लिपुलेकबाट व्यापारिक मार्ग चलाउन बेइजिङमा गोप्य सम्झौता



हाम्रो इकोनोमि

 

भारतले नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी क्षेत्र समावेश गरेको ६ महिनापछि नेपाली भूभाग व्यास र गुन्जी हुँदै लिपुलेकसम्मको सडकमार्ग उद्घाटन गरेको छ । पाँच वर्षअघि भूकम्पले नेपाल अस्तव्यस्त भएको वेला भारत र चीनले नेपालसँग सल्लाह नै नगरी लिपुलेक पासबाट व्यापारिक मार्ग बनाउने सहमति गरेकोमा अहिले कोरोना महामारीबीच भारतले सडकमार्ग उद्घाटनसमेत गरेको छ ।

भारतका रक्षामन्त्री राजनाथ सिंहले दार्चुलापारि भारतीय जिल्ला धार्चुला सदरमुकाम पिथौरागढबाट लिपुलेक नाका जोड्ने ८० किलोमिटर सडक शुक्रबार उद्घाटन गरेका छन् । सिंहले भिडियो कन्फ्रेन्समार्फत दिल्लीबाट सडक उद्घाटन गरेपछि पिथौरागढबाट गाडीहरू उकालो लागेका थिए । ती गाडी व्यास, गुन्जी हुँदै लिपुलेकतर्फ गएका छन् । व्यास, गुन्जी र लिपुलेक नेपाली भूमि भएको ऐतिहासिक प्रमाण नेपालसँग छ, तर भारतले कब्जा गरेर ५८ बर्षदेखि कालापानीमा फौज (इन्डो–टिबेटियन बोर्डर पुलिस–आइटिबिपी) नै राखेको छ ।

‘कैलाश मानसरोवर यात्रा रुटका रूपमा राजमार्ग उद्घाटन गर्न पाउँदा म खुसी छु,’ भारतका रक्षामन्त्री सिंहले ट्विटरमा भनेका छन् । सुरक्षाकर्मीलाई चीनको सीमासम्म पहुँच कायम भएको र गाउँमा पनि बाटो पुगेको भारतीय रक्षामन्त्रीको तर्क छ । सकड निर्माण १७ अप्रिलमै सम्पन्न भए पनि उद्घाटन शुक्रबार भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

शुक्रबार उद्घाटन भए पनि भारतले सो क्षेत्रमा सडक निर्माण सन् २००८ बाटै सुरु गरेको थियो । तर, सन् २०१५ (२०७२) मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीन भ्रमण गर्दा लिपुलेकबाट दुई देशबीच व्यापार गर्ने सम्झौता भएको थियो । लिपुलेक मात्र होइन, त्योभन्दा पश्चिम लिम्पियाधुरासम्म नेपाली भूमि हो, त्यसमा नेपालको दाबी छ भन्ने जान्दाजान्दै पनि दुई छिमेकीले नेपालको सार्वभौम संवेदनशीलताको वास्तै नगरी सम्झौता गरेका थिए ।

चीनसँगको समझदारीलगत्तै भारतले गुन्जीमा ‘ट्रेड अफिस’ स्थापना गरेको छ । सो कार्यालयको सुरक्षार्थ इन्डो–तिब्बतीयन बोर्डर पुलिसको मिठी चौकी परिचालन भएको छ । जुन १ देखि अक्टोबर ३१ सम्म लिपुलेक हुँदै भारत र चीनबीच बर्सेनि व्यापार भइरहेको छ । चीनसँगको सम्झौतापछि भारतले सडक निर्माणलाई दु्रत बनाएको थियो ।

त्यसो त भारत र चीनबीच भने लिपुलेकबारे यसअघि पनि सहमति भएको थियो । कैलाश मानसरोवर यात्राका लागि लिपुलेक पासबाट आवतजावत गर्न दिने विषयमा सन् १९५४ अप्रिल २९ मा भारत र चीनबीच सहमति भएको थियो ।

धार्चुलाबाट व्यासी पुग्न पाँच दिन लाग्ने गरेकोमा सडकमार्ग बनिसकेपछि चार घन्टामा पुग्न सकिने छ । भारतले हीरक नाम दिएर सडक आयोजना सम्पन्न गरेको हो । आयोजनाका प्रमुख इन्जिनियर विमल गोश्वामीले हिन्दुस्तान टाइम्सलाई भनेका छन्, ‘अब दिल्लीबाट लिपुलेक पास दुई दिनमा पुग्न सकिन्छ । दिल्लीबाट लिपुलेक पासको दूरी ७५० किलोमिटर छ । सिक्किमको नाथुला र नेपालको हुम्ला हुँदै कैलाश जाने रुटभन्दा लिपुलेक छोटो र आर्थिक रूपमा तीर्थयात्रीहरूलाई सस्तो पर्छ ।’

भारत र चीनबीच व्यापार हुने भनिए पनि अहिलेको अवस्थामा चिनियाँ सामान भारत नै पुर्‍याउने हो, त्यसैले लिपुलेक नेपाली भूमि हो भन्ने जान्दाजान्दै पनि व्यापारिक स्वार्थका कारण चीनले भारतलाई समर्थन गरेको छ । उता भारतले व्यापार मात्र होइन, कैलाश मानसरोवर जाने यात्रुलाई पनि सडकबाटै लिपुलेकसम्म पुर्‍याउने उद्देश्यले यो सडक निर्माण गरेको हो । लिपुलेक पासबाट कैलाश मानसरोवरको दूरी ९७ किलोमिटर छ । दिल्लीबाट रक्षामन्त्री सिंहले सडकमार्ग उद्घाटन गर्दै अब कैलाश मानसरोवर जान भारतीय तीर्थयात्रुलाई थप सहज भएको बताएका छन् ।

