नेकपाभित्र चलखेलका नालिबेली



हाम्रो इकोनोमि

 

एक महिनादेखि जारी र स्थगन हुँदै आएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकबाट पार्टीका विवाद सुल्झिने कुनै छेकछन्द आएको छैन । दुई अध्यक्षका भिन्न–भिन्न शैली, सोच र दाउको कारण पार्टी र सरकार सञ्चालनमा कष्टदायक स्थिति उत्पन्न भएको छ ।

एक अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का दुई मान्यता हुन्, ‘निरन्तरतासहितको क्रमभंगता र क्रमभंगतासहितको निरन्तरता ।’ अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको तरिका छ, मान्छे र विषयवस्तुहरू खेलाउनका निम्ति फरक–फरक तुरुप फ्याँकिरहने । कहिले मानिस त कहिले विषयहरूमाथि विचार, विमर्श र समीक्षा हुँदाहुँदै परिस्थिति अर्को बनाइसक्ने उहाँको खुबी नै हो । तर, पछिल्लो समय न प्रचण्डसँग क्रमभंगको हिम्मत देखिएको छ, न केपी ओलीसँग फ्याँक्नका लागि विश्वासिलो तुरुप नै बाँकी छ । तर, पनि नेकपा विवादका कारण पार्टी र सरकार दुबै बिलखबन्दमा परेको स्थिति छ ।

 

माघमा अर्थमन्त्री डा.युवराज खतिवडा मान्यको म्याद सकिएपछि वामदेवलाई प्रधानमन्त्री बन्न मिल्ने गरी राष्ट्रियसभामा लैजाने निर्णय सचिवालय बैठकबाटै भयो । त्यसका निम्ति माधव नेपाल संयोजक, सुवास नेम्वाङ र खिमलाल देवकोटा सदस्य रहेको संविधान संशोधनसम्बन्धी सुझाव कार्यदल बनाइयो । तर, एउटा बैठक पनि बस्न नपाउँदै त्यसको औचित्य र उपादेयता समाप्त पारियो । डा.खतिवडाले राष्ट्रियसभा सदस्यको पदावधि सकिएकै दिन अर्थमन्त्रीबाट राजीनामा दिए । र, भोलिपल्टै पार्टीको कुनै च्यानलमा छलफल र अनुमोदन नगराई पुनः अर्थमन्त्री नियुक्त भए ।

 

झलनाथ, माधव, प्रचण्डसँगै वामदेव पनि एउटै मेलोमा लागेर प्रधानमन्त्रीको आलोचक बनिरहने स्थिति प्रियकर थिएन । त्यसलाई थामथुम पार्न माधव नेपालकै संयोजकत्वमा संविधान संशोधनको तुरुप फ्याँकिदिएपछि केही दिन अलमल हुन्छ र अर्को गोरेटो तय गर्न सकिने सोच यसभित्र लुकेको थियो । जब सचिवालय बैठकमा वामदेवलाई राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रियसभा सदस्यका रुपमा प्रस्तुत गर्नेसँगै प्रधानमन्त्री बनाउने गरी निर्णय भयो, त्यो कामको पहिलो असर अर्थमन्त्री डा.खतिवडामाथि पर्छ भन्ने कुरा केपीले अलिक ढिलो चाल पाउनुभयो । त्यसैले राजीनामा दिएको भोलिपल्टै फेरि अर्थमन्त्रीका रुपमा निर्णय गर्नुभयो ।

 

यही घटनाबाट हो, ‘वामदेव कार्ड’ लाई प्रधानमन्त्रीले आफ्नो रक्षाकवचका रुपमा प्रयोग गर्नसक्ने बनाउनुभएको । र, अहिले वामदेवले विवाद समाधानका नाममा उतैको सहमतिबमोजिम ल्याउनुभएको ६ बुँदे प्रस्तावसम्मलाई हेर्दा उहाँको एकनिष्ठ पक्षधरतालाई बिथोल्दै आफ्नो बाटो सोझ्याउने बालुवाटारको रणनीति देखिन्छ ।
तर, प्रचण्डले हिजो र अस्तिमात्रै पनि आफ्ना निकटस्थसँग भन्नुभएको छ, ‘म थाकेको छैन । मलाई जहिले पनि यस्तै यस्तैमा पारियो । अझै कुरा माझिएको छैन । तर, कति दिन यसरी रहला र ?’

