सांसद सेल्फ आइसोलेसनमा बस्नुपर्ने, यस्ता छन् आचारसंहिता



 

संसद् अधिवेशनमा सहभागी सांसदहरू आफ्नै घरमा सेल्फ आइसोलेसनमा बस्नुपर्ने नियम बनाइएको छ । पीसीआर विधिबाट कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएका सांसदहरू मात्र बैठकमा भाग लिनेछन् ।

यसबीचमा जिल्ला र निर्वाचन क्षेत्रमा घुमिरहेका सांसदहरु कोरोना परीक्षणपछि भने जिल्ला जान पाउने छैनन् । घरमा पनि सेल्फ आइसोलेसनमा बस्नेछन । सांसदहरु विगतमा जसरी भीडभाड गरेर बैठक कक्षमा प्रवेश गर्न पाउने छैनन् । सामाजिक दूरी कायम गरेर पालैपालो प्रवेश गर्नुपर्नेछ ।

अनिवार्य रुपमा सर्जिकल मास्कको प्रयोग गर्नुपर्ने नियम पनि बनाइएको छ । भित्र पस्ने ढोकानजिकै साबुन र पानी राखिनेछ ।

प्रत्यक सांसदको टेबुलमा सेनिटाइजर राखिने छ भने बैठक सुरु हुनुअघि हरेक दिन ज्वरो जाँच गरिनेछ । कसैलाई एक सय डिग्रीभन्दा बढी ज्वरो आएको पाइएको खण्डमा संसद् भवनमै रहेको आइसोलेसन वार्डमा राखेर अस्पताल पठाइनेछ । संसद् भवन परिसरमा एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ ।

चिकित्सकहरुको सुझावका आधारमा संघीय संसदको कार्यव्यवस्था परामर्श समिति र संसद् सचिवालयले संयुक्त रुपमा यस्ता विषयलाई समेटेर बैठकमा सहभागी हुनेहरूका लागि आचारसंहिता बनाएको छ ।

उक्त आचारसंहितामा बैठक अवधिभर काठमाडौं छाड्न नपाउनेदेखि घरमा एकान्तवासको नियमहरुको पालना गर्नुपर्नेलगायत छन् ।

यस्ता छन् आचारसंहिता

· सबै सहभागीहरुले बैठक कक्ष प्रवेश गर्दा अनिवार्य रुपमा साबुन पानीले हात धुनु पर्नेछ ।

· मेडिकल मास्कको प्रयोग बैठक अवधिभर सबैले अनिवार्य रुपमा गर्नुपर्नेछ ।

· आफूलाई स्वास्थ्यसम्बन्धी कुनै पनि समस्या (ज्वोरो, खोकी, थकान, शरीर दुखाइ) देखापरेमा तुरुन्त स्वास्थ्यकर्मीलाई खबर गर्नुपर्नेछ ।

· सकेसम्म सहयोगी नलिई आउनुपर्नेछ
· बैठक अवधीभर घरमा गई स्वयम् एकान्तवासको नियमहरुको पालना गर्नु पर्नेछ ।
· संसद अधिवेशनभर काठमाडौंमै रहनुपर्नेछ ।

यो आचारसंहिताबारे सांसदहरुलाई औपचारिक/अनौपचारिक जानकारी गराइएको छ । मास्कको प्रयोग गर्नुपर्ने जस्ता विषयमा पर्चा बनाएर भवन परिसरमा टाँसिएको छ ।

प्रधानमन्त्री एक्लै बस्ने

यस वर्षको बजेट अधिवेशनमा अघिल्ला वर्षको भन्दा नितान्त फरक दृष्य हुनेछन् । कोरोना भाइरस संक्रमणको जोखिमका कारण सांसदहरुको आसनदेखि आम रुपमा रोष्ट्रम प्रयोग नगर्नेसम्मका विषयलाई प्राथमिकतामा राखिएको छ ।

प्रधानमन्त्रीलाई एक्लै राख्नेदेखि दर्शकलाई बैठक कक्षमा रोक्ने, संवैधानिक अंगका प्रमुखहरु, कूटनीतिक नियोगका प्रमुखहरुलाई नबोलाउनेसम्मका छन् ।

केही समयअघि मात्रै दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिँदै उनको आसननजिकका कुर्सी खाली राख्ने व्यवस्था मिलाइएको छ । सरकारको बेञ्चको पहिलो र दोस्रो लाइन खाली हुनेछन् ।

