प्रचण्ड-माधवलाई महतोले भने तपाईंको पार्टी कुन हो ?



हाम्रो इकोनोमि

 

प्रतिनिधिसभा पुन:स्थापनासँगै नयाँ सत्ता समीकरणको लागि प्रचण्ड-माधव पक्ष र जसपा नेतृत्वबीच छलफल भएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई भेट्न जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठ बिहीबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा पुगेका थिए ।

छलफलमा आगामी दिनमा सहकार्य गरेर जानको निम्ति प्रचण्ड-माधवले आफूहरूलाई प्रस्ताव गरेको जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए । जसपा नेताहरुले प्रचण्ड-माधव पक्षको पार्टी कुन हो स्पष्ट पार्नका लागि आग्रह गरेका छन् । प्रस्तावबारे पार्टीको बैठकमा छलफल गर्ने बताएको भन्दै महतोले भने ‘कसरी अगाडि बढ्ने भन्ने कुरा गर्दै हुनुहुन्थ्यो । सहकार्य गर्न सकिन्छ कि भनेर कुराहरु राख्नुभयो । तपाईंको कुन पार्टी हो ? पार्टी सिस्टममा पार्टी चाहियो । त्यो के हो ? त्यो प्रष्ट हुनुस् भनेर हामीले जिज्ञासा राख्यौं ।’

जसपा नेताहरूले पटक-पटक गरेको सहमतिमा आफूहरुले धोका खाएको पनि स्मरण गराएका थिए । आफ्नो पार्टीका सांसद रेशम चौधरीलगायतका नेताहरू जेलमा रहेकोमा रिहाइको शर्तलाई पनि सवालको रूपमा जसपा नेताहरूले उठाएका छन् ।

‘हाम्रा आन्दोलनकारी साथीहरू, निर्वाचित सांसद रेशम चौधरीलगायतले अहिले पनि बन्दी जीवन विताइरहेका छन् । यी सवालहरू छन् । हामीले याे प्राथमिकताका साथ उठाएका छौं, आगामी दिनमा पनि उठाउने छौं र यसको लागि संघर्ष गर्छौं’ महतोले भने, ‘संविधानमा रहेका त्रुटि, कमिकमजोरीहरु र बन्दी रिहाइका सवालहरु समेत जुनसुकै सरकार बने पनि त्यसको अगाडि संघर्ष गर्ने हो । विगतमा पनि संघर्ष गरेको हो । आगामी दिनमा पनि संघर्ष गर्ने हो । यही कुरा भन्यौं ।’ यसअघि हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सहकार्यका लागि दाहाल र नेपाल दुवैले संयुक्त भेट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा

    निर्वाचनमा उत्साहजनक सहभागिताका बढाउन निर्वाचन आयोगले फागुन २० देखि २२ गतेसम्म...

नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी दौड सुरु

    निजी क्षेत्रका व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा पनि चुनावी...

रास्वपाले निर्वाचन आचारसंहिता उल्लंघन गरेको राप्रपाको आरोप

    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले रास्वपाले ध्वनी प्रदुषणा हुनेगरी...

ओखलढुङ्गा अस्मिता थापाका ६ संकल्प: पूर्वाधारदेखि प्रविधिसम्मको ‘रोडम्याप’

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि नेकपा...