अख्तियारमा कुन नेताको रोजाईमा को ?



हाम्रो इकोनोमि

 

राजनीति नेतृत्वबीच संवैधानिक निकायहरुमा भागबण्डा नलिल्दा नियुक्ति प्रक्रिया लम्बिँदै गएको छ । १३ संवैधानिक निकायमध्ये १० वटा पदाधिकारीविहीन छन् ।

नयाँ संविधानअनुसार संवैधानिक आयोगको मान्यता पाएयता आदिवासी जनजाति आयोग, राष्ट्रिय महिला आयोग र राष्ट्रिय दलित आयोगले एकपटक पनि नेतृत्व पाएका छैनन् ।

मुस्लिम, मधेसी, थारू, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अध्यक्ष नियुक्त भए पनि सदस्यहरू रिक्त नै छन् । समावेशी आयोगमा पनि अध्यक्षसहित तीन सदस्य पद खाली छन् । तर सत्ता र प्रमुख प्रतिपक्षी दलका नेताहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त र आयुक्तमा आफूनिकटका मान्छे भर्ती गर्ने होडबाजीमा छन् ।

वर्तमान प्रमुख आयुक्त नविन घिमिरेको पनि समय अवधि सकिन लागेपछि नयाँ नियुक्तिका लागि प्रमुख दलका शीर्ष नेताहरुबीच भागबण्डा मिलाउने गृहकार्य भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसचिव प्रेम राई र नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनाललाई अघि सारेका छन् भने नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको रोजाइमा नेपाल प्रहरीकै पूर्वडीआईजी केशरी घिमिरे परेका छन् । यता प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल प्रहरीकै पूर्वडिआईजी जयबहादुर चन्दलाई अघि सारेका छन् ।

ओलीका विश्वासपात्र पूर्व गृहसचिव राईलाई महिनौंअघिदेखि नै अख्तियारमा लाने तयारी भइरहेको देखिन्छ । अख्तियारमा बसेर काम गरिसकेका र सुरक्षा संयन्त्रसहित अन्य क्षेत्रका सुचनाहरुमा राम्रो जानकार राईलाई अहिले नै प्रमुख आयुक्त बनाउने बाताबरण नबने पछि बनाउनेगरी आयुक्ति नियुक्ति गर्ने ओलीको तयारी छ ।

त्यस्तै, ओलीका अर्का विश्वासपात्रको रुपमा चिनिएका पूर्वआईजीपी सर्वेन्द्र खनालको नाम पनि अख्तियारको आयुक्तको रुपमा चर्चामा आएको छ ।

केही समयअघि साँसद अपहरण काण्डमा समेत मुछिएका खनाल प्रहरी संगठनभित्र आफ्ना प्रतिस्पर्धीहरुलाई आफ्नो पावर देखाउन भए पनि आयुक्त हुने दौडमा रहेको स्रोतको भनाइ छ ।

यतिबेला उनी प्रायः प्रधानमन्त्री निवास बालुवाटारतिरै समय बिताउने र प्रधानमन्त्रीले केही गोप्य सुचनाहरु खोजेको बेलामा दिएर सहयोग गर्दै आएको बुझिएको छ । उनका लागि नेकपाका नेता महेश बस्नेत, गोकुल बास्कोटालगायतले तीव्र लबिङ भरिरहेको स्रोतले बतायो ।

पूर्वडीआईजी केशरी घिमिरे प्रचण्डसँगसमेत नाता जोडिएका व्यक्ति हुन । द्धन्द्ध कालमा माओवादीलाई सहयोग गरेकाले प्रचण्डले अख्तियारको आयुक्त बनाएर उक्त गुन तिर्न लागेको स्रोतको भनाई छ ।

नाताले उनी पत्रकार युवराज घिमिरेका दाजुभाईसमेत पर्छन् । पूर्व गृहमन्त्री जनार्दन शर्मासँग पनि घिमिरे निकट सम्बध भएका व्यक्ति हुन् । यसैगरी ठूला प्रयासका बाबजुद नेपाल प्रहरीको आईजीपी हुन असफल भएका चन्दलाई यतिबेला देउवाले अख्तियारको आयुक्त बनाउन पनि जोडबल गरिरहेका छन् ।

काँग्रेस र तत्कालीन माओवादीको सयुक्त सरकारमा प्रचण्ड प्रधामन्त्री रहेको बेला आईजीपी नियुक्ति भएका चन्दलाई सर्वोच्च अदालतले वरिष्ठता मिचेको भन्दै नियुक्ति बदर गरिदिएको थियो ।

ओलीले भने आफ्नो र प्रचण्डको तर्फबाट प्रहरी संगठनकै मान्छेहरु लैजान लागेकाले सकेसम्म देउवालाई अर्को कुनै आकर्षक नियुक्ति रोज्न, अख्तियार छोड्न आग्रह गर्दै आएका छन् ।

देउवा भने कुनै पनि हालतमा अख्तिारमा आफ्नो तर्फबाट एकजना हुनुपर्ने, नभए संवैधानिक आयोगको बैठकमा नआउने अडान राख्दै आएको स्रोतको भनाई छ । उपसभामुखको पद खाली भएकाले संवैधानिक परिषद्मा देउवाको उपस्थिति अनिवार्य बनेको छ ।

संवैधानिक नियुक्ति गर्न संवैधानिक परिषद्को बैठकले मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्छ । ओलीको कुनै पनि भर नभएको र जुनसुकै दिन जे पनि गर्नसक्ने भन्दै देउवाले अख्तियारमा आफ्नो मान्छे राख्न अडान कायम राखेका हुन् । साथै देउवा दुबै जना नेकपा निकट राख्न नदिने सोच बनाएको पाइन्छ ।

भागबण्डा विवादकै कारण अख्तियारसहित अन्य निकायहरुमा नियुक्ति हुन ढिलाई हुँदै आएको छ । नविन घिमिरेले छोडेपछि वरिष्ठता मिलाउन प्रमुखको रुपमा काम गर्न दिने र अरु आयुक्तहरु नियुक्त गर्ने सोचमा ओली रहेको बताइन्छ । जोशीले केही महिना चलाएपछि प्रेम राईलाई प्रमुख बनाउने ओलीको योजना रहेको छ ।

अख्तियारको आयुक्त बन्न अन्य थुप्रै पूर्व प्रहरी अधिकृतदेखि पूर्वप्रशासकहरु पनि दौडमा रहेका छन् । अख्तियारका दुई पदका लागि तीन नेताको हानथाप चल्दा निर्णय प्रक्रिया नै रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
सुकुमवासी बस्तीको जबरजस्ती विस्थापन अन्तिम विकल्प होइन : एमाले

    नेकपा एमालेले सुकुमवासी बस्ती हटाउने सरकारको तयारीप्रति आपत्ति जनाउँदै मौलिक अधिकार,...

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन

    सरकारले सुकुमवासी बस्ती खाली गराउने निर्णयको विरोधमा थापाथलीमा प्रदर्शन भइरहेको छ...

इजरायल र लेबनानबीच तीन साताको लागि युद्धविराम

     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको युद्धविराम तीन साताका लागि...

काठमाडौं उपत्यकाका सुकुमबासी बस्ती खाली गर्ने सरकारको तयारी

    सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमबासी बस्ती खाली गर्ने तयारी...