आमहड्तालमा अहिलेसम्म देशभरि कहाँ के भइरहेको छ ( हेर्नुहोस एउटै समाचारमा )



 

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले आज देशव्यापी आमहड्ताल आयोजना गरेको छ। उक्त समूहको आम हड्तालले नागरिकको जीवन प्रभावित भएको छ। राजधानी काठमाडौंसहित देशैभरि हड्तालको प्रभाव परेको छ। राजधानीमा  सार्वजनिक र निजी गाडी फाट्टफुट्टमात्र चलेका छन्। मोटरसाइकल भने बाक्लै रूपमा चलेका छन्। केही खाद्यान्न किराना पसल पनि खुलेका छन्।

 

यात्रु बोकेर पोखराबाट काठमाडौंका लागि छुटे १० माइक्रो

नेकपा प्रचण्ड–नेपाल समुहले आयोजना गरेको आमहड्तालका दिन १० वटा माइक्रोबस पोखराबाट काठमाडौंका लागि छुटेका छन्। पोखराबाट यात्रुवाहक माइक्रो बस काठमाडौंका लागि छुटेको र कास्कीबाट कटिसकेको प्रहरीले जनाएको छ। बन्दका कारण अहिलेसम्म कुनै अप्रिय घटना हुन नपाएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए।

‘काठमाडौं जाने माइक्रोबस बिहीबार बिहानै छुटिसकेको छ, तिनलाई हामीले सुरक्षा दिएर पठायौं’, हमालले भने, ‘केही निजी सवारीहरू चलेका छन्, अप्रिय घटना केही छैन ।’

बन्दका कारण पोखरा बजार र सडक बन्द छन्। तरकारी तथा फलफूल, पानी, दुध, इन्धनलगायत अत्यावश्यक सेवाका सवारी र पसल भने खुला नै छन्।

बन्दमा अप्रिय घटना हुन नदिने अन्य दिनभन्दा धेरै प्रहरी परिचालन गरेको डिएसपी हमालले बताए। कास्की जिल्लामा मात्रै ६३५ बढी प्रहरी परिचालन गरेको उनले जानकारी दिए। ‘राजमार्ग पुरै कभर गरेका छौं, सबै चोकहरुमा प्रहरी छ’, डिएसपी हमालले भने, ‘अप्रिय घटना हुन नदिन हामी सजग छौं ।’

 

मित्रपार्कमा बस र गोंगबुमा टाटासुमो तोडफोड, बन्द गराउँदै हिँड्ने ७५ जना पक्राउ

आमहड्तालमा उत्रिएका नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले राजधानीमा केही सवारी साधनमा तोडफोड गरेका छन्।

बिहीबार बिहान हड्ताल गर्न हिँडेका कार्यकर्ताले काठमाडौंको मित्रपार्कमा एउटा बस र  गोंगबुमा टाटासुमोमा तोडफोड गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक (एसपी) सुशिलसिंह राठौरले जानकारी दिए। आमहड्ताल गर्न निस्किएका ७५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

गोंगबुमा ट्याक्सीमा आगजनी

काठमाडौंको गोंगबुमा  ट्याक्सीमा आगजनी भएको छ। आज आमहड्ताल आयोजना गरेको नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले ट्याक्सीमा आगजनी गरेका हुन्।

बिहीबार बिहान प्रदेश ३-०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले सेतोपाटीलाई जानकारी दिए। ‘प्रदर्शनकारीहरूले आगजनी गरेर गएका छन्,’उनले भने।

सो ट्याक्सी धादिङका खुम्ब नारायण श्रेष्ठको हो। प्रहरीले ट्याक्सीमा लागेको आगो नियन्त्रणमा लिइसकेको छ। सो ट्याक्सीमा पूर्ण रूपमा क्षति पुगेको छ।

बिहीबारको आमहड्तालको बिहानै प्रचण्ड-नेपाल निकट अनेरास्ववियूले ललितपुरको पाटनस्थित पाटन संयुक्त क्याम्पसअगाडि टायर बालेर प्रदर्शन गरेको थियो।  बिहानै बालिएको टायर प्रहरीले निभाएको थियो। त्यसपछि पनि प्रहरी र विद्यार्थीबीच टायर तानतान  भएको थियो।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरूद्ध विभिन्न आन्दोलन गरिरहेको प्रचण्ड-नेपाल समूहले  बुधबार संसदीय सुनुवाइबिनै संवैधानिक निकायका पदाधिकारीहरूको सपथ भएपछि हड्ताल आयोजना गरेको हो।

 

अष्टलक्ष्मी शाक्यसहितका नेता प्रहरी नियन्त्रणमा

प्रहरीले आमहड्ताल आयोजना गर्ने नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका नेता कार्यकर्तालाई नियन्त्रण लिएको छ।

नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, केन्द्रीय कमिटी सदस्य अमृता थापासहित नेता कार्यकर्तालाई  प्रहरी कलंकीबाट पक्राउ गरेको केन्द्रीय सदस्य बिष्णु रिजालले जानकारी दिएका छन्।

 

दाङका चोकमा बन्दकर्ता, यातायात ठप्प

आमहड्तालको प्रभाव दाङ र आसपासका जिल्लाहरुमा बिहानैदेखि परेको छ। प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्गमा कुनै पनि यातायातका सवारी साधन चलेका छैनन्।

वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रहरी निरिक्षक राजन पौडेलले बिहान साढे ६ बजेसम्म राजमार्गमा निजी सवारी साधन मात्रै फाट्टफुट्ट चलेको जानकारी दिए।

‘अहिलेसम्म बस समितिका सबै काउन्टर बन्द छन्, कुनै बस सञ्चालनमा आएको देखिएको छैन। अहिलेसम्म बजार पनि बन्द छ,’ उनले सेतोपाटीसँग भने, ‘हेरौं नौं दश बजेपछि बजार तथा पसलहरु सञ्चालनमा आउछन् कि?’

जिल्लाका प्रमुख बजार तुलसीपुर, घोराही पनि बन्द नै छन्। उद्योग करकारखाना सबै बन्द छन्। आमहड्तालको पूर्व सन्ध्यामा बुधबार बेलुका प्रचण्ड–नेपाल समूहले जिल्लाका बिभिन्न शहरमा राँके जुलुस पर्दशन गर्दै कडा खाले बन्दको चेतावनी दिएकाले  सर्वसाधारण त्रास फैलिएको छ।  दाङका चोक-चोकमा बन्दकर्ताहरू बसेका छन्।

 

बुटवलमा पनि  बन्दको प्रभाव, सडकमा देखिएका छैनन् ओली समूहका कार्यकर्ता

 

बुटवलमा पनि आमहड्तालको प्रभाव परेको छ। बिहानैदेखि राजमार्ग र बजार बन्द छ। बुटवलमा केपी शर्मा ओली समूहका कार्यकर्ताले बन्दको प्रतिकार गर्ने बताएका थिए तर अहिलेसम्म उनीहरू सडकमा देखिएका छैनन्।

 

विराटनगरमा फाट्टफुट्ट चलेका छन् मोटरसाइकल र रिक्सा

विराटनगरमा बाइक, इरिक्सा, अटो रिक्सा  फाट्टफुट्ट चलेका छन। अरू सवारी साधन र बजार  सबै ठप्प छ। अहिलेसम्म तोडफोड र धरपकडका घटना भएका छैनन्। विराटनगरमा बन्द सफल पार्न प्रचण्ड-नेपाल समूहका केन्द्रीय नेताहरू महेश रेग्मी, शिवकुमार मण्डललगायत सडकमा छन्।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्