काठमाण्डौमा अहिलेसम्मकै उच्च वायु प्रदूषण



हाम्रो इकोनोमि

 

 

काठमाण्डौ उपत्यकाको वायु प्रदूषण (हावाकाे गुणस्तर सूचकाङ्क मानक) जनजीवनका लागि घातक तहमा पुगेको छ । काठमाण्डौ उपत्यकामा साेमबार (हिजो) देखि वायु प्रदूषण बढेको र प्रदूषणको अवस्था अहिलेसम्मकै उच्च तहमा पुगेको वातावरण विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले बताउनुभयो ।  काठमाण्डौ उपत्यकामा यसअघि वायुको गुणस्तर एअर क्वालिटी इण्डेक्स (एक्वुआई) अधिकतम दुई सय नजिक पुगेकोमा साेमबार (हिजो) तीन सय नाघेको उहाँले बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले स्वास्थ्यका लागि एक्वुआई २५ हुनुपर्ने बताएको छ भने ५० सम्म हुनुलाई राम्रो मानिन्छ । एक्वुआई १ सय ५० सम्म पुग्दा संवेदनशील र २ सय सम्म पुगे सबैका लागि अस्वस्थ मानिन्छ । एक्वुआई ३ सय पुग्नु सबैका लागि घातक रहेको जोशीले बताउनुभयो ।

चिसो, घाम तथा हावा नलागेको कारण वायुमण्डलमा भएका धुलो तथा धुवाँका कणहरू सतहको नजिक थिग्रिएकाले पनि प्रदूषण बढेको वातावरण विभागले जनाएको छ । प्रदूषणका कारण आँखा पोल्ने, रुघा लाग्ने, खोकी लाग्ने, छाला चिलाउनेलगायतका लक्षण अल्पकालीन रूपमा देखिएका छन् भने मुटु, फोक्सो तथा मस्तिष्कमा हुने खराब असर दीर्घकालमा देखिन सक्ने जनस्वास्थ्यविद् बताउँछन् । एअर क्वालिटी इण्डेक्स ३ सय भन्दामाथि पुगेमा सरकारले आपत्कालीन अवस्था घोषणा गर्न सक्छ । अघिल्लो वर्ष भारतको दिल्लीमा प्रदूषण बढेपछि जनस्वास्थ्य सङ्कटकाल लगाइएको थियो भने चीनको बेइजिङमा मासु पोल्न नपाइनेलगायतका कडा नियम जारी गरेको थियो ।

यस्तो प्रदूषणको समयमा आमनागरिक सकभर घरमा बस्ने, घरबाहिर निस्कँदा गुणस्तरीय मास्क लगाउने तथा जोखिम वर्गलाई विशेष ख्याल गर्नुपर्ने जनस्वास्थ्यविद् रवीन्द्र पाण्डेले बताउनुभयो ।  यसैबीच सरकारले काठमाण्डौसहितका सहरमा वायु प्रदूषण घातक तहमा पुगेकाले सकभर घरबाहिर ननिस्कन आग्रह गरेको छ । वातावरण विभागले सूचना निकालेर बालबालिका वृद्धवृद्धा, दम, खोकी, श्वासप्रश्वासलगायतका समस्या भएका व्यक्तिलाई घरबाहिर ननिस्कन आग्रह गरेको हो । अरू व्यक्ति घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन विभागको सुझाव छ । काठमाण्डौबाहिरका नेपालगञ्ज, विराटनगरलगायतका सहरमा पनि प्रदूषण बढेकाले विशेष सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । यस्तै आगो बाल्दा प्रदूषण झनै बढ्ने र अवस्था गम्भीर हुन सक्ने भएकाले आगो नबाल्न पनि विभागको अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...