बैठक स्थगित भएको छैन : प्रवक्ता श्रेष्ठ
नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन्।
प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेलसहित अन्य स्थायी समिति सदस्यहरू बैठक हलमै छन्।
‘हामी १५-२० जान साथीहरू बैठकस्थल मै छौं। बैठक स्थगित भएको जानकारी छैन,’ प्रवक्ता श्रेष्ठले भने,’हामी बैठकको पर्खाइमा छौं।’
मंगलबार ११ बजेका लागि तय भएको बैठक साढे १० बजे अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो।
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग छलफलका लागि अर्का अध्यक्ष प्रचण्ड नआएपछि बैठक स्थगित भएको प्रधानमन्त्री निकट स्रोतको दाबी छ।
‘प्रधानमन्त्री र प्रचण्डबीच ९ बजे भेटघाट हुने तय भएको थियो। तर उहाँ साढे १० बजेसम्म पनि आउनुभएन। फोन गर्दा पनि सम्पर्क हुन सकेन,’प्रधानमन्त्री निकट स्रोतले भन्यो,’महासचिव विष्णु पौडेलले समन्वय गर्न खोज्दा समेत सफल नभएपछि बैठक स्थगित गरिएको हो।’
साउन ३ गते दुई अध्यक्षबीच भएको सहमति अनुसार स्थायी समितिका लागि लैजाने प्रस्ताव तयार गर्न बाँकी रहेकाले बैठक स्थगित भएको बालुवाटार स्रोतको दाबी छ।
साउन ३ गते दुई अध्यक्षबीच मंसिरमा अर्ली महाधिवेशन हुने भनेर सहमति भएको प्रधानमन्त्री पक्षधरको दाबी छ।
प्रचण्ड निकट स्रोतले भने दुई अध्यक्षबीचमा फोनमा कुराकानी भइरहेको तर एकतर्फी बैठक स्थगित गरिएको दाबी गरेको छ।
‘दुई अध्यक्षबीच निरन्तर कुराकानी भइरहेको थियो। हामी बालुवाटार जाने तयारीमै थियौं,’प्रचण्ड निकट स्रोतले भन्यो,’हामीलाई जानकारी नदिइकन बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ, हामीलाई आधिकारिक जानकारी दिइएको छैन।’


