जनता आवास कार्यक्रमलाई तिब्रताका साथ अगाडी बढाउछौँ : मन्त्री साह
शहरी विकास मन्त्री प्रभु साहले जनता आवास कार्यक्रमलाई तिब्रताका साथ अगाडी बढाउँने बताएका छन् ।
बिहिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री साहले जनता आवास कार्यक्रम विपन्न, गरिब, सिमान्तकृत लगायतका समुदायका लागि शुरु गरिएको योजना भएकाले आफ्नो विशेष चासो रहेको बताएका छन् ।
‘जनता आवास कार्यक्रममा हाम्रो बिशेष चासो छ । यसको कार्यान्वयन गर्ने निकायले छनौट भईसकेका लाभग्राही जसको घर निर्माणाधीन भनिएको छ, घर भत्काईसकेको छ त्यसमा ढिलासुस्ती गर्नेलाई समान्य रुपमा लिन सकिदैन’ मन्त्री साहले भने, ‘संघीय सरकारले शुरु गरेको यो आयोजना पछिल्लो समयमा प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । तर कार्यान्वयन गर्ने निकाय राम्रोसंग समयमै काम नगर्दा लाभग्राही जनता पिडामा रहेकाले हाम्रो बिशेष चासो यसमा छ ।’
क्रमागत कार्यक्रमहरुलाई तिब्र गतिमा सम्पन्न गर्न निर्देशन दिएको बताउँदै उनले संगसंगै नयाँ योजना निर्माण कार्यलाई अगाडी बढाउँन बजेटको अभाव हुन नदिने बताए । सरकारको पहिलो प्राथमिकता अगामी निर्वाचन तोकिएकै समयमा शान्तिपुर्ण रुपमा सम्पन्न गर्ने उनले बताए ।
फुसको छानालाई विस्थापन गरी जस्तापाताको छाना छाउने गरी हालसम्ममा छौ हजार ९६७ आवास यूनिटहरुको निर्माण कार्य सम्पन्न भएको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले बताए । आगामी ३ वर्षभित्र ७ लाख ५० हजार फुसको छाना विस्थापन गर्ने लक्ष्यसहित चालू आर्थिक बर्षमा मात्र १ लाख ५० हजार सुरक्षित नागरिक आवास निर्माण गर्ने कार्यक्रम रहेको उनले बताए ।
मुलुकले लिएको दीर्घकालीन सोच ‘समृद्ध नेपाल सुखी नेपाली’ को अवधारणालाई मूर्तरुप दिन शहरी विकास मन्त्रालयले ठूला शहरी पूर्वाधार विकासमा नेपाल सरकारबाट उल्लेख्य लगानी गर्दै आएको छ । सामाजिक र आर्थिक पूर्वाधारहरुको विकास नगरेसम्म वर्तमान सरकारले परिकल्पना गरेको दीर्घकालीन सोच पुरा हुनसक्दैन भन्ने कुरालाई मनन् गरी मन्त्रालयले शहरी विकास, भवन निर्माण र आवास व्यवस्थाका क्षेत्रमा उल्लेख्य कार्यहरु गर्दै आएको प्रवतmा दवाडीले बताए ।
भौतिक पूर्वाधारमा मात्र नभएर शहरी विकास मन्त्रालयले सामाजिक पूँजीको रुपमा रहेका सामाजिक पूर्वाधारहरु अस्पताल, स्वास्थ्य चौकी, हरियाली पार्क, मनोरञ्जन पार्क, शवदाह गृह जस्ता सामाजिक पूर्वाधार समेत निर्माण कार्य गर्दै आईरहेको छ ।
यसैगरी शहरी विकास मन्त्रालयले नयाँ शहर, स्मार्ट सिटी, संघन शहर लगायतका आयोजनालाई समयमै सम्पन्न गर्न लागेको छ । मन्त्री साहका अनुसार यि आयोजनाहरुलाई समयमै सम्पन्न गर्नका लागि दुतगतिमा लागेको बताए ।
सघन शहरी विकास कार्यक्रम भारतका सीमावर्ती तराई मधेसका १८ वटा जिल्ला सदरमुकामसहित भित्री मधेशका ३ वटा नगरपालिकाहरुमा विगत ३ वर्षमा ५०० कि. मि.भन्दा बढी कालोपत्रे सडक र नाला निर्माण कार्य सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी नयाँ शहर आयोजना अन्तर्गत मध्यपहाडी लोकमार्ग र आसपासका १२ वटा, हुलाकी लोकमार्ग र तराई मधेशका १५ वटा गरी जम्मा २७ वटा नयाँ शहरहरुमा विगत ३ वर्षमा २७९ कि. मि. सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न भएको छ ।
तराई मधेशका शहरहरुको आर्थिक क्रियाकलापहरुलाई चलायमान बनाउन र जनताहरुको जीवनस्तरमा सुधार ल्याउन एकीकृत रुपमा शहरहरुको विकास गर्न सघन शहरी विकास कार्यक्रम शुरु बताउँदै प्रवक्ता दवाडीले सोहि कार्यक्रम अन्तर्गत फुंगलिग, पशुपतिनगर, ईनरुवा, उर्लाबारी, भैरहवा, भिंग्रीगाउँ, सन्धीखर्क, धनगढी र टिकापुर लगायत ९ वटा बसपार्क, धनगढी, रामपुर र ईनरुवामा गरी ३ वटा हाट बजार, सिद्धार्थनगर, धनगढी र टीकापुरसमेत गरी ३ वटा मनोरञ्जन पोखरीरपार्कहरुको निर्माण कार्य सम्पन्न भईसकेको बताए ।
हाल शहरी विकास मन्त्रालयबाट व्यवस्थित र योजनाबद्ध शहरीकरणका लागि देशभर हाल ३०० कि मि भन्दा सडक कालोपत्रे, ४३ वटा ठूला सभाहलरसिटी हल लगायत ५० वटा भन्दा बढी मनोरञ्जन र हरियाली पार्क निर्माण भईरहेका उनले बताए ।
विश्व बैंकको करीब १८ अर्व रुपैयाँको ऋण सहयोगमा १७ वटा नगरपालिकामा शहरी पूर्वाधार विकास, ४ वटा नगरपालिकाको संस्थागत क्षमता सुदृढीकरण र १२ वटा नगरपालिकामा कोभिड लक्षित पूर्वाधार निर्माण गर्ने सम्झौता भई कार्य प्रारम्भ भएको छ ।
काठमाडौं उपत्यकाका १८ वटा नगरपालिकाहरुको फोहोर व्यवस्थापनका लागि निर्माणाधीन बञ्चरेडाँडास्थित स्यानिटेरी ल्याण्डफील साईट फागुन मसान्तसम्ममा प्रयोगमा ल्याउने गरी कार्य भईरहेको छ । यसका साथै दोस्रो सेलको निर्माण कार्य तीव्र गतीमा भईरहेको छ ।


