केपी ओलीको नयाँ राजनीति
देवप्रकाश त्रिपाठी
शरीर एउटा पदार्थ मात्र हो, पदार्थलाई पोषण तत्वको निरन्तर दरकार रहन्छ र जैविक आवश्यकता पूर्ति गर्ने प्रथम अधिकार श्रम गर्नेहरूको हुन्छ भन्ने मान्यताका कम्युनिष्टहरूले नेपालमा जातको मुद्दा उठाए, कम्युनिष्ट भएर जातीय मुद्दा किन उठाएको भन्ने प्रश्न कसैले गरेनन्, गर्न खोजिरहेका छैनन् । बरु जातविशेषको राज्य पाउने आशामा अनेकौँ आकार-प्रकारका मानिस एकथरी कम्युनिष्टको दासदासी भूमिका निर्वाह गर्न तयार भए । नेपालमा कुनै राष्ट्रवादी प्रजातान्त्रिक शक्ति अस्तित्वमा रहेको भए उसले प्रश्न खडा गर्न सक्थ्यो- ‘कम्युनिष्ट भएर पनि जातका कुरा गर्ने ?’ नेपाली काङ्ग्रेस चोला बदलेर बामपन्थी भूमिकामा रमाउन थालेकोले उसले यस्तो प्रश्न गर्ने हैसियत गुमाइसकेको छ ।
माक्र्स विद्वान् थिए, उनको विद्वतालाई संसारले ‘रिकग्नाइज’ पनि गरेको छ, तर उनी विद्वान् मात्र थिएनन्, दरिद्र पनि थिए, यद्यपि उनको यो पाटोको चर्चा प्रायः हुने गर्दैन । मानिसले आफ्नो विचार निर्माण गर्ने अनेक आधार हुन्छन् । अध्ययन, अनुभव, ज्ञान र सूचनाका आधारमा मानिसहरू एउटा धारणा बनाउने र सम्प्रेषण गर्ने गर्छन् । कसैको धारणाबारे धारणा बनाउनुअघि सम्बद्ध व्यक्तिको मनस्थिति (मनोविज्ञान) बारे बुझ्नुपर्ने हुन्छ । जब कुनै मानिस शरीरमा जम्मा भएको तरलपदार्थ विसर्जन गर्ने उचित ठाउँ प्राप्त गर्न सक्दैन, तब उसले यो संसारको सबैभन्दा महत्वपूर्ण स्थान पाइखाना अर्थात् शौचालय भएको निष्कर्ष निकालेको हुन्छ । एउटा गरिबले धनलाई नै सर्वस्व ठान्न सक्छ, धनलाई सर्वस्व ठान्नेहरू भौतिक रूपमा सम्पन्न हुन सक्छन्, तर तिनको मानसिकता त्यतिबेलासम्म गरिब नै रहन्छ जबसम्म ऊ धनलाई सर्वस्व ठान्ने मानसिकताबाट मुक्त हुँदैन । एउटा भोको व्यक्ति संसारको सबैभन्दा महत्वपूर्ण बस्तु खानेकुरालाई ठान्छ र, उसका विचारहरू सर्वथा खानाकै वरिपरि घुमिरहेको हुन्छ । मार्क्स विद्वान् थिए, तर त्योभन्दा बढी गरिब र दरिद्र थिए । गरिब किन थिए भने उनीसँग धनसम्पत्ति थिएन, दरिद्र किन मान्न सकियो भने आफ्नी पत्नीले शरीर बिक्री गरेर आर्जन गरेको धनबाट समेत मार्क्स आफ्नो ज्यान पाल्ने गर्दथे । यस प्रकारको मनोदशाका मानिसले शरीरलाई अध्यात्म र चेतनासमेतको संयोग नमान्नु स्वभाविक हुन्छ, मार्क्सले पनि मानेनन् ।
मार्क्स जीवनभर खानाका निम्ति तड्पिइरहे, त्यसैले राजनीति र राज्य सत्तालाई पनि उनले खानासँगै जोडिदिए । संसारका सबै सामान्य मानिस राज्यलाई लोक कल्याणकारी संस्था मान्दछन् तर मार्क्सवादीका विचारमा राज्य शोषणको साधन मात्र हो । जो सत्तामा पुग्छ उसले एकथरीलाई शोषण गरिरहेको हुन्छ र, आफूहरू पनि सत्तामा पुगेपछि अर्काथरीमाथि शासन र शोषण गर्नुपर्छ भन्ने मान्यता भएकैले संसारमा कम्युनिष्टहरू सत्तामा पुगेपछि राज्य संयन्त्रलाई आफ्नो हितमा चरम उपयोग/दुरुपयोग गर्ने गर्छन् । आश्चर्यको कुरा त उनीहरू आफ्नो हितमा राज्यको दोहन गर्नुलाई स्वभाविक ठान्छन् ।
