पूर्वएमालेको सम्पत्तिमा माधव-झलनाथले दाबी गर्न मिल्दैन : प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रचण्डले कारबाही गर्न र माधव नेपालले पूर्व एमालेको सम्पत्तिमा दाबी गर्न नमिल्ने बताउनुभएको छ ।

बुधबार साँझ ‘योहो टेलिभिजन’मा उहाँले नेकपा विभाजन भएको स्वीकार गर्दै भन्नुभयो, ‘प्रचण्डजी र मैले एकता गरेका थियौँ, दुई वटा पार्टी मिलाएर लैजाने भनेका थियौँ, प्रचण्डजी र म मिलेनौँ ।’ प्रचण्डले आफूलाई कारबाही गर्नु भनेको हाँस्यास्पद भएको पनि उहाँले तर्क गर्नुभयो ।

‘प्रचण्डले मलाई पार्टी सदस्यबाट निष्काशन गर्ने ? चार्ली च्याप्लिनको जोकभन्दा माथिल्लो हैसियतको लाग्दैन । प्रचण्डभन्दा कम्तीमा एक दशक अगाडि राजनीतिमा लागेको हुँ । एक दशक अगाडि पार्टी सदस्यता लिएको होला । जसले पाहुनालाई बास बस्न दियो, उसले घरबेटीलाई निकालेजस्तो भएन र ?’ ओलीले अन्तर्वार्तामा भन्नुभयो । उहाँले आफूलाई कसले कहाँबाट निकाल्छ भन्ने कुराको कुनै मतलब नभएको पनि दाबी गर्नुभयो ।

ओलीले पार्टीमा अहिलेको विभाजन माधव नेपाल र झलनाथ खनालसँग नभएर प्रचण्डसँग भएको बताउनुभयो । त्यसैले पूर्वएमालेको पार्टी कार्यालयमा नेपाल र खनालले दाबी गर्न नमिल्ने र नसक्ने उहाँले जिकिर गर्नुभयो । ‘प्रचण्डको कार्यकर्ता भइसकेपछि पूर्वएमालेको सम्पत्तिमा माधव जीले दाबी गर्न मिल्दैन । उहाँ प्रचण्डकीको सेकेण्डमेन भएर हिँड्नुभएको छ । प्रचण्डजीको कार्यकर्ताले प्रचण्डजीकै त्यही श्रीसम्पत्तिमा रमाउन सिक्नुपर्छ’ ओलीले भन्नुभयो ।

आफूले पेरिसडाँडाको सम्पत्तिमा हक दाबी नगर्ने पनि ओलीले स्पष्ट पार्नुभयो । ‘विभाजन भएको प्रचण्डजी र मेरो हो । पेरिसडाँडामा मेरो हक दाबी छैन । मैले प्रचण्डजीसँग विभाजन गरेको हो । नेपाल, झलनाथ र नारायणकाजीसँग विभाजन गरेको हैन’ ओलीले भन्नुभयो ।

ओलीले प्रचण्ड-नेपाल समूहको मंगलबारको केन्द्रीय कमिटी बैठकमा देखिएको दृश्यबारे व्यङ्ग्य पनि गर्नुभयो । एक पार्टी प्यालेसमा भएको बैठकमा प्रचण्ड, नेपाल, खनाललगायतका नेताहरु सोफामा बसेका थिए ।

अन्तर्वार्तामा यो प्रसंग उठाउँदै ओलीले भन्नुभयो, ‘हिजो त उहाँहरु सोफामा बस्ने कुरामा पनि इस्यू निकाल्नुहुन्थ्यो, बालुवाटारमा मिटिङमा त म अपरेसन गरेर फर्किएपछि पनि सहज सोफामा बस्न दिइएको थिएन । तर उहाँहरुलाई सोफा चाहिने रहेछ नि ।’

ओलीले केन्द्रमा अर्को समूहको संख्या केही धेरै जस्तो देखिए पनि तल्लो तहमा आफ्नो पक्ष नै बलियो रहेको दाबी पनि गर्नुभयो । ‘मसँग सोली घोप्ट्याएजस्तो छ, टुप्पामा थोरै तल विशाल’ ओलीले भन्नुभयो ।
प्रचण्ड(नेपाल समूहलाई उहाँले लुँडो खेलको संज्ञा दिनुभयो ।

‘उहाँहरुले ९९ मा पुगेको ठान्नु भयो र १०० मा पुगेको भनेर यस्तो हतार गर्नुभयो । तर, लुँडो खेलेजस्तो दुईमा झर्नुहुन्छ’, ओलीले भन्नुभयो ‘चुनावमा जान यति आत्तिनु भएको किन ? जनतासँग यस्तो त्रास किन ? किनभने दुईमा झर्ने उहाँहरुले देख्नुभएको छ।’

ओलीले प्रधानमन्त्रीसँग विशेष अधिकार हुने र आफूले चुनावमा जाने घोषणा गरेपछि देश अब चुनावमा होमिएको बताउनुभयो । उहाँले देशमा अब चुनाव हुने निश्चित भैसकेको दाबी गर्नुभयो । निर्वाचन आयोगसहितका सरोकारवाला निकायले आवश्यक तयारी थालिसकेको भन्दै अदालतमा परेको मुद्दाको टुंगो लागेपछि थप स्पष्ट हुने पनि उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भारतले मिचेको नेपालको भूमि समेटेर नक्सा छापेपछि आफूमाथि प्रहार भएको दाबी पनि गर्नुभयो । यस्तै ओलीले प्रदेशमा चलखेल हुन थाले थप कदम चाल्ने चेतावनी पनि दिनुभएको छ ।

नेकपाको केन्द्रमा देखिएको विभाजनको हलचल प्रदेश सरकारहरूमा पनि पर्ने देखिएको सन्दर्भमा ओलीले प्रदेश र पालिकामा जे छ अब त्यही छाड्नुपर्ने बताउँदै प्रचण्ड ( नेपाल पक्षले कुनै कदम चालेमा आफू अर्को कदम चाल्न बाध्य हुने चेतावनी दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस
सुकुमबासीलाई देशभर संगठित गर्दै श्रम संस्कृति पार्टी

  श्रम संस्कृति पार्टीले सुकुमबासीहरूलाई संगठित गर्ने भएको छ । सरकारले सुकुमबासी बस्ती...

विद्यालयमा डोजर चलाइएकोमा नेविसंघको आपत्ति

     नेपाली कांग्रेसनिकट नेविसंघले सुकुमबासी बस्ती हटाउँदा वैकल्पिक योजनाबिनै सरस्वती आधारभूत विद्यालयमा...

कक्षा १२ को परीक्षा सुरु

    कक्षा १२ को परीक्षा सोमबारदेखि सुरु भएको छ । माध्यमिक तहको...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...