प्रहरी र सेनालाई दिएर फोटोसेसन मात्र, दीपक मल्होत्राज्यू, कहाँ पाइन्छ ५ रुपैयाँमा मास्क ?
नेपाल चेम्बर अर्फ कर्मस र सरकारको सहयोगमा व्यवसायी दीपक मल्होत्राले सहुलियत दरमा मास्क उपलब्ध गराउने हल्लाखल्ला गरेका थिए । कोरोना भाइरसको सन्त्रास बढेसँगै बजारमा मास्क र स्यानिटाइजर अभाव देखिएको भन्दै चेम्बरको समेतको सहयोगमा व्यवसायी मल्होत्राले सहुलियत दरमा मास्क उपलब्ध गराउने घोषणा २०७६ फागुन २५ मा गरेका हुन् । हप्तामा ५ लाख मास्क उत्पादन गरी ५ रुपैयाँ प्रतिपीस उपभोक्तासम्म पुर्याउने प्रतिबद्धता उनले गरेका थिए । तर बजारमा सर्जिकल मास्क १५ रुपैयाँभन्दा कममा पाइँदैन ।
चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल प्रहरीका पूर्वएआइजी तथा चेम्बरका सदस्य नवराज ढकालसहित उपस्थित कार्यक्रममा मल्होत्राले ५ रुपैयाँमा मास्क बजारमा उपभोक्तालाई उपलब्ध गराउने बताएका थिए । उनले ५ रुपैयाँमा मास्क उपलब्ध गराउनेसम्बन्धी सयौं समाचार अहिले पनि अर्काइभमा पढ्न सकिन्छ । तर बजारमा कहीँ पनि उपभोक्ताले ५ रुपैयाँमा मास्क पाउन सकेका छैनन् । धुम्बाराहीका भुवन कार्की भन्छन्–‘मल्होत्राले २ महिनाअघि ५ रुपैयाँमा मास्क उपलब्ध गराउने भनेका थिए । बजारमा त १५ रुपैयाँ भन्दा कममा कहीँ सर्जिकल मास्क पाइँदैन ।
दिनमा १ लाख मास्क उत्पादन गर्ने र ५ रुपैयाँमा बितरण गर्ने भन्दै आएका मल्होत्राले यसरी प्रहरी र सेनामा दिएर फोटोसेसन मात्र गर्दैआएका छन् ।
चेम्बर र सरकारको सहयोगमा व्यवसायी मल्होत्राले सातामा ५ लाख मास्क उत्पादन गर्ने सक्ने क्षमताको मेसिन २७ फागुनमा ल्याएर उत्पादन सुरु गर्न लागेको जानकारी दिएका थिए । कच्चा पदार्थ र मेसिन आइपुगेपछि सातामा पाँच लाख मास्क उत्पादन गर्दै सहुलियत दरमा उपलब्ध गराउने तयारी गरेको मल्होत्राले बताएका थिए । तर त्यो ५ लाख मास्क उनले ५ रुपैयाँमा होइन प्रतिगोटा १५ रुपैयाँमा बिक्री गरिरहेका त छैनन् ? बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मल्होत्राले ५ रुपैयाँमा बिक्री गर्ने भनेको मास्कको खोजीनीति गर्नुपर्ने हो । एक सातामा ५ लाख मास्क उत्पादन गरी मल्हात्राले कहाँ लगे ? त्यही मास्क कालोबजारीमा त बिक्री गरेका छैनन् उनले ? सरोकारवाला निकायले खोजी गर्नुपर्ने भइसकेको छ ।
मल्होत्राले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन र प्रस्थान दुवै कक्षमा निःशुल्क यात्रुलाई मास्क वितरण हुने मल्होत्राले जानकारी दिएका थिए । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता सागर आचार्यले निःशुल्क मास्क बितरण अहिलेसम्म नभएको बताए । उनले भने–‘चैत पहिलो सातासम्म उडान चालु थियो । तर निःशुल्क मास्क र स्यानिटाइजर कसैले पनि बितरण गरेको थाहा छैन । अहिले पनि प्रस्थान कक्षबाट विभिन्न देशका यात्रुहरु चार्टर फ्लाइटबाट गइरहेका छन् । तर उनीहरुलाई निःशुल्क मास्क कसैले पनि दिएको छैन ।’
५ रुपैयाँ प्रतिगोटा मास्क बजारमा उपभोक्ताले नपाएकोबारेमा दीपक मल्होत्राले भने–‘५ रुपैयाँमा मैले दिने भनेर घोषणा गरें । मैले ५ रुपैयाँमा बेच्न सकिनँ । मैले ५ रुपैयाँमा दिंदा घाटा हुने भयो । त्यही भएर ७ रुपैयाँमा बितरण गर्दैआएको छु । नेपालभरीमा मेरा ३१ वटा पसलबाट ७ रुपैयाँ प्लस भ्याट लिएर बितरण गरेको छु । सेल पेबाट सामान किन्दा १० वटा सर्जिकल मास्क घरमा सिंत्तैमा दिइरहेको छु । त्यसरी दिंदा कतिपयले सेलपेको प्रचार प्रसार गर्न खोजेको भने । फ्रीमा दिन पनि माध्यम चाहिने भएर सेलपे मार्फत् आएकालाई दिइएको हो ।’
सातामा ५ लाख पीस मास्क उत्पादन गर्ने घोषणा र उपभोक्ताले औषधि पसलमा एउटा मास्कको १५ रुपैयाँ तिर्नुपरेकोबारेमा मल्होत्राले भने–‘१५ रुपैयाँ त पर्दैन होला ।’ हस्पिटलहरुले ७ रुपैयाँमै मास्क लगेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निःशुल्क मास्क बितरण गर्ने घोषणा गरिएको तर अध्यागमन कार्यालयले अहिलेसम्म कसैले बितरण नगरेकोबारेमा ध्यानाकर्षण गराउँदा मल्होत्राले भने–‘लकडाउन होला भन्ने लागेको थिएन । लकडाउन भयो । तर केही मास्क नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक देवेन्द्र केसीलाई निःशुल्क बितरण गर्न दिएका थियौं ।’