माक्र्सले भोगेको समाजमा पादरी र चर्चहरू हाबी थिए, राजनीति र सामाजिक जीवनमा चर्च र पादरीहरूको अवाञ्छित तर स्वीकार्य भूमिकाबाट सायद उनी हैरान थिए । शरीरवाद (भौतिकता) को पक्षमा र धर्मका विपक्षमा आफूले बारम्बार जारी गरेका विचार-सन्देशहरूको जनस्तरबाट पूर्ण उपेक्षा भएपछि मार्क्सले निष्कर्ष निकालिदिए- ‘धर्म अफिम हो ।’
उनी सनातनी सभ्यता, इतिहास र धर्म-संस्कृतिको अध्येता या भुक्तभोगी थिएनन् । त्यसैले सनातनी बैदिक सभ्यताको जगमा जीवन र सृष्टिबारेको अभेद्य दार्शनिक चिन्तन रहेको ज्ञान पाउनबाट मार्क्स बञ्चित भए । वैदिक सनातन हिन्दू धर्मलाई समेत बाइबलमा उभिएको शिशमहल झैँ ठान्न पुगे, अनि सबै धर्म अफिम भएको निष्कर्ष निकाले । संसारभरिका पेटजीवीहरूले माक्र्सको सोही भनाइलाई शिरोधार्य गर्दै हिन्दु धर्मलाई समेत ‘अफिम’को संज्ञा दिइँदै छ । गीता, वेदान्त, मिमान्सा, साङ्ख्य, न्याय, वैशेषिक र चार्वाकलगायतका दर्शनको अध्ययन नगरीकन वैदिक सभ्यता र धर्मलाई बुझ्न सकिँदैन । रामायण र स्वस्थानी कथा मात्र पढेको या सुनेकै भरमा हिन्दु धर्मप्रति कसैले धारणा बनाउने गरेका छन् भने तिनका प्रति सहानुभूति मात्र प्रकट गर्न सकिन्छ ।
मार्क्सवाद अर्थात् पेटजीवी विचारका प्रायः अनुयायीहरू अध्यात्म र चेतनासम्बद्ध विषयमा अध्ययनको रुचि राख्दैनन् । मार्क्सले हिगल र काण्टका विचारलाई ‘ओल्टाइपल्टाइ’ बनाएको विचारलाई नै ब्रह्म वाक्य अर्थात् अन्तिम सत्य ठानिसकेपछि त्यस्ता मानिसले सत्यको खोजि गरिरहनु परेन र, प्रायः मार्क्सवादीहरू सत्यको खोजि गर्ने जस्तो जटिल कार्यबाट मूक्त छन् । यदि कुनै मार्क्सवादी व्यक्ति अध्यात्म, धर्म र चेतन तत्वप्रति जिज्ञाशा मात्र राख्छ भने हामीले बुझ्नुपर्छ त्यस्ता व्यक्ति जुनसुकै कारणले मार्क्सवादी बनेका भए पनि विचार परिमार्जन या परिवर्तनका लागि मानसिक रूपले तयार छन् ।
भ्यादिमिर लेनिनले कम्युनिष्टका निम्ति राज्यसत्ता आफ्नो ज्यानभन्दा पनि महत्वपूर्ण रहेको ‘ज्ञान’ दिएपछि सत्ताप्राप्तिका निम्ति जस्तोसुकै साधन अवलम्बन गर्न कम्युनिष्टहरू तयार हुन थालेका हुन् । सत्ताका निम्ति हिंसात्मक सङ्घर्ष गर्ने र हर कुनै शक्ति र व्यक्तिलाई उपयोगितावादी दृष्टिले हेर्ने विचारको अभ्यास पनि लेनिन र माओ त्से तुङबाट नै भएको हो । माओ र लेनिन दुवैले विभिन्न जातीय समुदायलाई आफ्नो ‘सत्ता आन्दोलन’मा उपयोग गर्न ‘आत्मनिर्णयको अधिकार’ दिइने प्रतिबद्धता जाहेर गरेका थिए । सत्ताप्राप्तिपछि लेनिनले आत्मनिर्णयको अधिकारसहित सोभियत सङ्घ खडा गरे, तर माओले सत्ताप्राप्तिसँगै आफ्नो विचार बदले र आत्मनिर्णय भन्ने शब्द नै खारेज गरिदिए । आ-आफूले अवलम्बन गरेको नीतिको परिणाम चीन र रसिया (पूर्वसोभियत सङ्घ)ले भोगिरहेका छन् । पेरुमा गोञ्जालोको साइनिङ पाथ नामक माओवादी पार्टी तथा टर्की र इथियोपियाका माओवादी विद्रोहीहरूले पनि आत्मनिर्णयको अधिकारसहित जातीय मुद्दा उठाएका थिए । इथियोपियामा माओवादीले सत्ता हात पारेपछि देश टुक्रियो र इथियोपियाको भूगोलमा इरिट्रिया नामको एउटा बेग्लै राज्य खडा हुन पुग्यो । तर टर्कीमा माओवादीले पैदा गरेको जातीय नाराले त्यहाँको माओवादी आन्दोलनलाई नै ध्वस्त पारिदियो ।
