अब प्रचण्डले कुन बाटो रोज्लान् ?



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र आन्तरिक विवाद पेचिलो बन्दै गएको छ । २०७७ सालको शुरु देखि नै चुलिएको विवाद आज साउनको तेस्रो हप्ता पुगिसक्दा पनि समाधान हुन सकेको छैन । अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकार दुवैतर्फ एकछत्र राज गर्दै आएका छन् ।

उनले एउटा गुट बनाएर पार्टीभित्रकै अन्य पक्षकालाई पेलेरै जाने रणनीति लिएका छन् । यतिसम्मकी, आफैँले विगतमा पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गरेको भद्र सहमति तोडिदिएका छन् । यसले तत्काल प्रधानमन्त्री ओलीलाई शक्तिशाली देखाए पनि यसले गम्भीर राजनीतिक दुर्घटना निम्त्याउने खतरा बढाएको छ ।

ओलीलाई उनका सल्लाहकारहरुले घेरबन्दीमा पारेर राजनीतिका यथार्थ तस्बिरहरु नियाल्न नपाउने बनाइदिएका छन् । बालुवाटारको कोठाभित्र सिमित व्यक्तिहरुको घेराबन्दीले उनी महाभारतका धृतराष्ट्र जस्तै बनाइएका छन् । बरु महाभारतका धृतराष्ट्रलाई बिदुर र सञ्जयले यथार्थ जाहेर गर्दै सम्झाउँथे । तर, ओलीलाई सकुनी शैलीमा उक्साउनेहरु हावी भएका छन् । उनी देशमा बढ्दो भ्रष्टाचार, बेथिति र अराजकताबारे बेखबर जस्तै बनाइएका छन् ।

देशमा नीतिगत भ्रष्टाचार बढेको छ । कोरोना भाइरससँग सिंगो देश जुधिरहँदा स्वास्थ्य क्षेत्रमा भएका भ्रष्टाचारहरु छताछुल्ल भएका छन् । जनता महङ्गीको मारमा परेका छन् । तर, त्यसतर्फ सरकारको कुनै ध्यान गएको छैन । कालोबजारीहरु सलबलाएका छन् । जनतामा व्यापक असन्तुष्टिले बिष्फोटक रुप लिइरहेको छ । तर, उनका सल्लाहकारहरु सबै ठिक छ भनी ओलीलाई मख्ख पारिरहेका छन् । जनतामा बढेको असन्तुष्टिलाई परिवर्तन विरोधीले आफ्नो स्वार्थमा प्रयोग गर्न सक्ने गम्भीर परिणामका बारेमा ओली र उनका सल्लाहकारहरुले बेवास्ता गरिरहेका छन् । सत्ता सधैको पेवा हो जसरी अहंकार देखाउनमै केन्द्रित छन् ।

एकातर्फ जनतामा असन्तुष्टि बढेको छ, अर्कोतर्फ नेकपाभित्रको मतभेद मनभेदमा समेत बदलिदै गएको छ । विशेषगरी ओलीको प्रचण्डप्रतिको व्यवहारले कुनैपनि बेला दुर्घटनाको खतरा बढाउँदै लगेको छ । दश वर्ष जनयुद्धको नेतृत्व गरेर शान्तिपूर्ण राजनीतिक मूलधारमा आएका प्रचण्डले तत्कालिन नेकपा एमालेसँग पार्टी एकीकरण गरेर सबैलाई आश्चर्यमा मात्र पारेनन् ठुलै त्याग पनि देखाएका थिए । उनले अब पुच्छर राखेको कम्युनिस्ट पार्टी रहनुहुन्न र एउटै कम्युनिस्ट पार्टी हुनुपर्छ भनेर उद्घोष पनि गरेका थिए । नेपाली राजनीतिको केन्द्रमा रहेका प्रचण्डले ओलीपछि वरियतामा दोस्रो बनेर नेकपा एकताका लागि तयार हुनु चानचुने विषय थिएन । यत्रो त्याग नेपालको कम्युनिस्ट इतिहासमा मनमोहन अधिकारी र मदन भण्डारीले बाहेक सायदै कुनै नेताले गरेका थिए ।

प्रचण्डले पार्टी एकताका लागि ओलीलाई एकीकृत पार्टीको अध्यक्ष र प्रधानमन्त्री मान्न पनि तयार भए । दुवैबीच आधा आधा कार्यकाल सरकार चलाउने सहमति पनि भयो । यस्तो भद्र सहमतिको प्रचण्डले खुलासा पनि गरे । दुई वर्षसम्म प्रचण्डले नाम मात्रको अध्यक्षको भरमा चल्नुपरेको थियो । त्यसलाई पनि उनले सहेकै थिए । तर, ओलीले प्रचण्डलाई रणनीतिक रुपमा कमजोर बनाउन लागिपरे । घुमाउरो तरिकाले विधेयक ल्याएर तर्साउन थाले ।

