तालिकाअनुसार नै निर्वाचन हुन्छ : प्रमुख आयुक्त थपलिया



हाम्रो इकोनोमि

 

निर्वाचन आयोगले निर्वाचनका लागि भईरहेको काम कार्यतालिका अनुसार नै चलिरहेको बताएको छ । सरकारले बैशाख १७ र २७ गते निर्वाचनको मिति तोकेपछि सोही अनुसारको तालिका बनाइएको र ढिला नहुने स्पष्ट पारेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी वैशाखमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनसम्बन्धी आन्तरिक र बाह्य सबै तयारी तीव्र रूपमा अगाडि बढाइरहेको बताउनुभयो । ‘आयोगले कार्यतालिकाअनुसार नै काम गरिरहेकाले ढिला भएको छैन’, उहाले भन्नुभयो । दलसम्बन्धी विवाद समाधान गरेर तोकिएकै समयमा निर्वाचन गराउन आयोगले आफ्नो तयारी तीव्र रूपमा अगाडि बढाएको जानकारी पनि उहाँले दिनुभयो ।

कुनै पनि राजनीतिक दललाई निर्वाचनबाट विमुख नगरिने उहाँले स्पष्ट पार्नुभयो । दलसम्बन्धी विवाद कायम राखी निर्वाचनमा जान हुँदैन भन्नेमा आयोगको स्पष्ट धारणा रहेको बताउँदै उहाँले निर्वाचनमा आवश्यक पर्ने सबै प्रकारका कार्यविधि तयार भएको बताउनुभयो । आयोगले निर्वाचन कार्यतालिका प्रकाशित गर्दा दलसम्बन्धी विवाद पनि सँगसँगै समाधान गर्ने गरी निर्वाचन कार्यतालिका प्रकाशन गर्ने तयारी गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकतासम्बन्धी विवाद आयोगमा अहिले पनि विचाराधीन छ । नेकपाको विवाद कसरी समाधान गर्ने भन्ने टुङ्गो अझै लागेको छैन ।

सबै जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली अद्यावधिक गर्ने, त्यसमा रहेका त्रुटि हटाउनेजस्ता सबै कार्य अन्तिम चरणमा पुगेको छ । मतदाता नामावली र मतदान स्थल एवं मतदान केन्द्रको पुनरवलोकन गर्ने कार्य फागुन २१ गते पूरा गर्ने आयोगको कार्यतालिका हो, त्यो कार्यतालिकाअनुसार नै काम भइरहेको छ । मतदानमा चाहिने मतपेटिकाको मर्मतसम्भार र रङरोगन गर्ने कार्य भइरहेको छ । ती सबै सामग्री तयारी हालतमा राखिएको छ । अब निर्वाचनसम्बन्धी अन्य सामग्री खरिद गर्न योजना तयार भई बोलपत्र आह्वानको अन्तिम तयारी हुँदै छ ।

यस निर्वाचनमा कानुनसम्बन्धी व्यवस्थामा धेरै ठूलो परिवर्तन गर्नु नपर्ने भएकाले नयाँ कार्यविधिहरू त्यति धेरै बनाउनु पर्दैन । पुरानै कार्यविधिमा सामान्य संशोधन वा परिवर्तन गरेर निर्वाचन सञ्चालन गर्न सकिनेछ । निर्वाचन स्वतन्त्र, स्वच्छ, मर्यादित र विश्वसनीय वातावरणमा गर्न निर्वाचन आचारसंहितासमेत तयार गरिएको छ । यस्तै निर्वाचन अनुगमन, निर्वाचन पर्यवेक्षण, अन्तर्राष्ट्रिय पर्यवेक्षणका लागि आवश्यक पर्ने कार्यविधि पनि आयोगले तयार गरेको छ भने मतदान तथा मतगणना निर्देशिकालाई पनि आयोगले सामयिक रूपमा परिमार्जन गरिसकेको छ ।

यस पटकको निर्वाचनमा बाहिरबाट धेरै सामग्री ल्याउनेमा पक्षमा आयोग छैन । यस पटक दुई चरणमा प्रतिनिधि सभाको मात्रै १६५ वटा निर्वाचन क्षेत्रमा निर्वाचन हुने हुँदा मतपत्र छपाइ गर्न र ढुवानी गर्न ठूलो समस्या नहुने आयोगको बुझाइ छ । मतपत्र छपाइका लागि आवश्यक पर्ने कागज, मसीजस्ता वस्तु जनक शिक्षा सामग्री केन्द्रले नै व्यवस्था गर्नेछ भने निर्वाचनका लागि आवश्यक पर्ने ऐन, कार्यविधि, फाराम पनि केन्द्रमै छापिनेछ । मतदाता नामावली र फोटोसहितको मतदाता परिचयपत्र भने आयोगकै छापाखानाबाट छापिनेछ ।

प्रतिक्रिया दिनुहोस
एक वर्षमा भित्रिए १२ लाख पर्यटक

    आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी...

एक बर्षमा १७ खर्ब ८१ अर्ब वैदेशिक व्यापार घाटा

    गत आर्थिक वर्ष २०८२/८३ मा २४ खर्ब भन्दा बढीको वैदेशिक व्यापार...

गुडिरहेको मोटरसाइकलमा उभिएर बब्लु गुप्ता सरर…….

    सिरहा क्षेत्र नं. १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...