संसारमा कम्युनिष्ट आन्दोलन आर्थिक विकास, प्रजातन्त्र, शान्ति, स्थायित्व र समृद्धिका निम्ति क्यान्सर जस्तै महारोग मानिन्छ । जुन मुलुकको राजनीतिमा वामपन्थी कम्युनिष्टहरूको बलियो उपस्थिति हुन्छ त्यहाँ कम्तिमा तीन तत्व वस्तुको अभाव रहन्छ- शान्ति, स्थिरता र समृद्धिको । जुन मुलुकमा कम्युनिष्टको समाजवाद (एकदलीय) स्थापना भएको हुन्छ, त्यहाँचाहिँ शान्ति, स्थिरता र समृद्धिको सम्भावना त रहन्छ तर स्वतन्त्रता, नागरिक अधिकार र प्रजातन्त्र रहँदैन । त्यसैले विश्व प्रजातन्त्र तथा स्वतन्त्रताको आन्दोलनमा कम्युनिष्ट आन्दोलन एउटा जटिल समस्याको रूपमा रहेको छ ।
राजनीतिको सम्बन्ध पर्यावरण, अन्तरिक्ष, जल, जीवजन्तु, पन्छी, किटपतङ्ग, ढुङ्गा-माटो, मानव, धर्म, संस्कृति र परम्परालगायत जगतका सबै अन्तरबस्तुसँग निरन्तर कायम रहनुपर्ने हुन्छ । तर कम्युनिष्टहरू राजनीतिलाई केवल पेटसँग जोड्न चाहन्छन् र पेटवादीहरूको सञ्जाल खडा गरेर सत्तामा आफ्नो स्थायी नियन्त्रण बनाइराख्न खोज्छन् । त्यसैले संसारमा कम्युनिष्टहरूलाई कमजोर तुल्याउन अनेकौँ चालबाजी भएको पाइन्छ । कम्युनिष्ट आन्दोलनलाई कमजोर तुल्याउने एउटा प्रभावकारी अस्त्र ‘जातिवाद’ हो र, इथियोपियालगायत धेरै मुलुकमा कम्युनिष्टलाई कमजोर बनाउनकै निम्ति उक्त ‘अस्त्र’को प्रयोग भएको थियो । अफगानिस्तानमा पनि कम्युनिष्ट र तत्कालिक सोभियत सङ्घको प्रभाव न्यून गराउन पश्चिमाहरूले जातीय (धार्मिक) समूह खडा गरेर सङ्घर्षमा पठाएका थिए । नेपालमा कथित माओवादीको हिंसात्मक सङ्घर्षलाई बिराम गराए लगत्तै दर्जनौँ जातीय (क्षेत्रियतावादीसमेत) समूहहरूको उत्पत्ति गराइएको थियो । माओवादी युद्धमा सामेल गराइएका उपेन्द्र र बाबुरामलगायतका व्यक्तिहरूलाई अघि-पछि गरेर जातिवादी आन्दोलनमा खटाइनुको रहश्य बुझियो भने किन कम्युनिष्ट आन्दोलनलगत्तै जातिवादी आन्दोलनको प्रादुर्भाव गरिन्छ भन्ने तथ्यबोध हुन सक्छ ।
नेपालमा माओवादी आन्दोलनको सूत्रपात राजतन्त्र अन्त्यका लागि गरिएको थियो र माओवादी आन्दोलनलाई समाप्त गर्न जातिवाद अघि सारिएको हो । तर यहाँ माओवादीले नै जातिवाद र क्षेत्रियतावादप्रति मैत्रीभाव राख्दै सहकार्यको अभ्यास गऱ्यो । पहिले माओवादी आन्दोलनमा खटाइएका व्यक्तिलाई यतिबेला बहुराष्ट्रिय राज्यको एजेण्डासहित क्षेत्रियतावादी समूहको कमाण्डमा सरुवा गरिएका छन् । तथापि माओवादीहरूसँग जातिवादी तथा क्षेत्रियतावादीहरूको मैत्रीभाव र सहकार्यको स्थिति अझै कायम छ । कुनै पनि