारी झाँक्री, योगेश भट्टराई र रघुजी पन्तहरूले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध दिएका अभिव्यक्ति सुन्नेहरूले उनीहरू ओलीबाट सधैंका लागि टाढिएको महशुस गराएको थियो । तर न्यायालयको निर्णयपश्चात् ‘अर्कैसँग जीवन बिताउन हिँडेकी पत्नी लाज पचाएर पुरानो पतिका घरमा फर्किएको शैलीमा’ माधव नेपालको टोली एमालेमा फर्किएको छ । यद्यपि उक्त टोलीले पार्टीमै बसेर केपीसँग सङ्घर्ष गर्ने दाबी भने गरेको छ ।

माधव नेपालको टोलीसँग एमालेमा फर्कनेबाहेकको विकल्प नभएको होइन । सांसद पद परित्याग गरेर उनीहरू माओवादीमै बस्न सक्थे, नयाँ पार्टी दर्ता गरेर अगाडि जाने विकल्प पनि उनीहरूसँग थियो र, यसरी केपी ओलीको पार्टीमा फर्कनुभन्दा राजनीतिबाट विश्राम लिने निर्णयमा पनि उनीहरू पुग्न सक्थे । तर लाभको पद गुम्ने चिन्ताले उनीहरूलाई अन्धो बनायो, केपीसँग लड्ने भन्दै ‘घर’ फर्किएका छन् । एकपटक छोडिसकेको घरमा फर्किंदा उनीहरूलाई घरैभित्र कुन रूपमा हेरिएला यो अनुमान गर्न सकिने विषय हो ।

नेकपा एमालेको केन्द्रीय समिति र संसदीय दलमा केपी शर्मा ओली स्पष्ट बहुमतमा छन् । त्यसैले केपीको निर्णयलाई चुपचाप स्वीकार गर्ने र सहेर अगाडिको राजनीतिक जीवन गुजार्नुपर्ने स्थितिमा माधवको टोली आइपुगेको छ । यद्यपि प्रचण्डसँगको समझदारीमै बिदावारी भएर एमालेमा फर्किएको हुँदा माधव नेपाल र उनको टोलीमा केपीलाई हदैसम्म सताउन सक्ने सामथ्र्य भने बाँकी नै रहेको देखिन्छ । केपीलाई पदमुक्त गर्न दुवै पक्ष (प्रचण्ड–माधव) बीच एक स्तरको समझदारी बनेकोमा एकथरीले बाहिरबाट र अर्काथरीले भित्रैबाट केपीविरुद्ध सङ्गठित हमला गर्न सक्ने स्थिति यथावत रहेको छ । केपीलाई पार्टी र देशको सत्ताबाट जतिसक्दो चाँडो मुक्त गर्ने र त्यसपछि दुई पार्टीबीच पुनः एकीकरण गरी आगामी संसदीय निर्वाचनमा जाने सहमति प्रचण्ड र माधव नेपाल पक्षबीच बनेको बुझिएको छ । त्यसैले कम्युनिष्ट पार्टीभित्र शुरु भएको लडाइँको रूप फेरिए पनि यसको अन्त्य भइसकेको मान्न सकिँदैन । उपयुक्त समयमा केपीविरुद्ध माधव र प्रचण्डले टाउको उठाउन सक्ने सम्भावना यथावत रहेको छ । यसर्थ आगामी दिनहरू मुलुकको हित र राजनीतिक स्थायित्वका दृष्टिले निराशाजनक रहने देखिए पनि कम्युनिष्ट नेताहरूले दिने ‘मनोरञ्जनको लाभ’चाहिँ अझै केही समय प्राप्त भइरहने अवस्था छ ।

माधव नेपाल र उनको टोली ‘केपी ओलीको घर’मा फर्किए पनि माओवादी कित्ताका भनेर चिनिएका नेताहरू टोपबहादुर रायमाझी, मणि थापा, रामबहादुर थापा र लेखराज भट्टलगायत भने माओवादीमा नफर्कने भएका छन् । सांसद पद नरहे पनि उनीहरू केपीसँगै रहने निर्णयमा पुगेका छन् । तथापि एकथरी मानिसहरू लेखराज भट्ट र रामबहादुर थापालाई माओवादीमै फर्काउने कसरतमा लागेका भए पनि उनीहरू माओवादीमा फर्कने सम्भावना अहिलेसम्म छैन । एमालेमा अब रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणि थापा र लेखराज भट्टहरूले जुन स्थान र इज्जत पाउने छन् त्यो माधव नेपाल, झलनाथ खनाल, भीम रावल, योगेश भट्टराई, घनश्याम भुसाल र रघु पन्तहरूको भन्दा ज्यादै नै माथिल्लो दर्जाको हुने देखिन्छ । यो स्तरको स्थान र प्रतिष्ठा अब उनीहरूलाई माओवादीमा मिल्न सक्ने अवस्था छैन । त्यसैले सांसद पद त्यागेरै भए पनि पूर्वमाओवादीका केही नेताहरू एमालेमा रहने निर्णयमा पुगेका छन् । उनीहरूको अठोटले माधव नेपालको टोलीलाई भने गिज्याइरहेको महसूस सर्वत्र गरिएको घटना र विचारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...