अछाम बाढी अपडेट : ६ जनाको शव फेला पर्यो, १५ बेपत्ता
अछामको रामारोशन गाउँपालिकामा कैलाश खोलाले बगाउँदा बेपत्ता भएका थप दुई जनाको शव फेला परेको छ। उनीहरूको शव मंगलसेन नगरपालिका वडा नम्बर ३ मा पर्ने लमतणा र सेरीमा भेटिएको हो।
बाढीमा बेपत्ता भएका १५ जनाको खोजी भइरहेको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिइन्। बगेका ४ जनाको यसअघि नै बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा शव भेटिएको थियो।
सोमबार बिहान रामारोशन गाउँपालिकाको वडा नम्बर ३ सान्तडास्थित सैनीबजारमा पसेको बाढीले २२ घर बगाएको छ। अहिलेसम्म ६ जनाको शव फेला परेको छ भने १५ जना बेपत्ता भएको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।