यसरी समाधान गर्नुपर्छ नेकपाको बिवाद



 

गोपाल खनाल

नेकपाका नेताहरूले धुन्धुकारी प्रवृत्ति त्याग्नुपर्छ । परसम्म हेर्ने कि ‘मायोपिक’ बन्ने ? सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सङ्कट गहिरिँदै गर्दा त्यसका स्वाभाविक प्रभाव आन्तरिक राजनीतिमा देखिँदै छन र त्यो अनावश्यक बाह्य चासो आकर्षित गर्ने तहमा पुग्दैछ । नेकपा आन्तरिक सङ्कटमा फस्दैमा सङ्घीय गणतन्त्र कसरी सङ्कटमा पर्छ भन्ने तर्क पनि आउन सक्छ । तर, राज्य सञ्चालनको एउटा महत्वपूर्ण शक्तिको विभाजन वा एकताले राज्यको शासन प्रणाली र विकाससँग सिधा सरोकार राख्छ । त्यही भएर नेकपाको आन्तरिक द्वन्द्व चर्कंदा त्यसलाई समाधानभन्दा आफ्ना अनुकूलताका लागि उक्साउने तत्व सक्रिय छन ।

शासन प्रणालीका दृष्टिमा कुनै तर्कद्वारा कहिल्यै पनि पुष्टि गर्न नसकिने, जन्मकै आधारमा शासक बन्ने र त्यसलाई सबैले मान्नुपर्ने राजतन्त्र समकालीन विश्व राजनीतिमै अस्वीकृत छ । त्यसमा पनि नेपालको पूर्वराजतन्त्र र त्यसका पछिल्ला प्रतिनिधि हेर्दा कहीँ, कतै सम्मान प्रकट छैन । त्यसैले राजतन्त्र पुनःस्थापनाको माग मुद्दालाई व्युँताइरहने राजनीति हो । यस्ता प्रदर्शनबाट त्रसित होइन, सचेत रहँदै ‘कोर्स करेक्सन’को बाटोमा गणतान्त्रिक शक्ति फर्कनुपर्छ । राजतन्त्रवादीलाई अवमूल्यन वा अधिक मूल्याङ्कन गरेर गणतान्त्रिक शक्तिहरूले एक–अर्कालाई सत्तोसराप गर्ने र समाप्त पार्ने अभियानमा लाग्नुहुँदैन । दलहरूले एक–अर्काविरुद्ध स्वस्थ प्रतिस्पर्धा गर्दा हुन्छ तर व्यवस्थाविरुद्ध कसैद्वारा निर्देशित प्रतिस्पर्धा गर्न हुँदैन, व्यवस्थाभित्र रहेर गर्नुपर्छ ।

राजनीतिलाई अन्तर्राष्ट्रिय सिद्धान्तका दृष्टिकोणले हेर्दा, हरेक सार्वभौम भूगोलभित्रका राजनीतिक व्यवस्था, वाद र विचारधारा बाह्य परिस्थितिद्वारा प्रभावित हुन्छन् । बाह्य अवस्था निर्णायक हुँदैन तर त्यसले प्रभावित गर्छ । नेपालका तीन राजनीतिक व्यवस्था परिवर्तनमा मुख्य भूमिकामा घरेलु शक्ति रहे पनि ती बाह्य प्रभावबाट मुक्त रहेनन । सचेत हुनुपर्ने पार्टीभित्र र घरभित्रका शक्ति हुन । अन्य घरेलु र बाह्य शक्तिका भूमिका तुलनात्मक सीमित भएपछि पहिला सत्ता र त्यसपछि व्यवस्थाविरुद्धका खेल देखिन्छन। अझ पार्टीभित्र नै तुलनात्मक क्षमतावान नेतृत्वले सत्ता सञ्चालन गर्दा अन्यको भूमिका खुम्चिन्छ र खुम्चिनेहरूको पहिला परोक्ष र पछि प्रत्यक्ष गठबन्धन निर्माण हुन्छ । नेकपाको केपी ओली नेतृत्वको सरकार इतिहासमै शक्तिशाली जनमतको सरकार हुँदा त्यसले घरभित्र र बाहिर शत्रु आमन्त्रण गर्यो । शक्तिका शत्रु बढी नै हुन्छन।

