निषेधाज्ञामा कडाइ : काठमाडौं उपत्यका विहानैबाट सुनसान



हाम्रो इकोनोमि

 

स्थानीय प्रशासनले लागू गरेको निषेधाज्ञामा कडाइ गरिएको छ । उपत्यकामा कडाइका साथ निषेधाज्ञा लागू भएपछि आज (बिहीबार) बिहानैदेखि उपत्यकाका सडक र मुख्य चोकहरू सुनसान भएका छन् ।

मध्यराति १२ बजेदेखि निषेधाज्ञा शुरू भएको छ । बुधबार मध्यराति १२ बजेसम्म निषेधाज्ञा लागू हुनेछ । काठमाडौं उपत्यकाको भक्तपुर, काठमाडौं र ललितपुरमा निषेधाज्ञा लागू भएसँगै चोकहरूमा सुरक्षाकर्मी बाक्लो संख्यामा खटिएका छन् ।

अत्यावश्यक काम बाहेक हिंड्नेलाई प्रहरीले रोकेको छ । मर्निङ वाकमा समेत ननिस्कन प्रहरीले आग्रह गरेको छ । स्थानीय प्रशासनले उपत्यकामा कोरोना संक्रमण तीब्ररुपमा फैलिइरहेका कारण घर बाहिर ननिस्कन माइकिङ्ग गर्दै सर्वसाधरणलाई सूचित गराउँदै आएको छ ।

काठमाडौं उपत्यकामा बुधबार राति १२ बजेबाट जारी ‘निषेधाज्ञा’ कडाइका साथ पालना गर्ने र गराउने निर्णय कार्यान्वयनमा प्रशासनले सम्पूर्ण ध्यान केन्द्रित गरेको छ । उपत्यकाको तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीबीच निषेधाज्ञा कडाइका साथ पालना गर्नेरगराउने निर्णय भएको हो ।

कोरोना सङ्क्रमण महामारी रोकथाम तथा नियन्त्रण कार्यका लागि बुधबार रातिबाट एक हप्ता भदौ १० गते बुधबार रातिसम्मका लागि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द भएका छन् । सर्वसाधारणलाई अत्यावश्यक काम बाहेक घरबाट बाहिर नजान आग्रह गरिएको छ । निषेधाज्ञा पालना गराउन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

अत्यावश्यक यातायात सेवाहरू दमकल, बिरामी बोकेका एम्बुलेन्स, शव वाहन, ढुवानीजन्य खाद्य, इन्धन, दुग्धजन्य पदार्थ, तरकारी, फलफूल, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी सवार सवारी साधन बाहेकलाई उपत्यकाबाट बाहिरिन र भित्रिन रोक लगाइएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले औषधि र खाद्यवस्तु तथा अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काममा बाहेक सर्वसाधारणलाई घर बाहिर ननिस्कन आग्रह गरे । उनले अटेर गर्नेलाई कारबाहीको समेत चेतावनी दिए ।

उपत्यकाभित्र मालवाहक ढुवानीका सवारी साधन तथा विद्युत्, दूरसञ्चार, भन्सार, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पतालमा जाने बिरामी, मृत्यु संस्कारका लागि हिंडेका सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सवार साधनमा रोक लगाइएको छैन ।

कोभिड–१९ नियन्त्रणमा खटिएका राष्ट्रसेवक कर्मचारी, नियमित सेवा प्रदान गर्न अनिवार्य गरिएका कार्यालयका कर्मचारीको हकमा भने बिहान ९ बजेदेखि १०.३० बजेसम्म र साँझ ३ बजेदेखि ५.३० बजेको समय निर्धारण गरिएको छ । यसका लागि ती कार्यालयहरूले न्यूनतम कर्मचारीको संख्या निर्धारण गर्नुका साथै कार्यालयबाट जारी फोटोसहितको परिचयपत्र अनिवार्य गरिएको छ ।

निषेधाज्ञामा मन्त्रालय लगायत कतिपय सरकारी कार्यालय भने खुला हुनेछन् । सञ्चार गृह तथा सञ्चारकर्मीहरूका लागि भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागबाट यसअघि उपलब्ध सवारी पासलाई नै मान्यता दिने जनाइएको छ ।

अत्यावश्यक बाहेकका कामका लागि निस्किएको पाइए सुरक्षाकर्मीले सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्नेछन् । यो ऐनमा आदेशलाई अपहेलना गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । काममा बाधा पुर्‍याउनेलाई ६ महिनासम्म कैद वा ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...