यसरी समाप्त भो सरिता गिरीको राजनीति



हाम्रो इकोनोमि

 

सर्वोच्च अदालतले तत्कालीन समाजवादी पार्टीले सरिता गिरीको सांसद पद खारेज हुने गरी लिएको निर्णयमा अन्तरिम आदेश दिन अस्विकार गरेसँगै उनको राजनीति भविष्य अन्योलमा परेको छ ।

पार्टीको विधान र कानूनअनुसार नै गिरीमाथि कारबाही गरिएको देखिएको भन्दै न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले आइतबार बाँकी विषयमा मुद्दाको निरुपणका क्रममा नै व्याख्या गरिने भनी आदेश गरेको हो ।

संविधान संशोधन प्रस्तावको पक्षमा आफ्नो पार्टी समाजवादी पार्टीले मतदान गर्न दिएको ह्विप उल्लंघन गरेको भन्दै गिरीलाई पार्टीले साधारण सदस्य नरहनेगरी कारबाही गरेको थियो । पार्टी सदस्य नरहेपछि उनी सांसदबाट पदमुक्त भएकी थिइन् । अदालतको फैसला पनि उनका लागि प्रतिकुल नआएपछि राजनीति यात्राबारे सोधिएको प्रश्नमा गिरीले भनिन्, ‘तत्काल म कुनै पार्टी खोल्न वा आवद्ध हुनतिर लाग्दिनँ । सन् १८१६ को सन्धिको आधारमा अब मधेसको हक, हित र अधिकारको बारेमा पहिला म एउटा सामाजिक संवाद सुरू गर्छु । म सामाजिक काममा अभ्यस्त हुन्छु ।’

आफ्नो साथमा जनता रहेको भन्दै आफू एक्लो नभएको उनको भनाइ छ । ‘सम्पूर्ण कानुन मेरो पक्षमा छ तर एक व्यक्तिविरुद्ध पूरै राज्य लागेपछि के नै लाग्दो रहेछ र ? धेरै कुरा यसरी बुझौँ । जे होस्, अब मलाई विश्वास गर्ने जनताका पक्षमा बोल्छु, सक्रिय हुन्छु । जबसम्म मेरा साथमा जनता छन्, म एक्लो छैन,’ उनले भनिन् ।

यस्तो राजनीतिमा उचारचढावलाई उनले स्वभाविक रुपमा लिएको देखियो । गिरीले भनिन्, ‘राजनीतिमा उचारचढाव त आइहाल्छ नि ! हिजो साथ दिनेले आज छोड्छन्, आज साथ छोडेकाहरू भोलि फर्केर आउँछन् । तर, म आफ्नो विचार र अडानप्रति स्पष्ट, दृढ छु । मैले दल त्याग गरेकी होइन । म निस्कासित भएकी हुँ । जसपामा धेरै नेता छन् । मलाई हटाउँदा १ पद खाली हुन्छ । मलाई राख्दा संसदमा त छँदै छ, पार्टीमा समेत १ पद दिनुपर्ने हुन्छ ।’

सरिता गिरीको उदय

नेपाली काँग्रेसको पृष्ठभूमिबाट राजनीति शुरु गरेकी सरिता गिरी हृदयेश त्रिपाठीको सहयोगमा मधेशको राजनीतिमा आएकी हुन् । ०५२ मा स्व।गजेन्द्रनारायण सिंह नेतृत्वको नेपाल सद्भावना पार्टी विभाजन गरेर हृदयेश त्रिपाठी, रामेश्वर राय यादव र राजेन्द्र महतोहरुले गठन गरेको समाजवादी जनता दलमा केन्द्रीय सदस्यका रुपमा गिरी प्रवेश गरेकी थिइन् । तर उक्त पार्टीले एक वर्षमै फेरी नेपाल सद्भावना पार्टीसँग एकीकरण गर्यो । नेपाल सद्भावनामा पनि गिरीलाई केन्द्रीय सदस्य भइन् । २०६०,०६१ मा महाधिवशेनमा सद्भावना दुई टुक्रा भयो । महाधिवेशनबाट बद्री मण्डल अध्यक्ष भएपछि हृदयेश त्रिपाठीहरुले पार्टी फुटाएर नेपाल सद्भावना पार्टी (आनन्दी देवी) गठन गर्दा सरिता गिरी पनि आनन्दी देवी समूहतिर लागेकी थिइन् । आनन्दी देवी समूहमा गिरीलाई प्रवक्ता बनाइएको थियो ।

पछि बद्री मण्डलले राजीनामा दिएपछि नेपाल सद्भावना पार्टी र आनन्दी देवी समूहबीच एकीकरण भयो । एकीकरण भए पनि त्यो पार्टी कहिले स्थिर रहेन । त्रिपाठी तत्कालीन तमलोपातिर लागे, रामेश्वर यादव शुरुमै तत्कालीन मधेशी जनअधिकार फोरम नेपालमा गइसकेका थिए । सरिताले पार्टी छोडिनन् ।

बरु पार्टीमा श्यामसुन्दर गुप्ता गुप्ताको शैलीलाई विरोध गर्दै सरिता गिरी पार्टी कार्यालयमै आमरण अनसन बसिन् ।

नेपाल सद्भावना पार्टी ९आनन्दी देवी० को सरिता गिरी नेतृत्वमा पुगिन् । संघीय सद्भावना पार्टीका अध्यक्ष अनिल झाले सरिता गिरीसँग पार्टी एकीकरण भयो । पछि उनी पञ्जाछाप ब्राण्ड लिएर उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टीसँग एकीकरण पुगिन् । त्यो पार्टीबाट उनी समानुपातिक सांसद भइन् र संसदीय दलको उपनेता पनि भइन् ।

पहिलो संविधानसभामा पनि समानुपातिक सांसद बनेकी थिइन् । त्यही बेला उनी बाबुराम भट्टराई नेतृत्वको सरकारमा श्रममन्त्री समेत भएकी थिइन् । तर पदको दुरुपयोग गरेर भ्रष्टाचार गरेको भन्दै तत्कालीन प्रधानमन्त्री भट्टराईले मन्त्री पदबाट गिरीलाई बर्खास्त गरेका थिए ।

यतिबेला मधेस राजनीतिक शक्ति एक ठाउँमा आएर जनता समाजवादी पार्टी हुँदा उनी त्यसमा अटाउन सकिनन् । राजपा र समाजवादीबीच पार्टी एकताले पूर्णता नपाउँदै उक्त पार्टीले उनलाई ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । त्यसमा विरुद्ध निर्वाचन आयोगदेखि सर्वोच्च अदालतसम्म गुहारदा उनले आफ्नो पद जोगाउन सकिनन् ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...