कोरोना महामारीमा सरकारका सचिवलाई ६ लाखको सोफा



हाम्रो इकोनोमि

 

सरकारले कोरोनाभाइरस महामारीका कारण आर्थिक गतिबिधि ठप्प भएपछि अत्यावश्यक बाहेकका शीर्षकमा बजेट रोक्का गरे पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भने धमाधम महँगा महँगा फर्निचर, सोफा र पार्केटिङ गर्ने कार्य भइरहेको छ । सचिव सूर्यप्रसाद गौतमले आफ्नो कार्यकक्षमा ६ लाख ७५ हजार रुपैयाँको त सोफा र टेबल फेर्न लगाएका छन् । भइरहेका सोफा र फर्निचरले नै काम चलाउन सकिने खालका थिए । केही पनि भएका थिएनन् । तर सचिव गौतमले कमिसनकै लागि अर्थमन्त्रालयको परिपत्र विपरीत मन्त्रालयमा करोड भन्दा बढीको फर्निसिङ र कार्पेटिङ गरेका छन् ।

विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण नेपाल पनि प्रभावित भई देशभर बिषम परिस्थिति उत्पन्न भएकाले सरकारको २०७६ चैत १९ को निर्णय अनुसार अर्थमन्त्रालयले १४ शीर्षकमा बजेट रोक्का गरेको थियो । कोरोना भाइरसको महामारीबाट नागरिकको जीवन बचाउन लकडाउन गरिएकाले राजस्व संकलनमा असर परेको जनाउँदै अत्यावश्यक नभएका १४ शीर्षकको बजेट अर्थमन्त्रालयले रोक्का गरेको थियो ।

अर्थमन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले चैत २० मा सबै मन्त्रालयका सचिवलाई सम्बोधन गरी विनियोजन ऐन, २०७६ बमोजिम चालु आर्थिक बर्षको बजेटमा समावेश गरिएका कतिपय कार्यक्रम हाललाई स्थगित गरी विभिन्न निकायहरुमा विनियोजित बजेटलाई आवश्यकता अनुुसार कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण लगायतका प्राथमिकताप्राप्त अन्य क्षेत्रमा समेत उपयोग गरी स्रोत ब्यवस्थापन गर्नुपर्ने भएकाले बजेट रोक्का गरिएको परिपत्र गरेका थिए । तर त्यो परिपत्रको बर्खिलाप संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव गौतमले जेठमा आफ्नो कार्यकक्षमा ६ लाख ७५ हजारको सोफा र फर्निचर जडान गरेका छन् । उनले प्रशसन सुधार, जनशक्ति योजना तथा विकास महाशाखा, कर्मचारी प्रशासन महाशाखा, संघीय मामिला महाशाखा, योजना तथा विकास सहायता समन्वय महाशाखा लागयतका महाशाखामा समेत फर्निचर र अत्याधुनिक सोफा खरिद गरी जडान गर्ने कार्य जेठमा पनि जारी छ ।

Samanya-New.jpg

केही पनि नभएका यी सोफा र फर्निचर संघीय मामिला मन्त्रालयको प्यासेजमा यत्रतत्र फाली नयाँ फेरिएको छ ।

श्रीमती इन्दिरा ढकाललाई लोकसेवा आयोगको परीक्षामा समेत सेटिङ गरी पास गराएको आरोप लागेका सचिव गौतमको कार्यकक्षका अलावा महाशाखा प्रमुख(सहसचिव)हरुको कार्यकक्षमा लाखौं लाख मूल्य पर्ने सोफा, फर्निचर र पार्केटिङ गर्ने कार्य भइरहेको छ । महाशाखामा रहेका केही नभएका सोफा र फर्निचरले काम नचलाई करोडौंको फर्निचर र पार्केटिङ गर्ने काम सचिव गौतमले गरेका छन् । केही पनि नभएका सोफा र फर्निचरहरु महाशाखाको प्यासेजमा यत्रतत्र छरपष्ट राखिएको छ । सरकारी बजेटको दुरुपयोग कसरी हुन्छ भन्ने दृष्टान्त संघीय मामिला मन्त्रालयमा यत्रतत्र फालिएका सोफा र फर्निचर नै हुन् ।

अर्थमन्त्रालयको परिपत्र बिपरीत लकडाउनमा फर्निचर र पार्केटिङ गर्ने क्रममा पनि उनले घुस खान नछाडेको आरोप सचिव गौतममाथि छ । कोरोना महामारीमा नागरिक क्वारेन्टाइनमा खान नपाएर भागिरहेका छन्, किट अभावमा परीक्षण भनेको समयमा हुन सकिरहेको छैन । तर अर्थमन्त्रालयको परिपत्रविपरीत फर्निसिङ र पार्केटिङ गरिएकोबारेमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्तकुमार अधिकारीसँग प्रतिक्रियाका लागि पटक पटक प्रयास गर्दा पनि उनी सम्पर्कमा आएनन् ।

के के मा रोकिएको थियो बजेट ?

अर्थमन्त्रालयले चैत २० मा गरेको परिपत्रमा बजेट रोक्का गरिएका १४ शीर्षकहरुमा सेवा र परामर्श खर्च, कर्मचारी तालिम खर्च, कार्यक्रम खर्च, सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च, विविध कार्यक्रम खर्च, अनुगमन, मूल्यांकन खर्च(अति आवश्यकबाहेकको) भैपरी आउने चालु खर्च, छन् ।
त्यसैगरी सवारी साधन, मेसिनरी तथा औजार, फर्निचर तथा फिक्चर्स, कम्प्युटर सफ्टवेयर निर्माण तथा खरिद खर्च एवं अन्य बौद्धिक सम्पत्ति प्राप्ती खर्च, पूँजीगत अनुसन्धान तथा परामर्श खर्च, जग्गा प्राप्ती खर्च र भैपरी आउने पूँजीगत खर्चमा बजेट रोक्का गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...