नेकपाका सांसदले भने हामी कुनै गुटमा छैनौ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र शीर्ष नेतृत्वबीच चरम गुटबन्दी हुन थालेपछि सो पार्टीका ६१ जना सांसदले आफुहरु कुनै गुटमा नलाग्ने घोषणा गरेका छन् ।
आज नेकपा संसदीय दलको कार्यालय सिंहदरवारमा भेला भएर उनीहरुले एकैस्वरमा आफुहरु गुटको पछि नलाग्ने घोषणा गरेका हुन् ।
पार्टीमा संस्थापन पक्षको नेतृत्व प्रधानमन्त्री केपी ओली तथा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव नेपाल समूहबीच शक्ति संघर्ष चर्किरहेका बेला सांसदहरुले गुटबन्दी अन्त्य गर्न नेताहरुलाई आग्रह समेत गरेका छन् ।
नेताहरुबीचको टकरावले पार्टी गम्भीर संकटमा फस्दै गएको भन्दै उनीहरुले तत्काल पार्टीभित्रका अन्तरविरोध र संघर्षको अन्त्य गर्न आग्रह गरेका छन् ।
भेलामा ओली समूहका सांसदहरु विशाल भट्टराई, कृष्ण दाहाललगायत छन् भने प्रचण्ड–नेपाल समूहका सुरेश कुमार राई, रामकुमारी झाँक्रीलगायतका सांसद उपस्थित छन् ।
अहिले संसदीय दलको कार्यालयमा उनीहरुको पत्रकार सम्मेलन जारी छ ।