निहुँ र समयमा उनीहरू एकतावद्ध हुनसक्छन् । माओवादीको प्रयोजन सकिएपछि जातिवादी आन्दोलन जुरुक्कै उठाउन भएका अनेकौँ प्रयास सफल हुन नसकेपछि माओवादी आन्दोलनलाई नै नेतृत्व दिने दुईमध्येका एउटा कमाण्डरलाई छुटाएर जातिवादी आन्दोलनको कमाण्डमा खटाइँदा पनि यहाँ दुई ‘वादी’बीच सहकार्यको स्थिति कायम रहनु विशिष्ट आश्चर्यको विषय हो । माओवादी आन्दोलनलाई जातिवादी आन्दोलनले नखाने रोचक अवस्था नेपालमा पैदा भएकोले यहाँ त्यसको उपचार पनि भिन्न ढङ्गले खोज्नुपर्ने भएको छ । यी दुवै ‘वादी’ आन्दोलनलाई कमजोर बनाउन सक्ने एक मात्र प्रभावकारी अश्त्र धर्म हो । माओवादीलाई जातीय मुद्दाले मेटेजस्तै दुवैलाई एक साथ मेट्न सक्ने औजार धर्म हो । जुन दिन नेपाललाई हिन्दुराष्ट्र बनाउने आन्दोलनले गति लिनेछ त्यस दिन काठमाडौं र जनकपुरबीचको दूरी जिरो हुनेछ ।
काठमाडौंमा राम-जानकीको महिमागान भइरहँदा जनकपुरमा पाशुपत महिमा मण्डन हुने निश्चितता रहन्छ । जुन दिन काठमाडौं र जनकपुर धर्मसापेक्ष राष्ट्र निर्माणका निम्ति एक हुनेछन्, त्यसदिन माओवादी र जातिवादीहरूको अस्तित्व भेटिन मुस्किल पर्नेछ । प्रधानमन्त्री पदमा हाल विराजमान केपी शर्मा ओलीले माओवादलाई जातिवादले र ती दुवै वादलाई धर्मले च्यूत गर्ने तथ्य नबुझिकन पशुपतिको पूजा र राममन्दिरका कुरा गर्नुभएको ठानियो भने त्यो गलत हुन सक्छ । केपी ओली नेपालबाट माओवाद र जातिवादको उन्मूलन गर्न चाहनुहुन्छ भन्ने तथ्य व्यवहारसिद्ध छ । केपी भौतिकवादीबाट अध्यात्मवादी या धार्मिक व्यक्तिमा रुपान्तरित हुनुभएको विश्वासका आधार अहिलेसम्म भेटिएका छैनन् । माओवाद, धर्मनिरपेक्षता, इसाइकरण र जातिवादको मूलजरो एउटै भएको जानकारी धेरै नेपालीले पाइसकेका छन् र, धर्मनिरपेक्षता नेपालको विभाजन, अनेकता र सांस्कृतिक विनासका निम्ति प्रवेश गराइएको एउटा विषालु राजनीतिक एजेण्डा भएको आत्मज्ञान आमनेपालीलाई भइसकेको छ भने केपीलाई मात्र नभएको ठान्न सकिँदैन । त्यसैले पशुपतिनाथमा पूजाआजाको घटनालाई केपीको मन परिवर्तन, विचार परिवर्तन या ढोँगका रूपमा अर्थ्याउनुपर्ने स्थिति छैन र, यो पूजा सम्भावित मतदानको समयका मतदाताहरूलाई प्रभावित गर्ने दाउ मात्र ठानिनु पनि गलत हुन सक्छ ।
धर्मनिरपेक्षताजस्तै पशुपति दर्शन र पूजा पनि एउटा राजनीति नै हो । शुभारम्भ भएको यो राजनीति हिन्दूराष्ट्रसम्म पुग्न सक्यो भने त्यसले केपीको राजनीति बचाए या नबचाए पनि देश बच्ने सम्भावना बढ्ने विश्वास गर्न सकिन्छ । देश बच्ने तर माओवाद र जातिवाद नबच्ने कुराले कसैलाई चिन्तित तुल्याएको छ भने तिनले केपीको पछिल्लो राजनीतिको धुवाँधार विरोध गर्नुपर्दछ, गरिरहेका पनि छन् । जातिवाद र माओवादको रक्षा गर्नु मात्र मात्र राजनीति होइन, यस्तो अवधारणाको उन्मुलन गर्नु पनि राजनीति नै हो, जुन राजनीति केपी शर्मा ओलीले धर्मलाई अश्त्र बनाएर शुरु गर्नुभएको छ । जय मातृभूमि !