आरजुका निकट बतासका सीईओ पौडेल कसरी बने जीएम ?



 

 

सरकारले नेपाल वायुसेवा निगमको महाप्रवन्धकमा विवादास्पद  डिमप्रकाश पौडेल (प्रकाश)लाई नियुक्त गरेको छ । निगममा यसअघि कार्यकारी अध्यक्षका रुपमा पूर्वसचिव सुशील घिमिरेलाई नियुक्त गरेको सरकारले २०७७ असोज २२ गते पौडेललाई महाप्रबन्धकमा नियुक्त गरेको छ । घिमिरेलाई अर्को ब्यवस्था नभएसम्मका लागि कार्यकारी अधिकार प्रयोग गर्नेगरी अध्यक्ष बनाइएको हो, पर्यटन मन्त्रालयका एक अधिकारीले भने, पौडेल नियुक्त भइसकेपछि घिमिरे स्वतः ‘सेरोमेनियल’ अध्यक्ष हुनेछन् ।

पेशाले चार्टर्ड एकाउन्टेन्ट पौडेल नेपाल कम्युनिस्ट पार्टीका निकट भए पनि उनी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापत्नी आरजु देउवाका ब्यापारिक पाटर्नर आनन्द बतासको कम्पनी इस्टर्न मोटर्स प्रालिका सीईओ हुन् । इष्टर्न मोटर्स नेपालमा आइसर गाडीको आधिकारिक बिक्रेता हो । प्रकाश पौडेल पर्यटन मन्त्री योगेश भट्टराई तत्कालीन एमालेको प्रचार विभाग प्रमुख हुँदा सदस्य थिए । उनी चितवन मेडिकल कलेजका सीईओ हुँदा अनियमितताको आरोपमा निस्कासित भएका थिए ।

पर्यटन मन्त्री भट्टराईले उनलाई निगमको बोर्ड सदस्य नियुक्त गरी अहिले महाप्रबन्धक बनाएका छन् । लुम्बिनी विकास कोषको सदस्य सचिवमा प्रधानमन्त्री केपी शर्मा ओलीले सानुराजा शाक्यलाई नियुक्त गर्नका लागि पर्यटन मन्त्री भट्टराईको सिफारिसमा पौडेललाई निगमको महाप्रबन्धक बनाइदिएका छन् । भट्टराईले लुम्बिनी विकास कोषको सदस्य सचिवमा ताप्लेजुङका नेकपा नेता शिव गुरुङको नाम अगाडि बढाएका थिए । तर प्रधानमन्त्री ओलीले गुरुङको नियुक्ति नगरी शाक्यलाई बनाएका छन् ।

बतास समूहले पौडेललाई निगम संचालक समितिको सदस्य नियुक्ति भएपछि सामाजिक संजालमार्फत बधाई समेत दिइसकेको छ । पौडेलको कनेक्सनबाट बतासले गतबर्ष भारत सरकारले बनाइदिएको धर्मशाला होटल संचालनका लागि लिजमा लिन सफल भएका थिए । पशुपतिमा आउने पर्यटकका लागि बनाइदिएको धर्मशाला पौडेलले नै मन्त्री भट्टराईलाई प्रभावमा पारेर फुत्तकाएका थिए । कौडीको मूल्यमा धर्मशाला लिएर बतासले होटलमा परिणत गरेका छन् । जसमा करोडौंको आर्थिक लेनदेन भएको विषय चर्चामा आइसकेको छ । भारत सरकारले २२ करोड अनुदानमा बनाइदिएको धर्मशाला पशुपति क्षेत्र विकास कोषले बतासलाई ठेक्कामा दिएपछि यो बाँदरको हातमा नरिवल साबित भएको छ ।

मित्रराष्ट्रले धर्मशाला उपहार स्वरुप  बनाइदिए पनि पर्यटन मन्त्रालयले भने ब्यापारीलाई सुम्पिएर देशकै बेइज्जत गरेको छ । पशुपति क्षेत्र विकास कोषले धर्मशाला १५ वर्षका लागि बतास समूहको होटेल आनन्दलाई दिएको छरु। जुन ठेक्कामा लिने क्रममा ठूलै आर्थिक चलखेल भएको र त्यसको चाँजोपाँजो सबै प्रकाश पौडेलले नै मिलाएको स्रोतको दाबी छ ।

पशुपति क्षेत्र विकास कोषका कर्मचारी स्रोतका अनुसार, बतासको तर्फबाट उक्त धर्मशालामा होटल संचालन गर्ने अनुमतिका लागि कनेक्सन मिलाउने बीचौलियाको काम नै प्रकाश पौडेलले गरेका थिए । त्यसो त प्रकाश पौडेलले नेकपाबिरोधी धनन्जय रेग्मीलाई पर्यटन बोर्डमा सीईओ नियुक्ति गराउन समेत बीचौलियाको काम गरेका थिए । तत्कालीन एमाले र एकतापछि बनेको नेकपामा कुनै योगदान नभएका रेग्मी भ्रष्ट उच्च कर्मचारी र नेताको सम्पत्ति ब्यवस्थापन गर्ने पात्रका रुपमा चर्चित छन् । उनको लैनचौरमा टोयटा गाडीको सबडिलर रहेको छ ।

