राजनीतिक दुर्घटना हुने नेकपालाई कांग्रेसको चेतावनी



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका सांसद जीतेन्द्रनारायण देवले अंगीकृत नागरिकताका विषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको निर्णयले मुलुकलाई राजनीतिक दुर्घटनातिर लगेको बताएका छन् ।

सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै कांग्रेस सांसद देवले नेकपाको निर्णय अत्यन्त अदूरदर्शी, अपरिपक्व, मुलुकमा साम्प्रदायिक दंगा भड्काउने र प्रकारान्तरले मुलुकलाई नै विभाजनमा लैजाने खालको भएको टिप्पणी गरेका हुन् ।

गत शनिबार नेकपा सचिवालय समितिको बैठकले नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने निर्णय गरेको थियो । नेकपाको उक्त निर्णयअनुसार नै प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नेपाली नागरिकता दिने व्यवस्था राखेर नागरिकतासम्बन्धी विधेयक बहुमतले पास गरेको छ ।

तर कांग्रेस नेता देवले यो विषयले मुलुकलाई मुठभेड र गम्भीर राजनीतिक दुर्घटनातिर लैजाने बताए ।

नागरिकताको उक्त प्रावधानको विरोधमा वीरगञ्जदेखि राजविराजसम्म प्रदर्शन भइरहेको भन्दै नेता देवले कांग्रेस र मधेसवादी पार्टीलाई हेप्ने रणनीतिले दुर्घटना निम्त्याउने बताए ।
‘नेपाली कांग्रेस र अन्य मधेसवादी पार्टीलाई तपाईहरु यसरी हेप्ने, नेपाली कांग्रेस, मधेसवादी दललाई हेपेर तपाई एक्लै यो देश सञ्चालन गर्ने, सम्भव हुन्छ ?’ उनले भने ‘पोलिटिकल एक्सिडेन्ट हुन्छ । सहमति नतोड्नुस् ।’

२०६३ सालमा तत्कालिन मधेसवादी दल, एमाले, माओवादी र नेपाली कांग्रेसबीच राष्ट्रिय सहमतिका आधारमा नागरिकता ऐन बनेको भन्दै उनले अहिले एक्कासी यसलाई उल्ट्याउन नहुने देवले बताए ।

‘तपाईहरु गलत बाटोमा जानुभएको छ । तपाईहरुलाई लाग्दो हो । नयाँ जनवादी क्रान्तिको बेला आइसक्यो । चिनियाँ मोडलको समाजवाद स्थापना गर्ने बेला आइसक्यो । अब संविधान जेसुकै होस्’ उनले भने ‘तपाईहरुको निर्णय मस्ट एक्स्ट्रिमिस्ट (उग्रवादी) हो । तपाईंहरु उग्रवादमा फस्दै हुनुहुन्छ । तपाईंहरु अत्यन्त अपरिपक्व बाटोमा जाँदै हुनुहन्छ ।’

नेता देवले अगाडि भने, ‘मुलुकमा आगो लगाउने काम कांग्रेस र अन्य सबै पार्टीहरुसँग भिड्ने काम, मुलुकलाई बन्दी बनाएर सामन्तवादीहरुलाई मलजल गर्ने काम गर्दै हुनुहुन्छ ।’

नेता देवले यो निर्णयमा पुनर्विचार गर्न नेकपा नेताहरुलाई आग्रह गरे । ‘नभए भोलि कम्युनिस्ट एकातिर कांग्रेस र मधेसवादी अर्कोतिर भएर मुलुकलाई राजनीतिक धु्रवीकरणमा लैजाने मुठभेड गराउने र प्रकारान्तरले संघीय लोकतान्त्रिक गणतन्त्रलाई पल्टाइदिने दुर्घटनामा लगिदिने काम तपाईहरु नगर्नुस् ।’

कम्युनिस्ट पार्टीले नेपालले भारत र चीनसँग समदूरीमा सम्बन्ध राख्ने भने पनि यो निर्णयले चीनतर्फ ढल्काएको नेता देवले बताए ।

‘तपाईंहरुको २ वर्षको क्रियाकलापमा तपाईहरु समदूरीको सिद्धान्तमा रहनुभएन । तपाईहरुको फरेन पोलिसी एकपाखे भयो । एउटा छिमेकीतिर तपाईंहरु लैजादै हुनुहुन्छ’ उनले भने ‘तपाईको पार्टीले लानोस् हामीलाई भन्नु केही छैन, तपाईहरु ५० चोटी मिटिङ गर्नुस् चिनियाँ कम्युनिस्ट पार्टीसँग हमीलाई भन्नु केही छैन । तर यो राष्ट्र चाहिँ समदूरीकै सिद्धान्तमा जानुपर्छ । चीन र भारतसँग मित्रताको सम्बन्ध कसैलाई अगाडि, पछाडि गर्नुहुन्न ।’