सांसदहरुलाई दुई/दुई कुर्सी छाडेर राखिनेछ । सांसदहरुलाई छलफलमा भाग लिँदा ड्यासमा जानुपर्ने बाध्यता हट्ने छ । शून्य समयमा र विशेष समयमा जस्तै सांसदहरुले आफू बसेकै ठाउँमा रहेर बोल्नेछन् ।

बैठक कक्षभित्र अपनाइने सर्तकताका उपायहरु

· सांसदहरु तोकिएको कुर्सीमा मात्र बस्नु पर्नेछ । अधिवेशन अवधिभर एउटै सिटमा बस्ने ।

· सकेसम्म समूहगत छलफल नगर्ने, गर्नै परेको अवस्थामा भौतिक दूरीको अनिवार्य पालना गर्नुपर्ने ।

· बैठक हलबाट बाहिर निस्कनु परेमा पुनः प्रवेश गर्दा साबुन–पानी वा स्यानिटाइजरको प्रयोग अनिवार्य गर्नुपर्ने ।

· प्रधानमन्त्री, मन्त्री, सभामुख र दलको नेताबाहेक अन्य सांसदले आम रुपमा रोष्टम प्रयोग नगर्ने ।

· संसद भवनमा प्रवेश गर्दा र फर्कंदा फरक ढोकाको प्रयोग गर्ने ।

· दर्शकदीर्घामा कसैलाई पनि प्रवेश गर्न नदिइने

· मिडियालाई आम रुपमा सचिवालयले फोटो उपलब्ध गराउने तथा फोटो खिच्न भीड नहुनेगरी व्यवस्थापन गर्ने ।

· सांसदले आफू बसेको सिटमा रहेको माइक प्रयोग गर्ने ।

प्रत्येक सांसदका लागि एक/एक वटा माइकको व्यवस्था छ । सामान्य अवस्थामा विधेयकको सिद्धान्तमाथिको छलफमा सबै सांसदहरुले रोस्टमको प्रयोग गर्ने । शून्य समयमा र विशेष समयमा भने यसअघि पनि आफू बसेकै ठाउँबाट बोल्ने अभ्यास छ ।

यसैगरी, सभामुख, राष्ट्रियसभा अध्यक्ष, महासचिव, सचिव र कर्मचारीको बस्ने व्यवस्था पनि एक मिटरभन्दा बढी दूरीमा मिलाइएको छ । सरकारको नीति तथा कार्यक्रम पेस गर्नका लागि संयुक्त बैठक बस्ने दिन राष्ट्रपतिका लागि सभामुख र अध्यक्ष बस्ने लहरमा सामाजिक दूरी कायम गरेर कुर्सी राखिनेछ । राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम सोही कुर्सीमा बसेर पढ्ने छिन् ।

संसद भवनलाई बैठकअगाडि स्यानिटाइज तथा अन्य सरसफाइमा विशेष ध्यान दिने, क्यान्टिन र सभाहल बाहिर अनावश्यक भीड नगर्ने तथा दूरी कायम गर्नेलगायतका सुरक्षा विधिसमेत अपनाइने संसद सचिवालयले जनाएको छ ।

संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार, हरेक दिन बैठक सुरु हुनुअघि ढोकादेखि प्रत्येक व्यक्ति बस्ने कुर्सी, प्रयोग गर्ने टेबुल, पोडियम, माइकलगायत सबै संरचानहरुमा किटानुनाशक स्प्रे छरिनेछ । त्यसपछि चार घण्टाका लागि ढोकाहरु बन्द गरिनेछ ।

पाण्डेका अनुसार, शौचालय, ढोकाका ह्यान्डिल, भ‍र्‍याङको रेलिङसमेतलाई बेलाबेलामा सेनिटाइज गरिनेछ । बैठकमा एसी नचलाएर फ्यान चलाइनेछ । संसद्को क्यान्टिन खुला हुनेछ । तर एउटा टेबुलमा एक जना मात्र बस्न पाइनेछ ।

प्रतिक्रिया दिनुहोस
पिकनिक गएर फर्केको स्कुल बस शंकरापुरमा दुर्घटना

    काठमाडौंको शंकरापुर नगरपालिका शंकरापुरमा स्कुल बस दुर्घटना भएको छ । जिल्ला

विद्रोह गर्छु भन्नेहरुलाई साँगा कटाउनुपर्ने हुनसक्छ : ओली

    प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले विद्रोह गर्छु भन्दै

मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा बबरमहलमा बाढी

     काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेको छ । पाइप फुटेपछि

प्रहरीमाथि हातपात गर्ने जोसुकैलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

     गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र दुर्व्यवहारका