सरकारले गरेका कामको मूल्याङ्कनका आधारमा होइन, एकलौटी गर्यो भन्ने आरोपमा विरोध पार्टीभित्र र बाहिर सुरु भयो । नागरिकले गरेको मूल्याङ्कन नहेर्ने तर आफू निकै सफल, सक्षम र समन्वयी भएको ठान्ने भ्रम नेताहरूमा हुन्छ । हाम्रो त्यत्रो विशाल क्षमताको कदर नगर्ने ? भित्रभित्रै मुर्मुरिने र एकीकृत रूपमा विस्फोट हुने हुन्छ । त्यहाँ कतै राष्ट्रिय र जनस्वार्थ हुँदैन, केवल व्यक्तिगत स्वार्थमात्र हुन्छ । नेकपाभित्रको ओलीविरुद्धको गठबन्धन त्यही स्वार्थद्वारा निर्देशित छ । काँग्रेस नेता रामचन्द्र पौडेलप्रतिको प्रहरीको दुब्र्यवहारलाई उहाँले ओलीको १४ वर्षको जेलजीवनसँग जोडी गम्भीर आक्षेप लगाउनुभयो, जसमा उही मुख्य शक्तिविरुद्धको अघोषित आक्रमणको झल्को आउँछ । पौडेलको आक्रोश सत्तासँग प्रत्यक्ष छ तर परोक्ष पार्टी सत्तासँग पनि देखिन्छ । पार्टी–पार्टीबीचमा पनि कमजोरहरूले शक्तिशालीविरुद्ध अघोषित गठबन्धन बनाएकै हुन्छन । जनताले पाँच वर्ष प्रतिपक्षमा बस्ने मत दिएका हुन्, कहीँ कतै सत्ताको खेलमा लाग्नुहुँदैन । तर, व्यवस्थामाथि आक्रमण हुँदा त्यसलाई मलजल पनि गर्नुहुँदैन । प्रजातन्त्रभित्रै लड्ने हो ।

मुख्य भूमिकामा त नेकपा नै छ । त्यसमा पनि प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपाल हुनुहुन्छ । उहाँहरूले अब निर्णय लिनु छ– कस्तो बाटो रोज्ने, कस्तो देश बनाउने र जीवनको उत्तरार्धमा कस्तो पहिचान कायम गर्ने ? अहिलेको विवाद हेर्दा विनासिद्धान्त सम्भवतः एक–अर्कालाई यो तहमा उत्रेर सिध्याउने युद्धको उद्घोष यसअघि कहिल्यै भएको थिएन कि ? जनयुद्धको १० वर्षको अभ्यासका एकाध यस्ता घटना भएका छन तर तिनको आवरणमा आचरण छ । त्यसबेला डा. बाबुराम भट्टराईले नै जीवनक्षाको आग्रह गर्दै गुहारेको तथ्य छ । यी सबै हन्डर ठक्कर खाएर पनि त्यसैलाई अपनाउनु विडम्बना हो ।

नेकपाका शीर्षनेताहरूले टाढासम्म देख्नुभएन, क्षणिक, अघिल्तिरमात्र हेर्नुभयो । यसलाई अङ्ग्रेजीमा ‘मायोपिक’ भनिन्छ । यतिबेला नेकपा नेतृत्व ‘मायोपिक’ देखिएको छ । अग्लो ठानिएका नेताहरू बाउन्ने बन्दै हुनुहुन्छ । चार महिनापछि अर्थात चैतमा पार्टी एकता महाधिवेशनपछि अध्यक्ष छाड्छु भन्ने प्रधानमन्त्री ओलीको सार्वजनिक घोषणा छ । तर, चार महिनाअघि अध्यक्ष छाड्नैपर्छ भनेर मोर्चाबन्दी किन हुन्छ ? बुझिँदैन । चार महिना ओली अध्यक्ष रहँदा र नरहँदा हुने नाटकीय सकारात्मक विकास के हुन सक्छ ? प्रचण्ड र माधव नेपालहरूले त्यस्तो कायापलटको सोच र कार्यक्रम सार्वजनिक नगर्दा अन्योल बढ्दो छ । महाधिवेशनसम्म पुग्ने धैर्यता किन भएन ? यसको अर्को अर्थ हुन्छ महाधिवेशनप्रति विश्वास नहुनु, पार्टी प्रतिनिधिप्रति विश्वास नहुनु । यस्तो पनि अर्थ हुन्छ– महाधिवेशन सामना गर्ने साहस प्रचण्ड र माधव दुवैमा नहुनु । अधिवेशनपछि ओली अध्यक्ष नहुने त सुनिश्चित भयो तर प्रचण्ड र माधव दुवैलाई आफूहरू हुने विश्वास छैन । फेरि यसका कारण पनि प्रचण्ड र माधव नै हुनुहुन्छ ।

