माधव नेपालले नेकपा विभाजनको धन्दा नै चलाए : विष्णु पौडेल



हाम्रो इकोनोमि

 

अर्थमन्त्री तथा नेकपाका महासचिव विष्णु पौडेलले पार्टी विभाजनको मूल कारक माधव नेपाल रहेको दाबी गरेका छन् । प्रायः कसैका बारेमा आक्रामक टिप्पणी नगर्ने स्वभावका महासचिव पौडेलले बिहीबार गृहनगर बुटवल पुगेर माधव नेपाल कसम खाएरै नेकपा सिध्याउन लागेको बताएका हुन् ।

नेकपाको पछिल्लो अवस्थाबारे विश्लेषण गर्दै पौडेलले २०५४ सालमा माधव नेपालकै कारण तत्कालीन एमाले विभाजन भएको र यसपटक पनि प्रचण्डले हिम्मत नगरेपछि माधव नेपालले पार्टी फुटाउने संकल्प गरेको बताए । पौडेलले तेस्रो स्थानको पार्टीलाई केपी ओलीले पहिलो बनाएकै दिनदेखि माधवले नेकपा विभाजनको कसम खाएको टिप्पणी गरे ।

पौडेलले पत्रकारहरूसँग बोलेका भनाइ जस्ताको त्यस्तै पढौं ।

नेकपा विभाजनको बारेमा पनि यसका अन्तरकथाहरू खोज्नका लागि पत्रकार साथीहरूले धेरै मिहिनेत गरेका छन् । म के स्पष्ट गर्न चाहन्छु भने, कमरेड माधव नेपाल जसले नेपालमा सबैभन्दा बलियो शक्तिशाली पार्टीको नेतृत्व पाउनुभएको थियो ।

उहाँ दासढुंगा हत्याकाण्डपछि तत्कालीन नेकपा एमालेको मुख्य नेताको जिम्मेवार अर्थात् महासचिवको जिम्मेवारी प्राप्त गर्दा देशको सबैभन्दा बलियो शक्तिशाली पार्टी पाउनुभएको थियो । उहाँले अविच्छिन्‍न १५ वर्ष एमालेको मुख्य नेताको जिम्मेवारीमा रहेर काम गर्नुभयो ।

उहाँले नेकपा एमालेलाई पहिलोबाट तेस्रो पार्टी बनाउनुभयो । अहिले उहाँलाई तेस्रो पार्टी पहिलो भएको मन परेको छैन । हामीले तेस्रो बनाएको पार्टीलाई केपी ओलीले पहिलो बनाउने ? म यसलाई तेस्रो चौथो पार्टी बनाइदिन्छु भन्ने मनसुवाका साथ लाग्नुभएको छ ।

नेकपा पहिलो पार्टी बनेको उहाँलाई मन नपरेर विभाजनको धन्दा गर्नुभएको छ । विभाजनकारी गतिविधि संचालन गर्नुभएको छ । तथ्यले के बताउँछ भने कमरेड माधवकुमार नेपालले आफ्नो नेतृत्वकालमा पार्टीलाई तेस्रो स्थानमा धकेल्दिनुभयो । कमरेड केपी ओलीले तेस्रो हैसियतको पार्टीलाई पहिलो हैसियतमा स्थापित गर्दिनुभयो । यो कुरा माधव नेपाललाई पचेन । यसलाई उहाँले तेस्रो, चौथो, पाँचाैं बनाउने धन्दामा लाग्नुभएको हो । उहाँ अहिले आफूलाई भेट्न आउने साथीहरुलाई बडो गर्वका साथ भन्ने गर्नुहुन्छ- ‘प्रचण्डले हिम्मत गरेका थिएनन्, खुट्टा कमाइराखेका थिए, मैले हिम्मत गरें।’

