वैधानिक पार्टी हामीनै हौं : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन नभएको र हुन पनि नदिने भन्दै केही व्यक्तिलाई आफूले रोकेर राख्न नसकेको बताएका छन् ।

प्रवासी नेपालीहरुसँगको भर्चुअल संवादमा ओलीले भने– पार्टी विभााजन भएको छैन । यो पार्टी विभाजन हुन दिइन्नँ । केही मान्छे मैले रोकेर राख्न सकिनँ। उनीहरुका जंगली महत्वाकांक्षालाई शान्त पार्न सकिनँ । केही मान्छे पद नपाएर सडकमा गएका हुन् । उनीहरुको पदको हतारो मैले सम्बोधन गर्न सकिनँ ।

ओलीले पार्टी विभाजन नभएको तर्क पुष्टि गर्न खोज्दै प्रथम अध्यक्षको हैसियतले बैठक बोलाएको र केही व्यक्ति बैठकमा नआएको बताए । महासचिव र अध्यक्षले बोलाएको बैठक नै आधिकारिक भएको भन्दै ओलीले अझै पनि प्रचण्ड–माधव नेपालहरु अर्को बैठकमा आउन सक्ने बताए ।

ओलीले भने– अहिले पनि पार्टीमा बैठकमा आउन सक्नुहुन्छ । फेरि बैठक बोलाउँछु, उहाँहरु आउनुस्, बसौं, छलफल गरौं, उहाँहरुको जस्तो प्रथम अध्यक्षलाई सदस्यबाट निकाल्यौं भन्ने जगहँसाइ हामी गर्दैनौं । हामीले कसैलाई हटाएका छैनौं ।

पार्टीको वैधानिकता विवादका सन्दर्भमा पनि ओलीले पहिलो पटक मुख खोलेका छन् । प्रवासी नेपालीहरुसँग कुरा गर्दै ओलीले पार्टीको वैधानिकता दाबी गर्दै निवेदन बोकेर आफूहरु निर्वाचन आयोग र अदालत नजाने बताएका छन् ।

ओलीले भने– कसैले निवेदनको चिर्कटो निर्वाचन आयोगमा पुर्याउँदैमा वैधानिकता प्राप्त हुँदैन । हामी वैधानिक नेकपा हौं । अदालत र आयोगमा उहाँहरु जानुभएको छ । हामी यहाँ छौं भनेर छातीमा कागज टाँसेर बस्नुपर्ने अवस्था हाम्रो होइन । दुनियाँलाई थाहा छ हामी कहाँ छौं । उहाँहरु अलपत्र पर्दै हुनुहुन्छ ।

ओलीले प्रचण्ड माधव पक्ष अभद्र र अशिष्ट भाषा र नारासहित सडकमा पुगेको भन्दै नारी अस्मितामाथि खेलबाड गरिरहेको आरोप लगाए । राष्ट्रपति संस्थामाथि असभ्य आक्रमण गरेर प्रचण्ड पक्ष गणतन्त्रविरुद्ध लागेको बताए ।

ओलीले प्रचण्ड माधव पक्षले संवैधानिक प्रक्रिया अवरुद्ध गरेपछि संविधान कार्यान्वयन तथा रक्षाका लागि ताजा जनादेशमा जानु परेको र त्यो अधिकार संविधानले दिएको दाबी गरे ।

‘संविधान रक्षाका लागि ताजा जनादेशमा जानुपर्ने अवस्था आयो’

ओलीले संविधान र प्रणालीको रक्षाका लागि ताजा जनादेशमा जानुपर्ने अवस्था आएको बताएका छन् । ‘संविधानको रक्षाका लागि, प्रणालीको रक्षाका लागि ताजा जनादेशमा जानुपर्ने अवस्था आयो,’ उनले भने, ‘यो संविधानको रक्षाका निम्ति हो, प्रणालीको रक्षाका लागि हो । उहाँहरु (प्रचण्ड–माधव)ले त्यसलाई असंवैधानिक भन्नुहुन्छ ।’

ओलीले विघटन भएको सांसदको हस्ताक्षरको कुरा गरेर प्रचण्ड–माधव पक्षले लोकतन्त्र र प्रणालीको मजाक उडाइरहेको समेत आरोप लगाए । ‘संसद विघटन भएपछि सांसदको हस्ताक्षर भन्नुहुन्छ’ उनको भनाइ छ, ‘संसद विघटन भएपछि सांसदको केही वैधानिकता हुँदैन । उहाँहरु लोकतन्त्र, प्रणालीको मजाक उडाइरहनुभएको छ ।’

प्रतिक्रिया दिनुहोस
रासायनिक मलको अभाव नहुने सरकारको दाबी

    नेपालमा हाल एक लाख ४४ हजार ५८५ मेट्रिक टन रासायनिक मल...

आगामी वर्ष १ खर्बको काठ बेच्ने सरकारको लक्ष्य

    सरकारले आगामी वर्ष करिब एक खर्बको काठ बेच्ने लक्ष्य राखेको छ...

चोरेरै ६ करोडको सम्पत्ति, प्रेम थारू कारागार चलान

  चोरी गरेरै करोडौं सम्पत्ति जोडेको आरोपमा पक्राउ परेका प्रेम थारू कारागार चलान...

चन्द्रमामा बस्ती बसाउने नासाको योजना

  अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी आधार शिविर (Moon Base) निर्माण गर्ने...