जनयुद्धकालिन मुद्दा उल्टाइदिने देखि विगतका केही विवादास्पद घटनाबाट अप्ठ्यारोमा पारिदिने संकेतहरु गर्न थाले । राजनीतिक व्यक्तिको शैलीभन्दा षड्यन्त्रको शैली अपनाउन थाले । यसले प्रचण्डलाई पार्टी एकता गर्नु कतै गल्ती त थिएन भनी सोच्न वाध्य बनायो । उनलाई निकटस्थहरुमध्ये कतिपयले पार्टी एकता गर्नु भुल थियो भन्दै आएका पनि छन् । प्रचण्डले सार्वजनिक रुपमा आफूले विगतमा ओलीसँग गरेका केही भद्र सहमतिबाट ब्याक भएर गल्ती त गरिनँ ? भनी बोले । प्रचण्ड जस्तो नेताले यति गम्भीर विषयमा टिप्पणी गर्नु सामान्य विषय थिएन ।

प्रधानमन्त्री ओलीले चालेका कतिपय राम्रा कामहरुमा प्रचण्डले पुरापुर साथ दिए । तर, ओलीले जस एक्लैले लिन खोज्ने र प्रचण्डलाई होच्याउन थाले । देशको नयाँ नक्शा जारी गर्दा प्रचण्डको साथ थियो । नेकपाले आधिकारिक निर्णय गरेको थियो । यतिसम्मकी नेपाली काँग्रेसले पनि साथ दिएको थियो । प्रचण्डको नियत खराब थियो भने, नयाँ नक्शा जारी नगर्दै ओलीलाई अप्ठ्यारोमा पार्नसक्थे । तर, उनले राजनीतिक चरित्र देखाएर ओलीलाई राष्ट्रिय मुद्दामा निशर्त साथ दिए । तर, ओलीका सल्लाहकार र निकटस्थहरुले प्रचण्डलाई होच्याउने गरी नक्शाको विषयमा टिप्पणी गरे ।

ओलीले राष्ट्रवादी नेताको पहिचान बनाएको र समृद्ध नेपाल निर्माणमा आफूलाई केन्द्रित बनाइरहँदा प्रचण्डले निकै सहयोग गरेका थिए । कतिपय राजनीतिक तथा संवैधानिक नियुक्तिमा पनि लचिलो रुपमा प्रस्तुत भएका थिए । त्यसलाई ओलीले प्रचण्डको कमजोरी देख्न थाले । अहिले प्रचण्ड राजनीतिक जीवनको सबैभन्दा चुनौतीपूर्ण घडीमा छन् । उनले अस्तित्वकै संकट आउनसक्ने देख्न थालेका छन् । नेपालको राजनीतिको कोर्स बदल्ने नेतालाई यति संकटमा धकेल्नु भनेको स्वयं राजनीतिक प्रणालीका लागि खतरा बन्नसक्छ । १२ बुँदे जगमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्न सक्छ ।

ओलीको पछिल्लो कदमले १२ बुँदे समझदारी नै गलत थियो भन्ने निष्कर्ष एकथरि भारतीय बुद्धिजीवीहरुले निकाल्न थालेका छन् । नेपाली काँग्रेसभित्र गणतन्त्र र धर्म निरपेक्षतामाथि प्रश्न उठाउनेहरु हावी हुँदै गएका छन् । बिपी कोइरालाका पुत्र डा. सशांक कोइरालाले गणतन्त्र र धर्मनिरपेक्षताबारे पुर्नविचार गर्नुपर्ने भन्दै आएका छन् । हाल महामन्त्री रहेका कोइराला काँग्रेसको सभापति बन्न यही पुर्नविचारको एजेन्डा लिएर बढ्ने तयारीमा छन् ।

एकातर्फ नेकपाभित्र ओलीको कदम दुर्घटनातर्फ बढिरहेको छ भने, अर्कोतर्फ दक्षिणपन्थी शक्तिहरु एकजुट हुँदै गइरहेका छन् । ओलीले आफ्नै दलका नेताहरु प्रचण्ड र माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमलाई सिध्याउने नीति दक्षिणपन्थी शक्तिलाई उचाल्न मद्दत गर्दैछ । यसैगरी, छिमेकसँगको शक्ति सन्तुलनमा ध्यान नपु¥याउँदा अहिलेको व्यवस्थाप्रति नै असहयोगको अवस्था आउने खतरा बढेको छ । यसले १२ बुँदे सम्झदारीको जग नै भत्कने खतरा बढाएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...