भारत सरकारको बोर्डर रोड अर्गनाइजेसन (बिआरओ)ले सडक निर्माण गरेको हो । सडकका लागि सन् २०१८ मा केन्द्र सरकारले चार अर्ब ३९ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको थियो । इन्डो–चाइना बोर्डर रोड परियोजनालाई भारतको ‘क्याबिनेट कमिटी अन सेक्युरिटी’ले बजेट दिएको हो ।

भारतीय पक्षले कालीनदीको पारिपट्टि सडक निर्माण भएकाले नेपालले चिन्ता गर्नुपर्ने अवस्था नभएको बताउँदै आएको छ । तर, कालीनदीको मुहानकै विषयमा ऐतिहासिक तथ्य र भारतीय तर्कमा विरोधाभाष छ । व्यासको छाङरुभन्दा माथि लिम्पियाधुराबाट निस्किएको नदी कालीनदी हो भन्ने ऐतिहासिक प्रमाण छन् । त्यसैले नेपालको सिमाना लिम्पियाधुरासम्म हो । स्थानीय भाषामा कुटी–याङ्दी (कालीनदी)लाई नै सीमानदी मान्दा गुन्जी र नाभी कालीवारि नेपालमा पर्छन् ।

नेपाल र भारतबीच सन् १८१६ मा सुगौली सन्धि भएको थियो, सन्धिको धारा ५ अनुसार नेपालको पश्चिममा कालीनदी भारतसँगको सिमाना हो । भारतले पनि सन् १८६० सम्म लिम्पियाधुराबाट निस्किएको नदीलाई नै कालीनदी मानेको थियो । तर, त्यस्को एक सय वर्षपछि सन् १९६२ मा चीनसँगको युद्धका लागि नेपाली भूमि प्रवेश गरेको भारतीय फौज फर्किएन । नेपाली भूमिमाथिको कब्जालाई वैध बनाउन भारतले लिम्पियाधुराभन्दा पूर्व लिपुलेकबाट बग्ने नदीलाई काली भनेर व्याख्या गर्न थाल्यो । यसरी भारतले लिम्पियाधुरादेखि लिपुलेकसम्मको ३१० वर्गकिलोमिटर भूमि कब्जा ग¥यो, यति ठूलो भूभाग ५८ वर्षदेखि भारतको नियन्त्रणमा छ ।

भारतले लिपुलेकभन्दा पनि अझै पूर्व बढेर नेपाली भूमि कालापानीमा बंकरसहित ब्यारेक स्थापना गरेको छ । अहिले त्यहाँ भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आइटिबिपी)को संरचना छ ।

लिम्पियाधुराबाट निस्किएको नदी कालीनदी मान्ने ऐतिहासिक तथ्यहरूअनुसार गुन्जी र नाभीजस्ता गाउँ नेपाली हुन् । नेपालले ती गाउँमा जनगणना पनि गराएको थियो । भारतीय फौज कालापानीमा आएपछि ती गाउँसँग नेपालको प्रशासनिक सम्बन्धविच्छेद भएको हो । लिपुखोला नै कालीनदी मान्ने हो भने ती गाउँ कालीनदीभन्दा पश्चिममा पर्छन् । त्यसैले कालीपारि बाटो बन्दा नेपालले चिन्ता गर्नु नपर्ने भारतीय भनाइ छ । ती गाउँ हुँदै भारतले अहिले सडक लिपुलेक पु¥याएको छ । दुवै नदी छाङरुमा आएर मिसिन्छन् र त्योभन्दा तलको कालीनदीमा भने विवाद छैन ।

लिम्पियाधुराबाट निस्किएको कालीनदीदेखि लिपुलेकबाट निस्किएको खोलासम्मको भूभाग भारतले कब्जा गरेको छ । सन् १९६२ मा चीनसँग भएको युद्धदेखि नै भारतले नेपाली भूमि कालापानीमा अर्धसैनिक बलको ब्यारेक राखेको छ । कालापानीमा हाल इन्डो–टिबेटियन बोर्डर पुलिस (आइटिबिपी)को ब्यारेक छ जसले सीमा सुरक्षा र लिपुलेक हुँदै तिब्बतको कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्रीको सुरक्षा हेर्छ ।

भारतले १४ कात्तिकदेखि जम्मु–कस्मिर र लद्दाखलाई अलग–अलग दुई केन्द्र शासित बनाउने निर्णय कार्यान्वयन गरेको थियो । त्यसको दुई दिनपछि (१६ कात्तिकमा) जारी गरेको नयाँ राजनीतिक नक्सामा सुदूरपश्चिम नेपालको कालापानी पनि भारतमा गाभिएको छ । भारतले सो नक्सा सार्वजनिक गरेपछि नेपालले कूटनीतिक नोट पठाउँदै आपत्ति प्रकट गरेको थियो । तर, विवाद समाधान गर्न संवाद गरौँ भन्ने नेपालको प्रस्तावलाई वास्तै नगरी भारतले सडकसमेत उद्घाटन गरेको छ ।

अतिक्रमित भूमि कालापानी र सुस्ताको विवाद समाधान गर्न नेपाल र भारतका परराष्ट्रसचिवस्तरीय संयन्त्र पनि बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओली भारत जाँदा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा यो विषयमा छलफल गर्न परराष्ट्रसचिवलाई जिम्मा दिइएको थियो । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको पछिल्लो बैठकले पनि सुस्ता र कालापानीका विषयमा परराष्ट्रसचिवस्तरीय संयन्त्रमा छलफल गर्न निर्देशन दिएको थियो । तर, आजसम्म यो विषयमा परराष्ट्रसचिवहरूबीच छलफल भएको छैन ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...