 

एकथरि पूर्वमाओवादीको बुझाई छ– केपीलाई गलाउने नाममा प्रचण्डले माधवसँग गरेको गठबन्धन घाँडो पो भयो कि ? त्यसो नगरेको भए एउटा निकास आइसक्थ्यो कि ? किनभने बालुवाटारको एम्बुसमा परेर प्रचण्ड र माधवहरूले आफ्नो अनुकूलताका नाममा कतिबेला के सम्झौता गर्लान् भन्ने टुंगो छैन । अहिले माधवले प्रचण्डमाथि र प्रचण्डले माधवमाथि गर्ने शंका यही हो । यद्यपि, केपी ओली आफँै माधवको नामसम्म सुन्न नरुचाउने स्थितिका कारण प्रचण्डमा कम शंका छ । तर, माधव र उहाँपक्षीय नेताहरू प्रचण्डमाथि पाइला–पाइलामा यही आशंका गरिरहेका हुन्छन् ।

 

एउटा घटना स्मरणीय छ– एक वर्षअघि केन्द्रीय कमिटी बसिरहेको बेला केपीले माधवलाई बोलाउनुभयो । त्यसबेला स्व.भरतमोहन अधिकारीको बारेमा प्रकाशित पुस्तक विमोचन कार्यक्रम थियो । त्यहाँ माधव र प्रचण्डलाई बोलाइयो, तर केपीलाई वास्तै गरिएन । केपीलाई नबोलाउने तर माधवमात्र जाने हुँदा पूर्र्वएमालेको लिगेसीमाथि माधव एक्लैले रजाइँ गर्ने हो कि भन्ने लागेर होला, बालुवाटारबाट माधवलाई कार्यक्रमको समय पारेरै बोलाइयो । माधव जानुभयो । उता, पुस्तक विमोचन कार्यक्रम शुरु भएपछि माधवपक्षीय बागमती प्रदेश इञ्चार्जसमेत रहनुभएकी अष्टलक्ष्मी शाक्य त्यहाँ बसिरहेका पूर्वमाओवादीहरूसँग भन्दै हुनुहुन्थ्यो, ‘माधव कमरेड बालुवाटार गइसक्नुभयो ।

 

प्रचण्ड कामरेडलाई अलि दह्रो बनाउनुस् है !’  अर्थात्, त्यतिबेलासम्म केपीले माधवको कानमा चिनी हालेको कुरा सही–साँचो हो । तर, त्यसबाट केपीले पार पाउनुभएन । त्यसपछि वामदेव सजिलो हो भन्ने लाग्यो । र, उपाध्यक्षलाई प्रधानमन्त्रीको लोभमा पारेर खेलहरू खेलिँदै आए ।

अहिले पनि प्रचण्डनिकटस्थहरू ‘हामीलाई वास्ता नगर्ने, माधवको भर पर्ने ?’ भन्दैछन् । तर, प्रचण्डको बुझाई छ, पूर्वमाओवादीमात्रै बोकेर पुगिने कहीँ होइन । फेरि उहाँको पुरानो शैली नै हो कि, कहिँ न कहिँ निकास खोज्ने । उहाँ अरुजस्तो एउटा पोजिसन बनाएर ‘रिजिड’ हुने मान्छे होइन । अघि बढ्न र पछि हट्न पनि सक्ने खुबीको कारण केही न केही निकास आउला । तर, त्यस्तो निकासप्रति माधव र झलनाथलाई स्वामित्वबोध भएन भने बेकार हुन्छ भन्ने बुझेरै होला, प्रधानमन्त्रीसँगको भेटमा झलनाथलाई साथमा लैजाने गर्नुभएको छ । यो कुरा बुझ्न २०६८ सालको बहुचर्चित धोविघाट गठबन्धनपछिको घटना सम्झनुपर्ने हुन्छ ।

उक्त बैठकमा बैद्य, बादल, बाबुराम, नारायणकाजी, बिप्लवहरू सबै एकातिर भएर प्रचण्डलाई अल्पमतमा पारे । बटमलाइन थियो, प्रधानमन्त्री बाबुराम र पार्टी अध्यक्ष मोहन वैद्य (किरण) । सबैले बुझेका थिए– प्रचण्डले बाबुरामलाई सजिलै प्रधानमन्त्री दिने होइनन् । तर, धोविघाट गठबन्धनपछि प्रचण्डको पोजिसन फेरियो । भन्नुभयो, ‘बाबुरामलाई प्रधानमन्त्री बनाउन किरण, विप्लवकहाँ जानुपर्छ र ? उहाँलाई प्रधानमन्त्री बनाउन त मै प्रस्ताव गर्छु नि †’ आखिर प्रचण्डलाई यति गलाउनु पनि ठूलै कुरा थियो । धोविघाटका दुई मूल एजेण्डामध्ये पहिलोमा प्रचण्डलाई ल्याइसकेपछि अर्को एजेण्डाका लागि संघर्ष गरौँ भन्ने उक्त गठबन्धनका सहयात्रीको सहमति थियो ।
.

