दुबै पद छाड्दिनँ : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार दिउँसो बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले आइतबार दिउँसो स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।

आइतबार दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा स्थायी कमिटीको बैठक बस्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चार माध्यमलाई जानकारी दिएका छन् । सचिवालयका सबै, ९ जनै नेताहरुको उपस्थितिमा बसेको बैठकले स्थायी कमिटीको बैठक बोलाएको हो । आइतबारको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डका पत्र र लिखित प्रस्तावहरु प्रस्तुत हुने कार्यसूची छ ।

यसअघिको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले १९ पृष्ठको प्रस्ताव ल्याएपछि अध्यक्ष ओलीले १० दिनपछि त्यसको काउन्टरमा ३८ पृष्ठको बेग्लै प्रस्ताव ल्याएका छन् । प्रचण्डको प्रस्तावलाई ‘लाञ्छनापत्र’को संज्ञा दिँदै प्रधानमन्त्री ओलीले त्यसलाई खारेज गरेर प्रचण्डले माफी माग्नुपर्ने बताउँदै आएका छन् ।

तर, प्रधानमन्त्री ओलीको माग विपरीत शनिबारको सचिवालय बैठकले प्रचण्ड र ओली दुबैका प्रस्तावहरु औपचारिक छलफलका लागि स्थायी कमिटीमा लैजाने निर्णय गरेको छ । आइतबारको स्थायी कमिटी बैठकमा ती प्रस्तावहरुका साथै ओली र प्रचण्डले लेखेका चिठीपत्रहरुसमेत अध्ययनका लागि वितरण गरिने सचिवालयका एक नेताले बताए ।

शनिबारको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली उपस्थित नहुने नेताहरुको अनुमान थियो । तर, बैठकअघि कार्यकारी अध्यक्ष प्रचण्डसँग करिब २० मिनेटजति अलग्गै छलफल गरेपछि ओली बैठकमा सहभागी बने । तर, बैठकमा ओलीले प्रचण्डको प्रस्ताव खारेज हुनुपर्ने र जे सहमति गर्नुपर्ने हो, सचिवालयकै गरिनुपर्ने अडान दोहोर्‍याए ।

प्रचण्डको प्रस्तावलाई ‘लाञ्छनापत्र’ को संज्ञा दिँदै ओलीले त्यसलाई स्थायी कमिटीमा लैजाने कुरामा आफ्नो असहमति रहेको बैठकमा बताए । तथापि सचिवालय बैठकमा अध्यक्ष ओलीले नोट ‘अफ डिसेन्ट’ लेख्ने कुरा गरेनन् र सर्वसम्मत निर्णयकै रुपमा आइतबार १ बजे स्थायी कमिटीको बैठक बस्ने निर्णय भएको एक नेताले जानकारी दिए । अब ओलीको रुची नभए पनि स्थायी कमिटीमा दुबै प्रस्तावहरु छलफलमा जाने निश्चित भएको ती नेताले बताए ।

शनिबार बसेको बैठकको सुरुमा कार्यकारी अध्यक्ष प्रचण्डले बोलेका थिए । उनले सचिवालयमा आएका प्रस्तावहरु स्थायी कमिटीको बैठकमा लैजाऔं र त्यसपछि केही समय लिएर त्यसमा गृहकार्य गरौं भन्ने प्रस्ताव राखे ।प्रचण्ड बोलेपछि झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले स्थायी कमिटीको बैठकमा छलफल गर्नु उपयुक्त हुने भन्दै प्रचण्डको भनाइमा सहमति जनाए ।

माधव नेपालको आलोचनापछि ओलीले भने, ‘भोलि स्थायी कमिटी बस्दैन’

वीचमा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीलाई सोधे, प्रधानमन्त्रीज्यूले टाइम माग्नुभएको हो ?

वामदेवलाई जवाफ दिँदै अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भने, ‘टाइम भनेको के हो ? प्रधानमन्त्री र अध्यक्षबाट हटाउने भनेको हो भने महाधिवेशनसम्म अध्यक्ष र अर्को चुनावसम्म प्रधानमन्त्रीबाट हटाउन सम्भव छैन, तपाईहरुले खोजेको निकास त्यो हो भने जे मन लाग्छ, गर्नोस् ।’

बल प्रयोग नगरौं : ओली

नेताहरुले स्थायी कमिटीमा जाने भन्दै गर्दा अध्यक्ष केपी ओलीले त्यसमा असहमति जनाउँदै ‘बल प्रयोग नगर्न’ आग्रह गरे । ‘मलाई केही भन्नु छैन, शायद तपाईहरुको तयारी पुग्यो होला, सबै कुरा मलाई थाहा छ, यसरी पार्टीमा बल प्रयोग नगरौं । आजको बैठकमा पनि बल प्रयोग भएको छ,’ प्रधानमन्त्री ओलीले शनिबारको बैठकमा भने, ‘त्यो लाञ्छना पत्रलाई छलफलमा लैजान सकिँदैन, भोलि स्थायी कमिटीको बैठक नगरौं, अलि दिन सचिवालयमै निकास निकालेर बैठक गरौं । स्थायी कमिटीको बैठक गर्न एजेण्डा पनि छैन, तयारी पनि छैन ।’

अध्यक्ष ओलीले बोलिसकेपछि माधव नेपालले प्रतिवाद गर्दै भने, ‘अहिले पनि उहाँमा म नै सुपि्रम हो भन्ने छ, गल्ती स्वीकार गर्नुपर्छ भन्ने नै छैन…।’

प्रतिक्रिया दिनुहोस
सुकुमबासीलाई देशभर संगठित गर्दै श्रम संस्कृति पार्टी

  श्रम संस्कृति पार्टीले सुकुमबासीहरूलाई संगठित गर्ने भएको छ । सरकारले सुकुमबासी बस्ती...

विद्यालयमा डोजर चलाइएकोमा नेविसंघको आपत्ति

     नेपाली कांग्रेसनिकट नेविसंघले सुकुमबासी बस्ती हटाउँदा वैकल्पिक योजनाबिनै सरस्वती आधारभूत विद्यालयमा...

कक्षा १२ को परीक्षा सुरु

    कक्षा १२ को परीक्षा सोमबारदेखि सुरु भएको छ । माध्यमिक तहको...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...