राजतन्त्र फर्काउन झापामा विशाल र्‍याली



हाम्रो इकोनोमि

 

मुलुकका विभिन्न शहरमा दिनहुँजसो राजसंस्था तथा हिन्दूराष्ट्रको पक्षमा प्रदर्शन भइरहेका छन् । राजतन्त्रको अन्त्य भएको १४ वर्षपछि राजावादीहरु यसरी जुर्मुराएका हुन् ।

काठमाडौँ,बुटवल,पोखरा, नेपालगञ्ज,सुर्खेत,धनगढी, जनकपुर,विराटनगरलगायत स्थानमा भएका प्रदर्शनमा हजारौँ सर्वसाधारणले सहभागिता जनाए । राजतन्त्रवादी दलहरु र हिन्दू राष्ट्रको माग गरिरहेका विभिन्न संस्थाहरुले स्वतस्फूर्त रुपमा यसखाले प्रदर्शन गरिरहेका छन् ।

देशैभर प्रदर्शनकारी सडकमा उत्रिन थालेपछि सरकार पनि अलमलमा देखिएको छ । अहिलेसम्म भएका प्रदर्शनमा सरकारले ठाडै हस्तक्षेप नगरे पनि आगामी कार्यक्रमहरु आयोजना हुन नदिनका लागि रणनीति बनाउन थालेको छ । प्रदर्शनलाई लक्षित गर्दै गृह मन्त्रालयले देशैभरका जिल्ला प्रशासन कार्यालयमा पत्र पठाइसकेको छ ।

प्रदर्शनकारीहरुले भने शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप स्वीकार्य नहुने चेतावनी दिँदै आएका छन् । हिन्दू राष्ट्र स्थापना र राजसंस्था पुनःस्थापनाको माग गर्दै भएको प्रदर्शनमा राज्यले दमन गरे त्यसले अर्को जनआन्दोलनको रुप लिने राप्रपा नेता राजेन्द्र लिङदेन बताउँछन् । ‘कोरोनाको समयमा प्रधानमन्त्री, मन्त्री र अन्य नेताहरुले विभिन्न सभा–सम्मेलन गर्दै हिँड्दैछन्, जनताले गर्ने शान्तिपूर्ण प्रदर्शन रोक्न खोज्नुचाहिँ निन्दनीय बिषय हो,’ लिङ्देनले भने । नेकपा एमाले अध्यक्ष केपी ओलीसङ्ग तालमेल गरेर चुनाव जित्ने उनी राप्रपाका एक मात्र उम्मेदवार हुन् ।

झापाको ‘फ्रन्ट लाइन’मा राप्रपा

हालसम्म भएका प्रदर्शनहरु स्वतन्त्र देशभक्त नागरिक,राष्ट्रवादी नागरिक समाजलगायत संघसंस्थाका व्यानरमा आयोजना गरियो । प्रदर्शनको अग्रपंक्तिमा राष्ट्रिय प्रजातन्त्र पार्टी, विश्व हिन्दू महासंघ,केशरबहादुर बिष्टको राष्ट्रिय शक्ति नेपाल, हरिबोल भट्टराईले नेतृत्व गरेको नेपाली कांग्रेस (बेपी), प्रकाश कोइरालाले नेतृत्व गरेको नेपाली कांग्रेस (राष्ट्रवादी) र शिवसेना नेपाल लगायत छन् ।

देशव्यापी आन्दोलनमा ऐक्यवद्धता जनाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले झापामा भने आफैँ प्रदर्शनको आयोजना गर्दैछ । राजसंस्था र हिन्दूराष्ट्रका पक्षमा जनदवाब सिर्जना गर्न राष्ट्रिय पजातन्त्र पार्टी झापाले शनिबार विशाल मोटर तथा मोटरसाइकल र्‍यालीको आयोजना गर्ने भएको हो । झापामा हुने कार्यक्रममा दशौँ हजारको संख्यामा प्रदर्शनकारी उतार्ने तयारी छ ।
झापामा हुने प्रदर्शनको नेतृत्व संघीय सांसद् तथा राप्रपा नेता राजेन्द्र लिङ्देनले गर्दैछन् । उनी झापा क्षेत्र नम्बर–३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