त्यसपछि बाबुरामले शान्ति प्रक्रियालाई निश्कर्षमा पु¥याउनुपर्नेजस्ता मुख्य कार्यभार बाँकी रहेको हुँदा आफू प्रचण्डकै साथ लिएर प्रधानमन्त्री हुने, तर वैद्यलाई अध्यक्ष बनाउने अडान छोड्नुभयो । सोही बमोजिम वैद्य निकट सिपी गजुरेललाई परराष्ट्रमन्त्री नदिएर प्रचण्डले आफूनिकट पोष्टबहादुर बोगटीलाई ऊर्जामन्त्री र वर्षमान पुनलाई अर्थमन्त्री बनाइदिनुभयो । खरिपाटीमा पनि प्रचण्ड अल्पमतमै परेको हो । त्यसपछि पार्टीभित्र सन्तुलन मिलाउन नारायणकाजीसँग एकता भयो । पूर्वजनमोर्चा पूरै प्रचण्डपक्षीय बन्यो ।

०६५ सालमा आफूलाई काँग्रेसको सहयोगमा हटाएर माधव प्रधानमन्त्री बनेको रिसमा आफ्नो उम्मेदवारी फिर्ता लिएर झलनाथलाई प्रधानमन्त्रीमा समर्थन गर्नुभयो ।

 

एकतापछि पनि केपीसँग मिलेर माधवलाई किनारामा पार्दै जानुभयो । तर, अहिले झलनाथ–माधवलाई साथ लिएर बहुमतमा हुनुहुन्छ । अर्थात्, केही पूर्वमाओवादी केपीतिर लागे पनि पूर्वएमालेसहित बहुमत कित्तामा हुनु प्रचण्डको अर्को सफलता हो । यसो गर्नुको कारण हो, प्रचण्डमा जनमत ख्याल गर्ने बानी हुनु । पहिला माओवादी स्कुलिङ भएकालाई घटनाक्रम पुष्टि गर्न सक्दा काम पुग्थ्यो । अहिले पूर्र्वएमालेको एउटा ठूलो समूहलाई पनि मतैक्य गर्नुपर्ने बाध्यता छ ।

 

माओवादीको हेटौंडा महाधिवेशनले पार्टीलाई बहुपदमा लैजाने प्रस्ताव अनुमोदन ग¥यो । यसअनुसार, हिसिला यमीलाई कोषाध्यक्ष बनाउने गरी प्रचण्डले प्रस्ताव लैजानुभयो । तर, हलले मानेन । अनि, उहाँ तुरुन्तै उक्त प्रस्तावबाट फिर्ता हुनुभयो । अर्थात्, हलको मनोविज्ञानलाई तुरुन्तै टिप्दा अल्पमतमा पर्नबाट जोगिनुभयो । अहिले प्रचण्डसँग त्यस्तो संगठित मास छैन । माधव, झलनाथले यति साथ दिँदा पनि उनीहरूलाई बाइपास गरियो भने समस्या हुन्छ भन्ने राम्ररी बुझ्नुभएको छ । प्रचण्डले आत्मबोध गर्ने एउटै कुरा हो ‘एक्लै हुँदा म पग्लिन्छु ।’ किनभने, केपी ओलीले जस्तो एक–एकवटा तुरुप पालैपालो फ्याँक्ने होइन, प्रचण्डले भए जति सबै अप्सन एकैचोटि खोल्ने गर्नुभएको छ । तर, अर्को पक्षले त्यसरी अप्सन खोल्दैन । प्रचण्डले मार खाने त्यहीँनेर हो । त्यही भएर उहाँ अचेल एक्लै बालुवाटार नजानुभएको भनिन्छ ।

 

अरुबेला वर्षमान, जनार्दन लिएर जाँदा पूर्वएमालेको टिम छुट्ने भयो, विश्वास टुट्ने भयो आफ्नै मान्छेले पनि जुनियर र पटके अवसर पाउनेलाई सधँै काखी च्यापेको भनी दुःख मनाउ गर्ने भए । यतिबेला माधवलाई क्रस गरेर केपीसँग मिल्दा प्रचण्डलाई सुख छैन । एकचोटि त केपीले प्रचण्डलाई ‘तपाईं माधवतिर कि म तिर’ भनेरै सोध्नुभयो । केपी–प्रचण्ड मिल्दाका दिनमा माधव बैठकैपिच्छे ‘नोट अफ डिसेन्ट’ लेख्ने अवस्थामा पनि पुग्नुभयो । प्रचण्डले पछि बुझ्नुभयो, माधवहरूलाई नलिई जाँदा अगाडि बढ्न सकिन्नँ ।

 

यो कुराको आत्मबोध गत वर्षकै केन्द्रीय कमिटी बैठकमा भयो । महासचिव विष्णु पौडेलले एजेण्डा राखेपछि लाइन राखेर एजेण्डा थपका लागि एक घण्टा हलभित्र होहल्ला भयो । त्यो माहौल कसैले मिलाउन सकेनन् । तर, मञ्चमा माधव नेपाल उभिएर ‘ल–ल, सबैजना बस्नुस् अब’ भनेपछि बल्ल स्थिति सामान्य बन्यो । अर्थात्, केपीसँग प्राविधिक बहुमत हो, माधवहरूसँग तलैसम्म उत्तरदायी तथा वैचारिक पंक्ति रहेको पुष्ट्याइँ त्यही हलले पनि गरेपछि प्रचण्डमा यस्तो बदलाव आएको बताइन्छ । जनआस्थाबाट साभार

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...