सस्तियो काठमाडौंमा घरभाडा, घरबेटी भन्छन्, ‘रुनु कि हास्नु भा’छ’



हाम्रो इकोनोमि

 

 

मकवानपुरकी पूर्णिमालामा काठमाडौंमा बस्न थालेको ५ वर्ष भयो। निजी विद्यालयमा सहयोगीको कामगर्ने पूर्णिमाका श्रीमान भने पसलमा सेल्समेनको काम गर्छन्।

लकडाउनका कारण दुवै जनाको रोजगारीमा समस्या भएको छ। विद्यालयहरु नखुल्दा पूर्णिमाको रोजगारी अनिश्चित छ भने उनका श्रीमानको काम सुरु भएको छ। श्रीमानको काम सुरु भएपछि पहिले बस्दै आएको डेरा सरेर अर्को घरमा गएका छन् उनीहरु।

‘त्यो भन्दा सस्तो पाइयो अनि डेरा सरेको हो,’ पूर्णिमाले भनिन्, ‘पहिला २ कोठाको १० हजार तिरेका थियौं। अहिले १० हजारमा २ कोठा १ किचेन छ। अनि सस्तो भएन त।’ श्रीमानको कमाइबाट नै सबै कुरा गर्नु पर्ने बाध्यता पूर्णिमालाई छ।

तर, दोलखाका रमेश शर्मा भने घर फर्कियौं झै भएको अनुभव सुनाउँछन्। श्रीमतीले फुटपातमा पसलगर्ने र आफूले ज्यालामजदुरी गर्ने रमेशलाई बस्ने डेराको भाडा तिर्न अफ्ठेरो परेको छ।

‘अफ्ठेरो छ नि अहिले त,’ रमेशले भने, ‘एक महिनाको छुट त पाइयो। अरु महिनापनि काम चलेको छैन। उनले (श्रीमती) पसल गर्थिन् आज गर्नै पाएकी छैनन्। मैले कमाएकोले खाने की भाडा तिर्ने?’

‘धन्न छोरा छोरीको स्कुल फिस तिर्न परेको छैन,’ दुई छोरा छोरीका बाबु रमेशले सुनाए, ‘५ सम्म त बोर्डिङमै पढाएका हौं। त्यसपछि पढाउन सकिएन। सरकारीमा पढ्छन्। अब सस्तोमा कोठा पाउछन् रे कोठा सर्नु पर्ला।’

एकातिर कोठा भाडा सस्तो भएकोले भाडामा बस्नेहरु खुशी छन् भने उता घरबेटीहरु पीडा बेग्लै छ। कोरोनाको कारण लकडाउन भएपछि घरमा बस्नेहरुको रोजगारी गुमेको र भाडा माग्नपनि अफ्ठेरो भएको उनीहरुको अनुभव छ।’

जोरपाटीको नयाँवस्तीमा चिटिक्क परेको ४ तलाको घर देखाउँदै केदार शर्मा भन्छन्, ‘देख्नेले यत्रो घर मात्र देखेका हुन्छन्। कोठामा बस्नेहरुले दिएको महिनाको भाडा उठाएर बैंकमा व्याज र किस्ता बुझाउँथे। आजभोलि अवस्था बिग्रिएको छ।’

‘भन्न त काठमाडौंको घरबेटी हुन् भन्छन्,’ शर्माले भने, ‘घरबेटी मात्र भएर के गर्नु बैंकबाट ऋण लिएर बनाएको यो घर व्याज तिर्दै ठिक्क हुन्छ।’ विदेशबाट ल्याएको पैसाले किनेको जमिन राखेर घर किनेको उनले सुनाए। दुई छोरा विदेशमा छन्। उल्टै उनीहरुलाई पैसा पठाउँ जस्तो भएको उनले दुखेसो पोखे।

उनीमात्र हैनन् चावहिलमा घर भएका राधेश्याम श्रेष्ठको पनि व्यथा उही छ। बाहिरबाट हेर्दा जस्तो भित्र नहुने उनले सुनाए।  ‘बाहिरबाट देखे जस्तो हुँदैन नि,’ उनले भने, ‘फागुनमा छोरी अष्ट्रेलिया पठाइयो। घरको ऋण त छँदै छ। छोरी पठाउँदाको ऋण थपिएको छ। पसलहरु चलेपछि भाडा उठाएर होला भनेको लकडाउनले रुनु कि हास्नु भा को छ।’

‘थुप्रै मान्छेहरुले काठमाडौं छोडे। घरभाडा सस्तियो। हामीलाई पनि सस्तो गराउनुस् नत्र घर सर्छौ भन्नुहुन्छ,’ श्रेष्ठ दुखेसो पोख्दै थिए, ‘अरु अरुका त के के जाति संघ संस्थाहरु छन् रे, उनीहरुले हेर्ने रे, हामी घरबेटीको त को हुँदो रै छ र? साँच्चि कतिकति बेला त रुनै मन लागेर आउँछ।’

लकडाउनका कारण काठमाडौं छोडेर गाउँ फर्किनेको संख्या बढ्दै गएपछि घरभाडा सस्तिएको हो। कोरोना कहर कहिले कमहुने र कहिले मान्छे फर्केर आउँने भन्ने नै निश्चित नभएकाले भएकालाई घटाएरै भएपनि कोठामा राख्न बाध्य भएको उनीहरुले सुनाए।

‘कोठामा राखेको सामानभन्दा भाडा बढी भइसक्यो,’ अर्की घरबेटी शान्ता ढकाल सुनाउँछिन्, ‘फोन त गर्नु हुन्छ कहिले कहिले तर आउने हुनकी हैनन् थाहा छैन। हामी घरबेटी सबै भन्दा बढी मर्कामा परेका छौं। कसले बुझिदिने यो समस्या।’

‘सरकारसँग के माग्नु खै ? मैले मागेर के दिन्थे र, कमसेकम बैंकको ऋणको व्याजतिर्न ताकेता नगरेको भएहुन्थ्यो होला,’ ढकालले भनिन्, ‘ताकेता गरिदिए पछि कताबाट ल्याएर तिर्नु। आम्दानीको श्रोत भनेकै भर भाडा हो। हाम्रो त खाने पनि भाडा उठाएरै हो। उस्तै परे खाना खान नसक्ने अवस्था आउलाझैं लागेको छ।’

प्रतिक्रिया दिनुहोस
ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...

सुनसरीमा गोली लागेका रवीन्द्र मेहताको निधन

    सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको...

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

    अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण...

नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...