प्रचण्डको १९ अर्ब घोटालाको फाइल तत्काल नखोल्ने
‘‘शान्ति प्रक्रियामा आएपछि हामीले देशका विभिन्न क्यान्टोनमेन्टमा १९ हजार लडाकु राख्यौं । तर भत्ता ३४ हजार बराबरको बुझियो । बाबुराम भट्टराईका अनुसार, क्यान्टोनमेन्टमा नक्कली लडाकु खडा गरेर राज्यकोषको १९ अर्ब रूपैयाँ प्रचण्डले बुझेका छन् । त्यो १९ अर्ब रूपैयाँ कहाँ गयो ? जनयुद्धकाल र शान्ति प्रक्रियामा आइसकेपछिका बदमासी हामीले उठाइसकेका छैनौं । अहिले वैचारिक र राजनीतिक रूपमा लडिरहेका छौं । तर यसबारे हिसाब–किताब हुन्छ ।’’
प्रचण्डको नेतृत्वमा २०५२ देखि १० वर्षसम्म चलेको सशस्त्र संघर्षमा सहभागी ऊर्जा मन्त्री एवं नेकपा केपी शर्मा ओली समूहका नेता टोपबहादुर रायमाझीले बुटवलमा २०७७ फागुन १ गते शनिबार व्यक्त गरेको अभिव्यक्ति हो यो । क्यान्टोनमेन्ट घोटालामा संलग्नको आरोप खेपिरहेका प्रचण्डमाथि छानबिन हुनुपर्ने आशय केपी ओली समूहका नेताबाट व्यक्त भएको यो पहिलो घटना होइन ।
अन्य मन्त्रीले पनि अख्तियार सरकार मातहतको निकाय नभएर स्वतन्त्र हो भन्ने ख्याल नगरी यसरी नै त्यस प्रकरणतर्फ इंगित गरेर छानबिन अघि बढ्ने आशय गरिरहेका छन् । प्रेम राई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्त भएपछि त यस्तो आवाज अझै चर्को सुनिन थालेको छ ।
हुन त, अख्तियारका प्रमुख आयुक्त प्रेम राईले नै आफ्नो नक्कली ट्विटर ह्याण्डलबाट भ्रम फैलाइएको आरोपपछि यसबारे प्रष्टीकरण दिइसकेका छन । उनले भनेका छन्–‘लडाकु शिविरको फाइल खोल्ने हल्ला निराधार हो ।’
तर आमसहमति बिनै विभिन्न संवैधानिक निकायसहित अख्तियार प्रमुखको पनि नियुक्ति गरिएकाले प्रचण्ड–माधव नेपाल समूह अख्तियारको वर्तमान नेतृत्वसँग बढी सशंकित देखिएको छ । लडाकु शिविरमा भएका घोटालालगायतको छानबिन गर्ने सर्तमा प्रमुख आयुक्त बनेकाले वचनअनुसार राईले आफ्ना कदम चाल्न सक्ने अनुमान पनि योबीचमा गरिएको छ । तर के बजार हल्लाजस्तै अख्तियार प्रमुख आयुक्त राई प्रचण्ड, जनार्दन शर्मालगायत नेता जोडिएका चीरपरिचित लडाकु शिविर घोटाला प्रकरणको फाइल खोल्ने मनस्थितिमा छन् ?
प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा राई प्रमुख आयुक्त भएकाले नेकपाको एउटा समूहका केही नेताले राईबाट त्यस्तो अपेक्षा गरेका छन् । कतिपय नेताले त प्रत्यक्ष रूपमा नै राईलाई त्यस्तो कदम चाल्न आग्रह गरेको बताइन्छ । तर राई बजार हल्ला गरिएजस्तो तत्काल प्रचण्ड जोडिएको लडाकु शिविर घोटाला प्रकरणको फाइल खोल्ने पक्षमा छैनन् । लडाकुको फाइल खोल्दा कसैको आग्रहमा चलेजस्तो, प्रतिशोध साँधेजस्तो देखिने भएकाले पनि उनी सचेत रहेको बताइन्छ ।
‘राईले लडाकु शिविर घोटालादेखि माधवकुमार नेपाल जोडिएको बालुवाटार जग्गा प्रकरणको फाइल खोल्ने हल्ला एक पक्षले चलाएको छ,’ राईनिकट स्रोतले भन्यो, ‘प्रोफेसनल ब्युरोक्रयाट राईको प्रमाण र तथ्यभन्दा बाहिर गएर कसैप्रति पनि प्रतिशोध साँध्न हुँदैन भन्ने कमिटमेन्ट छ । त्यसैले लडाकु शिविर घोटाला प्रकरणबारे चलाइएको हल्ला निराधार हो । यसमा सत्यता छैन ।’
केपी समूहनिकट रहे पनि राईमा व्यवसायिक धर्म निर्वाहमा उनी प्रतिबद्ध देखिन्छन् । उनले निकटताका आधारमा कसैमाथि पनि व्यवहार गर्दैनन भन्ने उदाहरण बालुवाटार जग्गा प्रकरण हो । राईको अग्रसरतामा भएको यो छानबिनमा राईले चाहेका भए केपी ओलीनिकट विष्णु पौडेललाई जोगाएर मात्र त्यसबारे सार्वजनिक गर्न सक्थे । तर उनले त्यसो गरेनन् । सरकारी, सार्वजनिक तथा गुठी जग्गा छानबिन आयोगलाई पनि उनले सहयोग गरेका थिए । त्यो आयोगका अध्यक्षले नै राईको मुक्तकण्ठले प्रशंसा गर्ने गरेका छन् ।


