सरकार चन्दा उठाउँदै, मन्त्रीले किने दुई करोडको गाडी



हाम्रो इकोनोमि

 

बजेट अभावले प्रदेशवासीलाई राहत वितरण रोकिएको वेला प्रदेश १ का एक मन्त्रीले दुई करोडबराबरको गाडी खरिद गर्न लागेका छन् । लकडाउनका वेला आफ्ना लागि दुई करोड सात लाख ५० हजारको गाडी किन्न लागेका मन्त्री जगदीश कुसियत प्रदेश १ सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार समितिको आपूर्ति व्यवस्था संयोजक पनि हुन् ।

कोभिड संक्रमणले आर्थिक क्षति पुर्‍याउने भएकाले गाडीलगायतका विलासिताका सामग्री खरिद नगर्ने स्पष्ट नीति भए पनि प्रदेश १ का वन, वतावरण, उद्योग तथा पर्यटनमन्त्री कुसियतलाई सरकारी नीतिले प्रभावित गरेको छैन ।

देशमा ११ चैतबाट लकडाउन सुरु भएको हो भने मन्त्री कुसियतले नेतृत्व गरेको मन्त्रालयले पहिलोपटक १८ चैतमा सूचना प्रकाशित गरेर गाडी खरिद गर्न टेन्डर मागेको थियो । यो देशमा कोभिड संक्रमण फैलिएर जनताले दुःख पाए पनि खरिद प्रक्रिया रोकिएन । बरु, १२ जेठमा मन्त्रीका लागि दुई करोड सात लाखको गाडी खरिद गर्ने टुंगो लागेको छ । यही वेला मन्त्रालयका लागि ८५ लाख मूल्यबराबरका दुईवटा पिकअप भ्यान पनि खरिद हुँदै छ ।

मन्त्रालयका प्रवक्ता अनिरुद्धकुमार साहले प्रदेशका अन्य मन्त्रीहरूले चढेअनुसारको गाडी मन्त्री कुसियतले पनि चढ्न लागेकाले यसलाई अन्यथा मान्न नहुने बताए । ‘अहिले मन्त्रीज्यू पुरानै गाडी चढिरहनुभएको छ, अरू मन्त्रीको नयाँ गाडी छ । सबैको समान होस् भनेर नयाँ गाडी खरिद गर्न लागिएको हो,’ उनले  भने ।

तर, प्रदेश १ को सरकारले कोरोनाको संक्रमण रोकथाम तथा उपचारका लागि सहयोग जुटाउन ‘प्रदेश १ कोरोना जनसुरक्षा कोष’ स्थापना गरेको छ । महामारीविरुद्धको लडाइँमा सरकारलाई सहयोग गर्दै विभिन्न संघसंस्था र व्यक्तिले कोषमा दुई–चार लाखदेखि दुई–चार हजारसम्म सहयोग गरेका छन् ।

१९ जेठसम्म यो कोषमा १९ करोड ४३ लाख ३६ हजार पाँच सय ८० रुपैयाँ जम्मा भएको छ । त्यसमध्ये खर्च भएकोबाहेक १९ जेठसम्म यो कोषमा ११ करोड ५७ लाख ७६ हजार चार सय ३० बाँकी छ ।

एक–एक रुपैयाँ जुटाउन प्रदेश सरकारले सार्वजनिक रूपमै अपिल गर्दै आएको छ । प्रदेश १ को मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयले १२ चैतमा सूचना निकाल्दै ‘प्रदेश १ कोरोना जनसुरक्षा कोष’मा रकम जम्मा गर्न व्यक्ति र संघसंस्थालाई आह्वान गरेको थियो । सहयोग कसरी जुटाइएको छ भने प्रदेश संग्रहालय धनकुटामा कार्यरत कर्मचारीले एकमुष्ट १९ हजार सात सय ९६ रुपैयाँ कोषमा जम्मा गरेका छन् ।

प्रदेश १ मा अहिलेसम्म एक सय ६८ मा संक्रमण देखिएको छ भने ४८ जना निको भएर घर फर्केका छन् ।  प्रदेश १ को सरकारका अनुसार प्रदेशमा बुधबारसम्मको अवस्था हेर्दा क्वारेन्टाइन बेड संख्या १० हजार दुई सय २०, आइसोलेसन बेड संख्या चार सय २८, आइसियू संख्या चार सय ४४ मात्रै छ । प्रदेशमा पिपिई सेट तीन सय ६१ मात्रै मौज्दात छन् ।

उता कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले किनेको एक करोड ७२ लाखको भुक्तानीको विषयमा अन्योल कायमै छ । गाडी किन्न सूचना निकालेर सहमति मागेको भन्दै प्रदेशको आर्थिक मामिला मन्त्रालयले आपत्ति जनाएको छ भने गाडी बिक्रेताले ताकेता गरिरहेको छ ।

 

शाहीले किनेको गाडीको विषयमा नयाँ पत्रिकाले बुधबार समाचार प्रकाशित गरेको थियो । प्रदेशका आर्थिक योजनामन्त्री प्रकाश ज्वालाले भने गाडीको भुक्तानीका लागि आफूले मन्त्रिपरिषद्मा प्रस्ताव नलगेको स्प्पष्ट पारेका छन् ।

‘मैले त्यस्तो प्रस्ताव मन्त्रिपरिषद्मा लगेको छैन, अर्को कुरा सभामुखले गाडी किन्नुभन्दा अघि नै खरिद निर्देशिका संशोधन भएको हो । पहिलेको निर्देशिकामा क, ख, ग वर्गीकरण गरिएको थियो । । तर, सरकारी पदाधिकारीबीच वर्गीकरण किन गर्ने भनेर त्यो प्रावधान हटाइएको हो,’ उनले नयाँ पत्रिकासँग भने ।

पहिलेको निर्देशिकामा बढीमा ७० लाखसम्मको गाडी किन्न सकिने भन्ने थियो, तर अहिले सभामुखले एक करोड ७२ लाखको गाडी किनेका छन् जसको भुक्तानी भएमा बेरुजु र भ्रष्टाचार ठहर हुन सक्ने भनेर कर्मचारी हच्किएका छन् ।

प्रतिक्रिया दिनुहोस
संवेदनशील विषयमा ‘लफङ्गो’ पाराले बोल्नु हुदैन : गगन थापा

     नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारका मन्त्रीहरूले संवेदनशील विषयमा बेला बेलामा...

प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ

    प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्...

प्रेस स्वतन्त्रता हनन हुदैन : सञ्चारमन्त्री

    सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने...

ब्लु बसभन्दा व्यवस्थापन र गुणस्तरमा सुधार गरियोस् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सरकारले सञ्चालनमा ल्याउन लागेको ब्लु बसको...