नेकपाको माहोल ओली कै पक्षमा, प्रचण्ड र नेपाल समूह सचिवालयमा अल्पमतमा



हाम्रो इकोनोमि

 

सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को पूर्ववत् अडान र नयाँनयाँ प्रस्तावले विवाद थप जटिल बनेको छ ।

आइतबार र सोमबारको छलफलमा उनीहरु एकअर्कामाथि दबाब बढाउने ढंगले प्रस्तुत हुँदा छलफलले निकास दिन सकेन ।

प्रधानमन्त्री समेत रहेका ओलीले एक पद छाड्नुपर्ने अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको माग र दुवै पद नछाड्ने ओलीको अडान यथावत छ ।

दुई पक्षको आआफ्नो अडानबाट बल्झेको विवादमा अब नयाँ विषयले पनि प्रवेश पाएको छ ।

पार्टी सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी वा महाधिवेशन कहाँबाट हल खोज्ने भन्नेमा ओली र प्रचण्डबीच थप विवाद भएको छ ।

यसमा दुवै समूहका आ आफ्ना रणनीति र एकअर्कामाथि दबाब बनाउने रणनीति देखिन्छ ।

स्थगित भएको स्थायी कमिटी बैठकको तत्काल मिति तोक्न र केन्द्रीय कमिटी बैठक बोलाएर समस्या समाधान गर्न अग्रसरता लिन ओलीलाई पछिल्ला संवादमा अध्यक्ष प्रचण्डको आग्रह छ । उनले लामो समय बैठक स्थगित गर्दा सन्देश राम्रो नजाने बताएका थिए ।

यता पहिला सचिवालयमा छलफल गर्ने र त्यसपछि मात्रै स्थायी कमिटी बैठकको मिति तय गर्नुपर्ने ओलीको अडान छ ।

केन्द्रीय कमिटी बैठक तत्काल सम्भव नभएको ओलीको जवाफ छ । बरु, ओली सबै विवाद यसअघि केन्द्रीय कमिटीले तय गरेको चैत्रको महाधिवेशनमा लगेर टुंगाउने योजनामा छन् ।

सचिवालय र महाधिवेशनबाट विवादको समाधान खोज्ने प्रस्तावमा ओलीका दुई रणनीति रहेको प्रचण्ड पक्षको बुझाइ छ ।

पछिल्लो समय सचिवालयमा ओलीको बहुमत छ । उपाध्यक्ष वामदेव गौतमले ओलीलाई सहज हुने गरी ६ बुँदे प्रस्ताव अगाडि सारेपछि सचिवालयमा ओलीको बहुमत पुगेको देखिन्छ ।

सचिवालय सदस्य रामबहादुर थापा पनि तत्काल पार्टी विभाजन रोक्न ओलीलाई हटाउन नहुने तर्क अगाडि सारेका छन् । यसरी सचिवालयमा छलफल हुँदा तत्काल ओलीका पक्षमा निर्णय हुने अवस्था छ । यसैले ओली सचिवालय बैठक बसाल्ने अडानमा छन् ।

यसबाहेक ओलीको अर्को रणनीति अर्ली महाधिवेशन वा नियमित महाधिवेशनबाट शक्ति बाँडफाँटको पक्षमा छन् । विवादलाई महाधिवेशनतिर मोड्न सके तत्काल पार्टी अध्यक्ष वा प्रधानमन्त्री दुवै पद छाड्न नपर्ने ओलीको बुझाइ छ ।

यो रणनीतिबारे जानकार प्रचण्ड र नेपाल समूहले मंसिरमा महाधिवेशन गर्ने ओलीको प्रस्ताव अस्वीकार गरिसकेको छ ।

उता प्रचण्ड र नेपाल समूह स्थायी र केन्द्रीय कमिटीबाट नै निकास खोज्नुपर्ने पक्षमा छ । गौतम र थापा ओलीतिर लागेपछि प्रचण्ड र नेपाल समूह सचिवालयमा अल्पमतमा छ । तर, स्थायी र केन्द्रीय कमिटीमा उनीहरुको बहुमत छ । त्यसकारण सबै विवाद स्थायी र केन्द्रीय कमिटीमा लैजाने तयारी यो समूहको छ ।

स्थायी वा केन्द्रीय कमिटीको बैठक बसे आफू अनुकूल निर्णय हुने प्रचण्ड र नेपाल समूहको विश्वास छ । त्यसैले यो समूह जसरी पनि स्थायी वा केन्द्रीय कमिटी बस्नुपर्ने अडानमा छ ।

पछिल्लो पटक साउन १३ मा प्रचण्डले नेपाल समूहले गरेको स्थायी कमिटी बैठकमा २९ सदस्य सहभागी थिए । ४४ सदस्यीय स्थायी कमिटीमा यो सुविधाजनक बहुमत अंक हो ।

प्रचण्डले बहुमत स्थायी कमिटी सदस्यहरूको बैठक गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको थियो । त्यसपछि ओली र प्रचण्डबीच संवाद नै टुटेको थियो । पाँच दिनपछि उनीहरुवीच साक्षी राखेर आइतबार छलफल भए पनि अहिलेसम्म कुनै प्रगति भएको छैन ।

दुबै पक्ष गणितीय खेलतिर केन्द्रित देखिन्छन् । पार्टी बैठकबाहेक नेकपामा अंकगणितको हिसाब संसदीय दलमा समेत छ । संसदीय दलमा अहिलेसम्मको अंकगणितमा ओली झिनो मतले अल्पमतमा छन् । यद्यपि पूर्व माओवादी समूहका केही नेताहरुको साथ पाएको ओली समूहले संसदीय दलमा आफूहरु बहुमतमा रहेको दाबी गरेको छ ।

तर, प्रचण्ड नेपाल समूह संसदीय दलमा आफूहरुसँग बलियो बहुमतमा रहेको दाबी गर्छ । बैठक बोलाउने र नबोलाउने दुवै पक्षले अडान नछाडेपछि सोमबारको छलफलबाट उठेका नेता मंगलबार फेरि छलफलमा बस्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...