अधिकारको विवाद
सुगतरत्न कंसाकार कार्यकारी अध्यक्ष हुँदा २०६८ मा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले मदन खरेललाई संस्थान निर्देशन बोर्डबाट खुल्ला प्रतिस्पर्धा गराई मदन खरेललाई महाप्रबन्धक नियुक्त गरेका थिए । त्यतिबेला खरेल र कंसाकारबीच को कार्यकारी भन्ने विवाद चलि नै रह्यो । २०७४ मा कंसाकार महाप्रबन्धक भएको समयमा प्रधानमन्त्री केपी ओलीले खरेललाई पुनः कार्यकारी अध्यक्षमा नियुक्त गरे । खरेल र कंसाकारबीच पुनः अधिकारको बिषयमा चर्काचर्की परि नै रह्यो । कंसाकारको कार्यकाल सकिएपछि खरेल नै कार्यकारी अध्यक्षका रुपमा काम गरिरहेको समयमा योगेश भट्टराई पर्यटन मन्त्रीका रुपमा आए ।

मन्त्री भट्टराईले यज्ञ गौतमको कार्यदल गठन गरे । त्यसपछि पुनः सुशील घिमिरेको अध्यक्षतामा निगम सुधार कार्यदल बनाए । त्यो कार्यदलमा प्रकाश पौडेल पनि सदस्य थिए । उनले संयोजक घिमिरेलाई कार्यकारी अध्यक्ष र पौडेललाई निगमको सदस्य मनोनयन गरे । अहिले आएर पौडेललाई महाप्रबन्धक नै बनाएका छन् । विगतमा खरेल र कंसाकारजस्तै निगममा अधिकारको बारेमा लडाइँ हुने भएको छ । यद्यपि सुशील घिमिरे निगमको हालत र कर्मचारीको ब्यवहारबाट आजित भएर राजीनामा दिने सोचमा पुगिसकेको समाचार स्रोत बताउँछ । स्रोतका अनुसार उनी निगमको भद्रगोल अवस्थामा बित्थामा आएछु भन्दै पछुतोमा रहेको चर्चा पनि चलेको छ । यद्यपि मदन खरेललाई हटाउन भने उनले मन्त्री भट्टराईलाई हरतरहले सहयोग नै गरेका थिए ।

कम्पनी बनाउने भन्दै भटाभट नियुक्ति
पर्यटन मन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमलाई कम्पनी बनाउने भाषण पटक पटक गर्दैआएका छन् । तर त्यस विपरीत ४० अर्ब ऋण रहेको निगममा धमाधम अध्यक्ष र महाप्रबन्धक नियुक्ति गरी थप ब्ययभार थोपर्ने काम गरिरहेका छन् । कोभिड–१९ का कारण निगम झन्झन् धरासायी बन्दैगएको अवस्थामा अनावश्यक हाकिम भर्ति गरेर थप ब्ययभार थोपर्ने काम मन्त्रीले गरेका छन् । निगमलाई प्रतिस्पर्धी रुपमा विकास गर्न कम्पनी मोडेलमा लाने कुरा  मन्त्री भट्टराईले भन्दैआएका छन् । तर एकपछि अर्को नियुक्ति गरेर मन्त्री भट्टराई मुखले एकथोक बोल्छन् र ब्यवहार अर्कै देखाउँछन् भन्ने टिप्पणी निगमका अधिकारीले गरेका छन् ।

अवसरमाथि अवसर
नेकपामा पटक पटक अवसर पाउनेमा डिमप्रकाश पौडेल पनि दरिएका छन् । रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी सात पटक, डा. युवराज खतिवडा आठ पटक अवसर पाउनेमा पर्दछन् । प्रकाश पौडेल तीन पटक अवसर पाउनेभित्र परेका छन् । उनलाई पंर्यटन मन्त्री भट्टराईले नेपाल वायुसेवा निगम सुधार कार्यदलको सदस्य, निगमको बोर्ड सदस्य र अहिले महाप्रबन्धक बनाएका छन् । यसअघि उनी ब्यापारी बतासको कम्पनीको सीईओ हुँदा प्रचार विभाग सदस्य पनि भएका थिए ।

साँघु साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस
पाटन क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच कुटाकुट

    स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा फर्जी मत खसेको ललिपुरको पाटन संयुक्त क्याम्पसमा

गणतन्त्र ल्याउन ज्ञानेन्द्रको पनि भूमिका थियो : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र ल्याउने बेलामा तत्कालिन

आगलागीबाट मोरङमा २ बालबालिकाको मृत्यु, ८ घर जले

     मोरङको धनपालथान गाउँपालिका- ६ कदमा गाउँमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु

प्रहरी महानिरीक्षकमा दिपक थापा

    सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेको