आज तिजको दर खाने दिन, यसपालि छैन रमझम



हाम्रो इकोनोमि

 

स्थिति ठीकठाक हुन्थ्यो भने यतिबेला तीजको रौनक छाइसक्थ्यो । महिनादिन अघिदेखि नै महिलाहरु दर, नाचगान र शुभकामना साटासाटमा व्यस्त बन्थे । छोरीचेली माइत जाने सुरसारमा हुन्थे । गाउँशहरमा तीज मेला, उत्सव चल्थे । विद्यालय, सामाजिक संघसंस्था, महिलाका संगठनलगायतले गच्छेअनुसार तीज पर्व मनाउँथे, महिलालाई दर खुवाउँथे ।

यसपालिको तीज पर्व खल्लो र निरस छ । दुई दिनअघिसम्म तीजको रमझम छैन । महिलाको स्वतन्त्रताको पर्व घर र कोठामा खुम्चिएको छ । कोरोना संक्रमणको त्रासले कतै बन्दाबन्दी त कतै निषेधाज्ञा छ । कतिपय स्थानीय तहले त दिदीबहिनीलाई माइत नजान आग्रह नै गरेका छन् । तीजको छेकोमा गरिने मेला, प्रतियोगिता स्थगन गरिएको छ ।

बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित नाच्नेडाँडामा आयोजना हुने ऐतिहासिक तीज मेला यसपालि नहुने आयोजकले जनाएको छ । ‘तीज गीत प्रतियोगितालगायतका कुनै पनि औपचारिक कार्यक्रम यो वर्ष नगर्ने निर्णय ग¥र्यौं,’ नाच्नेडाँडा संरक्षण समाजका अध्यक्ष सविता मरासिनीले भनिन्, ‘दूरी कायम गरेर महिला, दिदीबहिनीहरु भेट हुने, सामान्य नाचगान गर्नेसम्म हुनसक्छ ।’

सोही ठाउँमा रहेको सिद्धेश्वर शिवालय मन्दिरमा पनि भीडभाड नहुने गरी पूजापाठको व्यवस्था मिलाइने भएको छ । विगतको सशत्र द्वन्द्वका बेला केही वर्ष रोकिएको नाच्ने डाँडाको तीज मेला अहिले भने कोरोनाको मारमा प¥यो ।

बरेङ गाउँपालिकामा लाग्दै आएको जिल्लाको दक्षिण भेगकै ठूलो तीज मेला पनि यो वर्ष स्थगन भयो । सरकारले नै मेला, महोत्सव आयोजनामा रोक लगाएकाले तीज मेला गर्न नसकिएको आयोजक ग्रामीण जनसहभागिता विकास केन्द्रले जनाएको छ ।

केन्द्रले तीज मेलाका अवसरमा विविध खेलकुद प्रतियोगितासहित सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम आयोजना गथ्र्यो । बागलुङ नगरपालिकाको रुद्रेपिपल, मालिका काठेखोला गाउँपालिकाको रेशलगायतका ठाउँमा आयोजना गरिने तीज मेला पनि यो वर्ष भएनन् । गाउँठाउँमा आयोजना हुने मेला, उत्सवका मौकामा हुने व्यापार पनि यो वर्ष गुम्यो ।

तीजका बेला बजारमा हुने किनमेल पनि ह्वात्तै घट्यो । तीजका मेला, समारोह नै नभएपछि महिलालाई पनि पोशाक र सौन्दर्यका सामग्री किन्नुपर्ने बाध्यता आइपरेन । तीजको सम्मुखमा अलिअलि भइरहेको कारोबार पनि अकस्मातको बजार बन्दले मारमा परेको व्यवसायी बताउँछन् ।

बजार, यातायात बन्दले कतिपयको माइत जाने योजना पनि बीचमै तुहिएको छ । सौन्दर्य व्यवसायी सावित्री पुनले कोरोनाले गर्दा माइत जान नपाएको प्रतिक्रिया दिइन् । ‘गएपनि उतै रोकिनुपर्छ कि भन्ने डर छ, अब त गाडी, बजार सबै बन्द हुने भएपछि जाने कुरै भएन’, उनले भनिन्, ‘यो वर्ष कोठामै बसेर तीज जाने भयो ।’

कोरोना संक्रमणको जोखिम बढेपछि मंगलबारदेखि एक सातासम्मलाई बागलुङ नगर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । अत्यावश्यक काममा बाहेक हिँडडुल गर्नसमेत रोक लगाइएको छ । चाडबाडमा हुने भीडभाड र आवातजावतले कोरोना संक्रमणको जोखिम थप बढ्ने भएकाले निषेधाज्ञा जारी गर्नुपरेको जनाइएको छ । निषेधाज्ञा जारी गर्ने बागलुङ नगरपालिकाको सिफारिसलाई जिल्ला कमाण्ड पोष्टले सहमति दिएको हो । यसअघि वडाध्यक्षमा कोरोना देखिएपछि बडिगाड गाउँपालिका पनि सात गतेसम्मलाई ‘सिल’ गरिएको छ ।

यो वर्षको हरितालिका भदौ ५ गते छ । अघिल्लो दिन दिदीबहिनीलाई दर खुवाउने चलन छ । महिला पतिको सुस्वास्थ्य र दीर्घायूका लागि तीजमा व्रत बस्छन् र भगवान् शिवको आराधना गर्छन् ।

प्रतिक्रिया दिनुहोस
ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...

सुनसरीमा गोली लागेका रवीन्द्र मेहताको निधन

    सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको...

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

    अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण...

नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...