राजसंस्था र हिन्दूराष्ट्रको पुनःस्थापना,संघीयताको खारेजी, भ्रष्टाचार नियन्त्रण,कोरोना व्यवस्थापनमा सरकारको असक्षमता, रासायनिक मलको अभावलगायत जनजीविकासँग सम्बन्धित विषयमा जनदवाब सिर्जना गर्न ¥याली आयोजना गर्न लागिएको लिङ्देनले बताए ।

सांसद लिङदेनले र्‍यालीमा समान विचार राख्ने सबै व्यक्ति,संगठन र पार्टीलाई राष्ट्रिय झण्डा,आ–आफ्नो संस्था,संगठन र पार्टीको झण्डासहित सहभागी हुन अपिल गरेका छन् ।

यस्तो छ कार्यक्रम

शनिबार झापामा हुने प्रदर्शनका लागि जिल्लाका १५ वटै स्थानीय तहबाट नागरिकहरु पूर्वी नाका काँकडभिट्टा प्रस्थान गर्नेछन् । हरेक स्थानीय तहबाट ११ बजे र्‍याली निस्कने र काँकडभिट्टा जाने बताइएको छ । दिउँसो साढे १२ बजे काँकडभिट्टाबाट एकीकृत ¥याली प्रारम्भ हुनेछ । साढे एक बजे बिर्तामोडमा संक्षिप्त सभासहित कार्यक्रम सम्पन्न हुनेछ-प्रचारप्रसार समितिका संयोजक रञ्जित प्रसाईंले बताए । कार्यक्रममा सहभागी हुनेले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने बताइएको छ ।

के भन्छन् लिङ्देन ?

 

‘मुलुकमा अहिलेको जुन प्रणाली छ, त्यसले देशलाई निकास दिन सक्दैन । यो साझा प्रणाली होइन । यसले जनताको भावनाको कदर गर्न सक्दैन । नेपालजस्तो भूराजनीतिक परिस्थिति भएको मुलुकको लागि राजसंस्था आवश्यक छ ।

हामीले पहिल्यैदेखि यो प्रणालीले काम गर्न सक्दैन भनेर भनिरहेका थियौँ । त्यो अहिले सत्य सावित हुँदै आएको छ । अहिले पात्र र प्रणाली दुवै असफल हुँदै आयो । यही पात्र र प्रणालीमा गयौँ भने देश दुर्घटनामा जाने निश्चित छ । त्यसैले शान्तिपूर्ण माग भइरहेको छ । देशका ठूला पार्टी भन्‍नेहरुले यसलाई सम्बोधन गरेर सबै अटाउने सहमतिको राजसंस्था,हिन्दू राष्ट्र स्थापना गर्न सक्नुपर्छ । राजसंस्था फिर्ता हुनुपर्छ भन्‍ने हाम्रो माग हो । यो नै मुलुकको समस्याको समाधानको एकमात्र विकल्प हुनसक्छ ।’

प्रतिक्रिया दिनुहोस
सुकुमबासीलाई देशभर संगठित गर्दै श्रम संस्कृति पार्टी

  श्रम संस्कृति पार्टीले सुकुमबासीहरूलाई संगठित गर्ने भएको छ । सरकारले सुकुमबासी बस्ती...

विद्यालयमा डोजर चलाइएकोमा नेविसंघको आपत्ति

     नेपाली कांग्रेसनिकट नेविसंघले सुकुमबासी बस्ती हटाउँदा वैकल्पिक योजनाबिनै सरस्वती आधारभूत विद्यालयमा...

कक्षा १२ को परीक्षा सुरु

    कक्षा १२ को परीक्षा सोमबारदेखि सुरु भएको छ । माध्यमिक तहको...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...