माधव-प्रचण्डलाई हँसिया–हथौडा चिन्ह दिने निर्वाचन आयोगको तयारी
निर्वाचन आयोगले माधव-प्रचण्ड पक्ष हँसिया–हथौडा चुनाव चिन्ह दिने तयारी गरेको स्रोतको ताबी छ । आयोगले नेकपा विभाजनलाई अस्विकार गरे पनि उक्त पार्टी एकीकृत भएर रहन सम्भव देखिँदैन । प्रतिनिधिसभा पुनस्र्थापना भएमा मात्र प्रचण्ड-माधवको राजनीतिक भविष्य सूरक्षित हुन सक्ने, तर विघटनले निरन्तरता पाएमा उनीहरू चुनावमा सहभागी हुने स्थिति छैन । निर्वाचनमा जाने ढोका खुला नगरिदिए उनीहरू चुनाव बहिष्कार गर्न बाध्य हुने र त्यसले मुलुकमा असामान्य स्थिति पैदा गर्न सक्ने सम्भावनालाई दृष्टिगत गरी निर्वाचन आयोग प्रचण्ड समूहलाई पार्टीको मान्यता दिने उपायको खोजीमा लागेको बुझिएको छ ।
प्राप्त जानकारीअनुसार आयोग अहिलेसम्म ठोस निष्कर्षमा पुगिसकेको छैन, तर आचारसंहिता लागु गर्नुपहिले नै प्रचण्ड पक्षलाई समेत पार्टीको मान्यता दिने अठोटका साथ गृहकार्य भइरहेको बुझिएको छ ।
पार्टीगत मान्यता प्राप्त गरे पनि सूर्य चिन्हको हकदार भने सूर्य चिन्हमा चुनाव लडेर आउने पक्षलाई नै बनाइने सङ्केतहरू मिलेका छन् । त्यस अवस्थामा माधव-प्रचण्ड पक्ष हँसिया–हथौडा चुनाव चिन्ह लिएर मैदानमा जानुपर्ने बाध्यात्मक अवस्था आइलाग्ने छ ।