नेकपाको निर्णयले २००७ सालदेखि नेपालमा स्थापित परराष्ट्र सम्बन्धमै प्रहार भएको नेता देवले बताए । सत्तारुढ दलले नेपाललाई चीनको क्याम्पमा लगेको सन्देश प्रवाह भइरहेको पनि उनले बताए ।

‘२००७ सालदेखि फरेन पोलिसीको फन्डेसनमा सत्ताधारी पार्टीले पछि अर्को प्रहार गर्दै लगेको छ’ उनले भने ‘अब हामी चिनियाँ क्याम्पमा गयौं भन्ने म्यासेज गइरहेको छ । के यो ठीक भइरहेको छ । यसले यो मुलुकको डेमोक्रेसीलाई संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो गर्छ । हाम्रो आन्तरिक राष्ट्रवादलाई बलियो गर्छ ?’ उनले भने ।

नेपाल र भारतबीच सदियौंदेखि साँस्कृतिक सम्बन्ध रहेको भन्दै यसमाथि आक्रमण नगर्न पनि नेता देवले सचेत गराए । ‘राजनीतिक भनेको माइन्डले चल्छ, तर कल्चरल रिलेसन हर्ट टु हट हुन्छ, हदयको सम्बन्ध हो त्यो । कसैको संस्कृतिमाथि आक्रमण गर्ने तपाईलाई कुनै अधिकार छैन’ उनले भने ।

कम्युनिस्ट पार्टीभित्र विहार र उत्तर प्रदेशमा नेपालका मधेसी समुदायको सम्बन्धले गर्दा उताबाट आउने बुहारीले नेपालको राष्ट्रियता खतरामा परेको भन्ने ब्याख्या हुने गरेको नेता देवले बताए ।

‘त्यसैले नेपालको राष्ट्रियतालाई बचाउनका निमित्त विहार र युपीसँग नेपालका मधेसीहरुको वैवाहिक सम्बन्धलाई प्रकारान्तरमा योजनावद्ध र व्यवस्थित ढंगले विस्तारै विस्तारै तोड्नुपर्छ समाप्त गर्नुपर्छ भन्ने नेकपाको मान्यता हो’ उनले भने ।

नेपाल र भारतको सम्बन्ध कुनै पार्टीले स्थापना नगरेको भन्दै नेता देवले जबर्जस्ती विहाबारी रोक्ने हिसाबले अघि बढ्नु राजनीतिक दुर्घटना निम्त्याउनु भएको उनले बताए ।

‘बाई फोर्स भारतसँगको सम्बन्ध कट गर्ने भन्ने मानसिकता पालेर चिनियाँको झोलामा नेपाललाई लैजाने भन्ने मानसिकता पालेर क्लासिकल आइडोलोजीको आधारमा जुन काम गर्दै हुनुहुन्छ । भोलि राजनीतिक दुर्घटना भयो भने तपाईहरु मिलेर सँगै जेल जानुपर्छ’ नेता देवले भने ।

विहार र युपीसँगको वैवाहिक सम्बन्ध तोडेर नेपालको राष्ट्रियता बलियो हुन्छ भन्ने चिन्तन खोक्रो राष्ट्रवादी भएको उनले बताए । ‘यो निर्णय एन्टी नेसनालिजम, एन्टी मधेसी नेस्नालिजममा आधारित छ । यो प्रगतिशील पार्टीले राख्ने मानसिकता होइन, मार्क्सवादी, लेनिनवादी अन्तर्राष्ट्रिष्य वादी कम्युनिस्टले राख्ने मानसिकता होइन, त्यो मानसिकता अत्यन्त मण्डलेवादी राष्ट्रवाद हो’ नेता देवले भने ।

प्रतिक्रिया दिनुहोस
४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...

गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने

    आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा हुने समारोहमा प्रधानमन्त्री बालेन्द्र...

एकता कायम गर्दै सकियो एमाले सचिवालय बैठक

    एकताको सन्देश प्रवाह गर्दै नेकपा (एमाले) को सचिवालय बैठक सकिएको छ...

भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...