यो बीचमा विभाजनकारी जे जति गतिवधि भए प्रचण्डले हिम्मत नगरेको, मैले गरेको भन्ने ढंगले आउनुभएको छ । कमरेड माधवकुमार नेपालले राम्रा कामका लागि होइन, नेकपा बलियो बनाउन होइन,नेकपाको सरकार बलियो बनाउनका लागि होइन कम्युनिष्ट आन्दोलनलाई विसर्जन गर्नका लागि कथित हिम्मत गर्नुभएको कुरा छर्लङ्ग छ ।

उहाँको ट्रयाक रेकर्ड हेर्ने हो भने २०५४ सालमा उहाँले लचिलो कदम चाल्नुभएको थियो भने एमाले विभाजनबाट रोकिन्थ्यो । उहाँकै नेतृत्वमा त्यतिबेला नेकपा एमाले विभाजित भयो । अहिले फेरि दोस्रो पटक उहाँले यो आन्दोलनलाई विभाजित गर्ने कोसिस गर्नुभएको छ ।

यसरी के देखियो भने,कमरेड माधवकुमार नेपाललाई यो कम्युनिष्‍ट पार्टीले झण्डै दुई तिहाई ल्याएको पचेन । त्यसैले उहाँले विभाजनको धन्दा चलाउनुभएको छ, कसम खाएर । उहाँले आफूलाई शूरवीर ठानेर प्रचण्डले नगरेको हिम्मत मैले गरेर पार्टी फुटाएँ भनिरहनुभएको छ ।

अर्को कुरा, यो नेकपा अब के होला त भन्ने विषय छ । कुनै लुकेको कुरा होइन,माधव कमरेड, प्रचण्ड कमरेडहरू आन्दोलनलाई विभाजन गर्न संकल्पका साथ लाग्नुभएको छ । म के देख्छु भने प्रतिनिधिसभाका सांसद र पार्टीका केन्द्रीय सदस्यहरू विभाजनको लागि हस्ताक्षर गरेर आन्दोलनलाई विभाजन गर्न साथ दिन्छन् भन्ने लाग्दैन ।

नेकपा नेतृत्वको सरकार गिराएर अरु पार्टीलाई सरकारको नेतृत्व सुम्पिने त्यो गलत धन्दाको मतियार हुन्छ्न् भन्ने मलाई लाग्दैन । जहाँसम्म उहाँहरूको कोसिस के रहेको छ भने, अस्ति पुस ५ गते प्रचण्डजीलाई वैकल्पिक प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेर अविश्वास प्रस्ताव दर्ता गर्नुभयो । अहिले त्यो अविश्वास प्रस्ताव उहाँहरुले फिर्ता लिने निर्णय गर्नुभएको छ । अर्थात् प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव उहाँहरूले फिर्ता लिँदै हुनुहुन्छ ।

अब नेपाली कांग्रेस, जनता समाजवादी पार्टीका नेताहरूलाई प्रधानमन्त्री बनिदिनका लागि अनुरोध गर्दै हिंड्नुभएको छ । अँध्यारा कोठामा बसेर हाम्रो नेतृत्व गरिदिनुस्, हामीलाई अगुवाई गरिदिनुस, हामी पार्टी फुटाएर तपाईंहरूलाई सघाउन कृतसंकल्पित छौं भनेर यो धन्दामा लाग्नुभएको छ ।

मलाई विश्वास छ अधिकांश सांसदहरू यो नेकपा नेतृत्वको सरकार गिराएर कम्युनिष्‍ट इतर सरकार निर्माण गर्न उहाँहरुले चालेका कमदलाई साथ दिन तयार हुने छैनन् ।

अर्को पनि एउटा विषय छ, माधव कमरेडलाई त के लाग्दो हो भने हारेका मान्छेले नेतृत्व गर्नुपर्ने, जितेका मान्छेले पनि सरकारको नेतृत्व गर्ने हो ? यस्तो लाग्दो हो । उहाँले त २०६४ सालमा एमालेलाई तेस्रो बनाउनुभयो । आफैं हार्नुभयो । हारेपछि उहाँ संविधान निर्माण गर्ने भनेर संविधानसभामा छिर्नुभयो ।

