विधि र पद्धति मिच्दै गए संकट अझै गहिरिन्छ: नेता नेपाल



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी र सरकार दुवैलाई विधि, पद्धति र निष्ठाका आधारमा सञ्चालन गरिए अहिले देखिएका सबै समस्या समाधान भएर जाने बताएका छन् । नेकपामा संकट चुलिँदै जाँदा वरिष्ठ नेता नेपालले पार्टी र सरकार सञ्चालनमा विधि र पद्धति बसाल्न नसकिए संकट झनै गहिरिएर जाने चेतावनी दिए । यद्यपि पार्टी भने कुनै हालतमा फुट्न नदिने दृढता उनले व्यक्त गरे ।

नेता नेपालले नेकपा एकीकरणदेखि नै आफूले विधि पद्धति र निष्ठालाई केन्द्रबिन्दुमा राख्दै आइरहेको स्पष्ट पारे । ‘दुई अध्यक्षले सुरुदेखि नै विधि र पद्धतिका आधारमा पार्टी चलाउनुपथ्र्यो । त्यस्तो हुन सकेन र अहिले समस्या आयो,’ वरिष्ठ नेता नेपालले राजधानीसँग भने ।

विगतमा दुई अध्यक्षले चोचोमोचो मिलाउँदा विधि र पद्धति मिचिएको र आफूले त्यसविरुद्ध निरन्तर संघर्ष गर्दै आइरहेको उनले स्पष्ट पारे । विधि पद्धति मिचिँदा आफूले ‘नोट अफ डिसेन्ट’ लेखेर गम्भीर असहमति व्यक्त गर्दै आइरहेको उनले बताए ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्न अरुचि राखेकाले जारी स्थायी कमिटी बैठक अवरुद्ध हुन पुगेको नेपालको आरोप छ । ‘तर सधैं यसरी पार्टीलाई अनिर्णयको बन्दी बनाउन दिइँदैन र विधि मिच्न पनि दिइनेछैन,’ नेता नेपालले भने । आफूलाई सर्वेसर्वा ठानेर विधि मिच्नेहरू अन्ततः आफैं पतन हुने उनले दाबी गरे ।

वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीले स्थायी कमिटीका सदस्यलाई हुल्लडबाजको संज्ञा दिनु आपत्तिजनक भएको बताए ।
‘स्थायी कमिटीमा पार्टीमा लामो त्याग र संघर्ष गरेका वरिष्ठ व्यक्तित्वहरू हुनुहुन्छ, के उहाँहरू सबै हुल्लडबाज हो ?’ नेपालले प्रश्न गर्दै भने, ‘विधि पद्धति मिच्नेहरू अनुशासित हुने तर विधि र पद्धति बसाल्न माग गर्नेहरू कसरी हुल्लडबाज भए ?’

नेता नेपालले सुरुका दिनमा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै मानेर जानुपर्छ भनेर आफूले नै सहमति जनाएको भए पनि अब आएर त्यस्तो सहमति मान्य हुन नसक्ने बताए ।

‘ओलीले सबैलाई मिलाएर लैजान सक्नुभएन, एकपक्षीय रूपमा आफैं निर्णय गर्दै सरकार र पार्टी सञ्चालनमा मनमौजी गर्दै जानुभयो त्यसैले अब उहाँले दुईमध्ये एक पद छोड्नुपर्छ भन्ने हाम्रो अडान यथावत् नै छ,’ नेपालले राजधानीसँग भने ।
यद्यपि, प्रधानमन्त्री ओलीले भने महाधिवेशनसम्म आफूले दुवै पद नछोड्ने अडान राख्दै आएका छन् । नेता नेपालले राजनीतिमा नैतिकता र इमानदारिताको खरिद बिक्री हुने क्रम झनै बढेको दाबी गर्दै त्यसविरुद्ध आफूले निरन्तर प्रतिरोध गरिरहने बताए ।

‘बिचौलियाराज स्थापित हुन थालेको छ, सरकारी नियुक्तिमा कुनै मापदण्ड छैन । सत्तालाई चाकडी गर्नेहरू जस्तासुकै असक्षम भए पनि ठुल्ठूला नियुक्ति पाउने क्रम बढिरहेको छ,’ नेता नेपालले प्रश्न गरे, ‘के समृद्ध नेपाल सुखी नेपालीको नारा यसैका लागि हो ?’

प्रधानमन्त्री ओलीका लागि सत्तामा बसिरहन अनुकूल समय भए पनि उनले जनताले सोचेअनुसार काम गर्न नसकेको आरोप नेपालको छ । ‘उहाँ (ओलीजी)को घमण्डले सीमा नाघेपछि हामी उहाँलाई हटाउन लागेकै हो तर उहाँका लागि सत्तामा टिक्ने गरी विभिन्न अनुकूल अवसर सिर्जना भए,’ नेपालले भने, ‘उहाँको किड्नीको प्रत्यारोपण भयो, बिरामी भएर आराम गरिरहेको समयमा हटाउन हुँदैन भन्यौं । त्यसपछि एकाएक मुलुकले कोरोना संकट भोग्नुप¥यो त्यसैले यस्तो समयमा पनि उहाँलाई हटाउनुहुँदैन भन्यौं ।’

‘यस्तै बाढी पहिरोको समस्या आएसँगै मुलुक पनि समस्यामा परेकाले यस्तो समयमा पनि उहाँलाई प्रधानमन्त्रीबाट हटाउन हुँदैन भन्दै आयौं,’ नेता नेपालल भने, ‘हामीले उहाँप्रति सहानुभूति राख्दै आयौं तर उहाँले जबाफमा हामीलाई नामेट पार्ने र पेल्ने किसिमले अगाडि बढिरहनुभयो ।’

नेता नेपालले पार्टी एकीकरणपछिका प्रारम्भिक दिनमा अध्यक्ष ओलीले आफूलाई पेल्दै आए पनि पछिल्लो दिनमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि त्यस्तै पेलाइ खानुपरेको बताए । नेपालले प्रधानमन्त्री ओलीले कुनै पनि राजनीतिक नियुक्तिमा आफूहरूसँग समन्वय नगर्ने गरेको उल्टै आफूहरूले दिएका नामहरू खोजी खोजी रद्दीको टोकरीमा फालिने गरेको बताए ।

नेता नेपालले घात प्रतिघात तथा धोकेबाज शैलीको व्यवहार र राजनीति दिगो हुन नसक्ने ठोकुवा गरे । उनले आफू पार्टीलाई विधि पद्धतिमा लैजान र राजनीतिलाई इमानदारिता तथा नैतिकतामा रूपान्तरण गर्न अन्तिम समयसम्म लडिरहने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री नआएसम्म सदन चल्न नदिने एमालेको चेतावनी

   नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री सदनमा नआएसम्म सदन अगाडि नबढ्ने...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

     मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । पर्सा अदालतको आदेशपछि...

काठमाडौंको गोकर्णेश्वरमा बर्ड फ्लु देखियो

    काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड...

४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...