जेलभित्रै मार्ने धम्की, सुरक्षाको माग गर्दै उजुरी
कारागारमा कैद भुक्तान गरिरहेका नेपालगञ्जका रिगल भनिने योग ढकाललाई मार्ने धम्की दिएर कारागारभित्र रहेका अर्का कैदीले १० लाख रूपैयाँ लिएकाे भन्दै विभिन्न ९ वटा निकायमा उजुरी परेकाे छ ।
मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारमा रहेका ढकाललाई ज्यान मार्ने धम्की दिएर कारागार ‘क’ ब्लकका नाइके डानियल लामाले १० लाख रूपैयाँ लिएकाे दाबीसहित ढकालपत्नी पूजाले मानवअधिकार आयोग, गृह मन्त्रालय, कारागार विभागदेखि नाैवटा निकायमा उजुरी हालेकी हुन् ।
पैसा नदिए कारागारभित्रै हत्या गरिदने धम्की दिएपछि आफूले पतिकाे ज्यान बचाउन १० लाख रुपैयाँ हेटौँडास्थित कारागारका नाइके डानियलकी दिदीको बैंक खतामा पठाएको उजुरीमा उल्लेख छ । उजुरीका साथमा उनले नगद जम्मा गरेकाे भाैचरसमेत राखेकी छन् ।
गुण्डा नाइके ढकाललाई कर्तव्य ज्यान मुद्दामा बाँके जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । उनले भीमफेदी कारागारमा करिब ६ वर्षदेखि कैद भुक्तान गरिरहेको जनाइएको छ ।
कारागारका नाइके लामा लागुऔषध ओसारपसार मुद्दामा १० वर्षको कैद सजाय खेपिरहेका छन् ।कारागार स्रोतका अनुसार लामाले अझै २० महिना जेलमै बस्नुपर्नेछ ।
‘मेरो श्रीमानले भनेअनुसार १९ माघ २०७६ मा पैसा पठाइदिएकी हुँ । मैले यत्रो पैसा किन भनेर सोध्दा त्यस्तै परेर हो, हाल्देऊ न, पछि भन्छु भन्नुभयो । अनि मैले पैसा पठाइदिएकी हुँ,’ ढकालपत्नी पूजाले शिलापत्रसँग फोनमा भनिन् । ‘मेरो श्रीमानलाई कारागारमा खतरा थियो । सरकारले कारागारमा सेना पठाएपछि उहाँले सुरक्षित महसुस गर्दै मलाई घटनाको विषयमा सबै भन्नुभयाे ।’
ढकाललाई ‘क’ ब्लकमा असुरक्षा भएको भन्दै भीमफेदी कारागार प्रशासनले ७ असारमा ब्लक ‘ख’मा सारेको छ । ‘मेरो श्रीमानलाई अर्को ब्लकमा सारेपछि ८ असारमा फोनबाट आफूलाई नाइके लामासहित १४/१५ जनाबाट खतरा भएको भन्दै पैसा हाल्दिएको जानकारी दिए । त्यसपछि मैले सबै निकायमा उजुरी दिएकी हुँ,’ पूजाले भनिन् ।
‘ढकाल र लामा कारागारको एउटै ब्लकमा थिए । उनीहरूबीच पैसा लेनदेनको कुरा रहेछ । विवाद बढ्दै गएपछि श्रीमतीले गृह मन्त्रालयमा मुद्दा हालेकी हुन्’, स्रोतले भन्याे ।
कारागार स्रोतका अनुसार लामाले पहिलेदेखि नै धम्क्याउँदै आएका थिए । ‘लामाले धम्की दिएको ढकालले बताएका छन् । पैसा दिन्नँ भनेपछि विवाद उत्कर्षमा पुगेको देखिएको छ’, स्रोतले भन्याे ।
भीमफेदी कारागार प्रशासनले नाइके लामाविरुद्ध परेको उजुरीको अनुसन्धान गरिरहेको बताइएकाे छ । कारागार स्रोतका अनुसार लामाले १० लाख रुपैयाँ लिएको स्वीकारेका छन् । ‘लामाले ढकालसँग १० लाख रुपैयाँ लिएको स्वीकारेका छन्, त्याे पैसा फिर्ता गर्छु भनेका छन् । तर, यो मितिभित्र दिन्छु भनेका छैनन्’, स्रोतले भन्याे ।
याे विषयमा छानबिन गर्न गृहबाटै निर्देशन आएको कारागार स्राेतकाे भनाइ छ ।
गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई घटनाको विषयमा सत्यतथ्य छानबिन गर्न निर्देशन दिइसकेको छ । प्रशासनले छानबिन भने सुरू गरेको छैन ।
ढकालले आफूसँग रहेको ३० हजार रुपैयाँ पनि चोरी गरेको आरोप लगाएका छन् । पैसा चोरी भएको विषयमा पनि अनुसन्धान भइरहेको जनाइएको छ । शिलापत्रले जनाएको छ ।


