दुई बर्षमा एकता नटुंग्याउने, चार महिनामा महाधिवेशन हुन्छ : बिष्णु रिजाल, केन्द्रीय सदस्य, नेकपा
नेकपा केन्द्रीय सदस्य तथा विदेश विभागका उपप्रमुख बिष्णु रिजालले दुई बर्षसम्म पार्टी एकतालाई टुंग्याउन नसक्ने नेतृत्वबाट चार महिनाभित्र पार्टी महाधिबेशन हुन्छ भनेर कसरी पत्याउने भन्दै नेताहरुलाई प्रश्न गरेका छन् । नेकपाको महाधिबेशनलाई लिएर यतिबेला पक्ष र विपक्षमा बहस चलिरहेका छन् ।
स्थायी कमिटीका सदस्य तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले ‘पार्टी महाधिबेशनबाट नपन्छिन आग्रह गरेलगतै रिजालले चार महिनाभित्र महाधिबेशन हुने पत्यारलाग्दो आधार नभएको प्रतिक्रिया दिएका छन् । सोमबार विहान मुख्यमन्त्री पोखरेलले पार्टी एकताका बेला २ बर्षमै एकता महाधिबेशन गर्छाै भन्ने नेताहरु ३ बर्षभित्र महाधिबेशन गरौभन्दा सकिदैन भनेर पन्छिन खोज्नु उचित नभएको’ बताएका थिए ।
जवाफमा रिजालले भनेका छन् ‘दुई बर्षसम्म केन्द्रीय आयोग(विभागलाई पूर्णता दिन नसक्ने, पार्टी सदस्यताको एकीकृत अभिलेखसम्म बनाउन नसक्ने र आफ्नो आलोचना हुन्छ भनेपछि बैठकै नबोलाउने नेतृत्वले चार महिनामा महाधिवेशन हुन्छ भन्दा अरूले पत्याइदिनुपर्ने ?’ नेता रिजालले ‘अहिले उत्पन्न समस्यालाई हल गरेर केन्द्रीय कमिटीले तोकेकै २०७७ चैत २५-३० को मितिमा महाधिवेशन गर्न कसले रोकेको छ र ?’ भन्दै प्रश्न पनि गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफुमा आइपरेको संकट टार्न अर्लि महाधिबेशनको प्रस्ताव पार्टी सचिवालय बैठकमा गरेका थिए । राजीनामाको मागलाई ओझेलमा पार्न ओलीले महाधिबेशनको कार्ड फालेका थिए । ओलीको महाधिबेशन कार्डले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई केही समय भूमरीमा राख्यो । तर लामो समय टिक्न सकेन ।
ओलीको कार्यशैलीप्रति परिचित पूर्व एमालेका नेताहरुले सजग बनाएपछि प्रचण्ड महाधिबेशनको भूमरीबाट बाहिर निस्किने प्रयास गरिरहेका छन् । तरपनि प्रचण्डले ओलीसँग गोप्य सम्झौता गरेको बिषय शंकाको घेरामै छ । ओलीले अर्लि महाधिबेशन गराएर नेतृत्व हस्तान्तरण गर्ने सचिवालय बैठकमा प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई प्रचण्डले पत्याएपनि अन्य नेताहरुले पत्याउन सकेनन् ।