संवैधानिक समितिको सभापति भएर छिर्नुभयो संविधान बनाउन भनेर । संवैधानिक समितिको सभापति छाडेर उहाँ प्रधानमन्त्री बन्न पुग्नुभयो । माधव कमरेडलाई लाग्दो हो प्रधानमन्त्री भन्ने पद त हारेकाले पो सम्हाल्ने हो त । केपी ओली जितेको मान्छेले होइन ।

जनताको विश्वास जितेको, पार्टी र संसदीय दलको विश्वास जितेको व्यक्ति प्रधानमन्त्री बन्ने होइन, हारेको व्यक्तिले पाउनुपर्छ भन्ने उहाँको सिद्धान्त त । त्यसैले जितेको नेतालाई प्रधानमन्त्रीबाट हटाउनका लागि उहाँ बेचैन भएर लाग्नुभएको छ ।

उहाँलाई जनताबाट अनुमोदित भएको नेताले प्रधानमन्त्री बन्नुहुँदैन भन्ने लाग्छ । सकेसम्म जनताबाट पनि हारेको,नत्र आफ्नो दलमा हारेका मान्छेले प्रधानमन्त्री हुनुपर्ने भन्ने धन्दामा उहाँ लाग्नुभएको छ ।

अहिले यो नेकपा राष्ट्रिय राजनीतिको नेता शक्ति हो । यही रहन्छ । ओलीले नेतृत्व गरेको नेकपा राष्ट्रिय राजनीतिको नेता शक्ति हो । केपी ओलीलई सरकारबाट हटाउने यस प्रकारका साजिसहरू असफल हुन्छन् । बहुसंख्यक सांसद, संसदीय दलमा मात्रै होइन कमरेड ओलीको पक्ष प्रतिनिधिसभामा पनि बहुमत छ ।

उहाँलाई हटाउन खोज्ने दाबी निरर्थक छ र असफल हुन्छ । बाँकी दुई वर्षको कार्यकाल कमरेड ओली नेतृत्वको सरकारले निरन्तरता पाउँछ यो अगाडि बढ्छ यो मेरो विश्वास हो ।

राष्ट्रिय राजनीतिको बारेमा कतिपय मान्छेहरुमा अन्याेल छ । केही मानिसहरु के भन्छन् भने अदालतबाट कसले मान्यता पाउँछ । निर्वाचन आयोगबाट कसले मान्यता पाउँछ भन्छन् । लोकतन्त्रमा कुनै पनि राजनीतिक दललाई मान्यता प्रदान गर्ने अन्तिम अधिकारी जनता हुन् ।

कुनै पनि राजनीतिक दलको हैसियत प्रदान गर्ने अन्तिम अधिकारी जनता हुन् । हाम्रो विश्वास कमरेड केपी शर्मा ओली अध्यक्ष रहनुभएको नेकपाको विश्वास के हो भने जनताले यो पार्टीलाई मुलुकको बागडोर सम्हाल्ने प्रमुख राजनीतिक पार्टी हो भनेर मान्यता प्रदान गर्नेछन् । हामी निर्वाचनमा जान चाहेका थियौं । प्रतिनिधिसभा पुनःस्थापनाले निर्वाचन केही ढिलोचाँडो भएको हो । निर्वाचनमा त मुलुक जान्छ । हामी नै जनताबाट अनुमोदित हुन्छौं ।

प्रतिक्रिया दिनुहोस
यस्ता छन आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्ति नियुक्त...

सडकमा जाने तयारी गर्न पार्टीपंक्तिलाई शंकर पोखरेलको निर्देशन

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको स्वेच्छाचारिता रोक्नको लागि एमाले सडकमा...

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...