प्रदेशसभा पनि भंग गर्ने सरकारको तयारी



हाम्रो इकोनोमि

 

प्रतिनिधिसभा विघटनको प्रभाव प्रदेशसभाहरुमा देखिन थालेको छ । प्रतिनिधिसभा विघटनपश्चात सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी विभाजन भइसकेको छ । विभाजनको बाछिटा प्रदेशसम्म पुगेको छ । यहीकारण वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपा प्रचण्ड पक्षका प्रदेश सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गरेपछि संघीय सरकारले थप कदम चाल्न सक्ने आकलन गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै प्रदेशसभामा ‘केही गरिए थप कदम चाल्ने’ संकेत गरेका थिए । आज साँझ मन्त्रिपरिषदको बैठक समेत बस्दैछ । ओली पक्षका मुख्यमन्त्री भएका अन्य प्रदेशमा पनि अविश्वास प्रस्तावको तयारी भएपछि प्रदेशसभा भंग हुनसक्ने आकलन समेत गरिएको छ ।

प्रदेशमा संघीय शासन ?

नेपालको संविधानले प्रदेशमा संघीय शासन लागू हुनसक्ने व्यवस्था गरेको छ । संविधानको धारा २३२ मा प्रदेशसभा विघटनसम्बन्धी प्रावधान रहेको छ । सो धाराको उपधारा ३ मा ‘कुनै प्रदेशमा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा स्वाधीनतामा गम्भीर असर पर्ने किसिमको कार्य भएमा राष्ट्रपतिले त्यस्तो प्रदेश मन्त्रिपरिषद्लाई आवश्यकताअनुसार सचेत गराउन, प्रदेश मन्त्रिपरिषद् र प्रदेशसभालाई बढीमा ६ महिनासम्म निलम्बन गर्न वा विघटन गर्न सक्ने’ व्यवस्था छ ।

सोही धाराको उपदफा ४ मा प्रदेश मन्त्रिपरिषद् र प्रदेश सभालाई निलम्बन वा विघटन गरिएको कार्य ३५ दिनभित्र संघीय संसदको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट अनुमोदन गराउनुपर्ने उल्लेख छ ।

सो कार्य अनुमोदन भएकामा सम्बन्धित प्रदेशमा ६ महिनाभित्र प्रदेशसभाको निर्वाचन हुने पनि उल्लेख छ । हाल प्रतिनिधिसभा विघटित भएका कारण संघीय सरकारले प्रदेश मन्त्रिपरिषद् र प्रदेशसभा भंग गरेमा अनुमोदन गराउन ‘वैधानिक चुनौती’ देखिन सक्छ । यद्यपि राष्ट्रियसभा जीवितै छ ।

पार्टीभित्रको आन्तरिक किचलोका कारण प्रतिनिधिसभा विघटनको निर्णयमा पुगेका प्रधानमन्त्री ओलीले संविधानका उल्लिखित धारा प्रयोग गरेर संकटकाल घोषणा गरी प्रदेशमा संघीय शासन लगाउन सक्ने अनुमान कतिपयले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...