प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानसहित ६ जनाको दौड



हाम्रो इकोनोमि

 

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बन्न तीव्र राजनीतिक दौडधुप सुरु भएको छ । कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आगामी भदौ २९ गते सकिँदैछ।

उनको कार्यकाल सकिनु केही महिना अघिदेखि नै कार्यकारी निर्देशक बन्न आकांक्षीहरूको दौड सुरु भएको थियो। कार्यकारी निर्देशकमा धेरैको नाम चर्चामा आए पनि तीन मुख्य प्रतिस्पर्धी छन्।

कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल सकिन २० दिन बाँकी छ। यो दौडमा उनी नै अगाडि छन्। आगामी नेतृत्वको प्रतिस्पर्धामा घिसिङसँगै विद्युत विकास विभागका महानिर्देशक नवीनराज सिंह, प्राधिकरणको इन्जिनियरिङकम्पनीका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्य र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवाली छन्।

त्यसबाहेक प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख हरराज न्यौपाने र प्राधिकरणका पूर्वकर्मचारी शान्तिलक्ष्मी शाक्य पनि आकांक्षी हुन्।

कसको सम्भावना कति

तत्कालीन एमाले र माओवादी केन्द्र एक भएको यो परिदृश्यमा घिसिङलाई प्रचण्डको साथ भए पनि पूर्वएमाले पंक्तिले रूचाउँदैन। त्यसको झल्को सरकार प्रवक्ता युवराज खतिवडाले विहीबारको नियमित पत्रकार सम्मेलनमा दिएका थिए ।

तत्कालीन उर्जामन्त्री राधा ज्ञवालीले रसुवाको चिलिमे जलविद्युत आयोजनाको निर्देशक रहेका घिसिङलाई प्राधिकरणमा फिर्ता बोलाएर एक वर्ष जिम्मेवारीविहीन बनाएकी थिइन्। त्यसपछिका उर्जामन्त्री जर्नादन शर्माले तत्कालीन कार्यकारी निर्देशक मुकेश काफ्लेलाई राजीनामा दिन लगाएर घिसिङलाई नेतृत्वमा लगेका थिए।

उनलाई कार्यकारी निर्देशक बनाएका शर्मा र हालका उर्जामन्त्री वर्षमान पुन पनि घिसिङलाई खुलेरै सहयोग गर्दैनन्। नेतृत्वले चालेका नीति, रणनीति अंगिकार गरेर लोडसेडिङ अन्त्य गरिए पनि त्यसको जस घिसिङले एकलौटी लिएकोमा उनीहरूको गुनासो छ ।

यो अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटलाई अघि सारेनन् भने घिसिङ दोहोरिने सम्भावना बढ्नेछ। तर, ओली राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई विद्युत प्राधिकरणमा देख्न चाहन्छन्।

ओली र नेकपा महासचिव विष्णु पौडेल निकट रहेका उनी लगानी बोर्डको कार्यकारी अधिकृतका लागि लालयित थिए। उनले दरखास्तसमेत पेस गरेका थिए।

तर, ओलीको कुर्सी धर्मराएका बेला नेकपा उपाध्यक्ष वामदेव गौतमले ६ बुँदेको कार्ड फ्याँकेर भरपुर सहयोग गरेपछि लगानी बोर्डको नेतृत्व उनको पोल्टामा परेको थियो। सुशील भट्ट सिइओ नियुक्त भए। ओलीले आफूअनुकूल मान्छे खोजेमा ज्ञवालीलाई अघि सार्नेछन्।

ज्ञवालीसँग विद्युत प्राधिकरणको अनुभव नभएकाले पछि हटेका हुन्। प्राधिरकणको नेतृत्व ओलीको पोल्टामा परेमा उनले ज्ञवालीलाई नै सार्ने सम्भावना बढी छ। तर पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवाली रेसबाट बाहिर रहेको घोषणा गरिसकेका छन्।

यस्तै स्रोतका अनुसार हितेन्द्र देव शाक्यलाई पूर्व एमालेले बोकेका छन्। प्रसारणलाइनमा दख्खल राख्ने शाक्य पनि प्राधिकरणको कार्यकारी निर्देशकका बलिया प्रतिस्पर्धी हुन्।

प्राधिकरण बाहिरबाट विद्युत विकास विभागका महानिर्देशक सिंह कार्यकारी निर्देशकको दौडमा छन्। ऊर्जा मन्त्रीसँग राम्रो सम्बन्ध भएकाले सिंहले लविङ गरिरहेको स्रोतले बतायो।

प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख हरराज न्यौपाने बहालवाला कर्मचारीबाट बलियो दाबेदारी गर्नेमा पर्छन् । उनी प्राधिकरणका उपकार्यकारी निर्देशक हुन्।प्राधिकरणका पूर्व कर्मचारी शान्ति लक्ष्मी शाक्य पनि दौडमा छिन्। उनले राजनीतिक लविङ तीव्र पारेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री नआएसम्म सदन चल्न नदिने एमालेको चेतावनी

   नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री सदनमा नआएसम्म सदन अगाडि नबढ्ने...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

     मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । पर्सा अदालतको आदेशपछि...

काठमाडौंको गोकर्णेश्वरमा बर्ड फ्लु देखियो

    काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड...

४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...