पूर्वसहमतिअनुसार, एकता महाधिवेशन भएको अवस्थामा माधवको यो चाहनामा पूर्णविराम लाग्ने भयो । त्यसैले उहाँको कोणबाट हेर्दा, जति ओली र प्रचण्डबीच असमझदारी बढ्छ, त्यति राजनीतिक लाभ उहाँलाई प्राप्त हुन्छ । प्रचण्डको त्रास छ– ओली र माधव मिल्दा केही लाग्दैन, सकेसम्म झगडा लगाइरहन पाउँदा पूर्वएमाले विभाजित हुन्छन्, त्यो विभाजनमा खेल्दा सम्भवतः अध्यक्ष प्राप्त हुन्छ । त्यही भएर प्रचण्ड कहिले ओलीतिर र धेरैजसो माधवतिर लागिरहनुभयो, अस्थिर राजनीतिक पहिचान कायम गर्दै । तर, दुवैले जित्ने र नेतृत्व गर्ने अर्को बाटोचाहिँ रोज्नै चाहनुभएन । त्यो हो– ओलीलाई महाधिवेशनबाट बिदा गर्ने र संसदीय निर्वाचनबाट पनि स–सम्मान बिदा गर्ने, जो ओलीकै चाहना हो । चार महिनापछि प्रचण्ड पहिलो अध्यक्ष र माधव दोस्रो अध्यक्ष हुँदा पनि भयो । र, संसदीय निर्वाचनपछि प्रधानमन्त्री त छँदै छ । झगडा नगरी चलाए नयाँ पुस्ता सेवा गर्न तयार नै छ । तर, ‘मायोपिक’ हुनुभयो, परसम्म सोच्न सक्नुभएन । ओलीको कार्यशैलीमाथिको असहमतिको प्रतिशोध आत्मदाह होइन भन्ने बुझ्न ढिला गर्दै हुनुहुन्छ । कस्तो प्रतिशोध, कस्तो आक्रोश र कस्तो बदला ? ओलीलाई विस्थापित गर्न पार्टीकै अवशान रोज्न तयार ? भदौ २६ को सहमति कार्यान्वयन नगरेबाटै पत्रयुद्धको प्रचण्ड आरम्भ भएको हो त ? वा एउटा बहानाको पर्खाइलाई छोपिएको हो ? किनभने भदौ २६ पछि भएका एकथान नियुक्ति, कर्णाली र ‘रअ’ का मुद्दा यस्ता आपत्तिजनक छैनन्, जति अहिले एकोहोरो उरालिएको छ र ‘फाइट टु फिनिस’ को खेल खेल्न खोजिएको छ ।

विभाजन पनि समाधान हुन सक्छ तर त्यसले प्रधानमन्त्री र शक्तिशाली अध्यक्ष दिँदैन । उत्तम त एकता र सहमति नै हो । ती पत्ररूपी विभाजन, आरोप, प्रत्यारोपका कथित दस्तावेज फिर्ता लिई राजनीतिक प्रस्तावमा दुवै अध्यक्ष जानुपर्छ । सकेसम्म दुवै अध्यक्षले संयुक्त राजनीतिक प्रस्ताव तयार पारी विधिवत बहसका लागि स्थायी समितिमा पेस गर्ने । निर्णय गर्न नसक्ने पार्टी सचिवालयलाई असक्षम र अयोग्य भनी विघटन गर्दा पनि हुन्छ । अभियोग, आरोप र प्रत्यारोपपत्रमा बहस गरेर समाधान आउँदैन । राजनीतिक प्रस्तावमा बहस गरेपछि समाधान आउँछ । पार्टी सञ्चालन, सरकार सञ्चालन, महाधिवेशनको तयारीजस्ता मुद्दामा दस्तावेज आएपछि निकासमा पुगिन्छ । संयुक्त प्रतिवेदन लेखनका लागि अध्यक्षद्वयलाई केही समय दिँदा हुन्छ । यी सबैले लेनदेनका सन्दर्भमा पुर्याउने भदौ २६ कै निर्णयमा हो । महाधिवेशनसम्म प्रचण्ड कार्यकारी अध्यक्ष र महाधिवेशनपछि अध्यक्ष हुने हो । र, आउँदो संसदीय निर्वाचनसम्म ओली प्रधानमन्त्री हो ।

गुटको व्यवस्थापनमात्र सोच्ने कि परिणाममुखी मन्त्रिपरिषद् पनि बनाउने ? यसलाई ध्यानमा राख्नुपर्छ । त्यसपछि संवैधानिकलगायत सबै राजनीतिक नियुक्ति गर्ने । त्यसमा पनि दुई अध्यक्षबीच सहमति गर्ने र माधव नेपाललाई समेत साथमा लिएर अघि बढ्ने । संवैधानिक नियुक्तिमा प्रतिपक्षीलाई साथमा लिएर अघि बढ्ने । विवाद नै सत्ताको भएपछि सकेसम्म सत्तामा साझेदारी कायम गर्ने । भदौ २६ मा नफर्किने हो भने विभाजनकै यात्रा थाल्ने हो । ओलीलाई अहिले बहुमतले दुवै वा एक पदबाट हटाउने निर्णय गर्ने भनेको पार्टी विभाजन हो । को कता जालान्, त्यो त्यसबेलै थाहा हुन्छ ।

प्रतिक्रिया दिनुहोस
हामी अहिले कसैसँग ऋण लिने अवस्थामा छैनौं : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमण सफल रहने बताएका छन्

यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ को निर्वाचनसम्म अहिलेको समीकरण

एमालेले भ्रष्टाचारीको संरक्षण गर्दैन : महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुशासनको मामिलामा एमाले अरु राजनीतिक पार्टीभन्दा

काठमाण्डौमा एमालेको शक्ति प्रदर्शन, एक लाख जनता उतार्ने तयारी

    नेकपा (एमाले) ले आज सडकमा शक्ति प्रदर्शन (जागरणसभा) गर्दैछ । दरबारमार्गमा