प्रचण्ड–नेपालवीच गोप्य भेट, गौतम खुसीले बुरुक
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीका दुई प्रस्तावले तरंगित बनेको परिस्थितिलाई आफ्नो नियन्त्रणमा बनाउन नेताहरूले राजनीतिक भेटवार्ताहरूलाई तिब्र बनाएका छन् ।
प्रधानमन्त्री ओलीले आफू निकटका नेताहरूसँग बिहीबार परामर्श गरेका छन् । शनबिारको सचिवालय बैठकमा कसरी प्रस्तुत हुने भनेर ओलीले शक्रबार पनि छलफल गर्ने जनाइएको छ ।
ओलीले भैँसेपाटी गठबन्धनलाई भत्काएर आफू अनुकूलको अवस्था बनाउन खोजेका छन् । ओलीले उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्षका लागि प्रस्ताव गरेपछि नेकपाभित्र तरंग उत्पन्न भएको छ ।
ओलीबाट प्रधानमन्त्रीको अफर आएपछि गौतम खुसी छन् । उनले सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । तर, उनका सहयोगीहरूले सांसद समेत नहरेका गौतम अबको दुई महिनापछि प्रधानमन्त्री बन्ने भनेर सामाजिक सञ्जालमा लेख्न थालेका छन् ।
ओलीको प्रस्तावपछि सशंकित बनेका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता नेपालले पनि कसरी अगाडि बढ्ने भनेर आन्तरिक रणनीति बनाएका छन् ।
ओलीको प्रस्तावबाट नेता नेपाल धेरै सकारात्मक नभएको उनी निकटका नेताहरूले सामाजिक सञ्जालमा लेखेका छन् ।
प्रचण्ड र नेपालवीच ओलीका प्रस्तावका विषयमा बिहीबार टेलिफोनमा सम्वाद भएको थियो । सोही सम्वादअनुसार प्रचण्ड र वरिष्ठ नेता नेपालवीच शुक्रबार बिहान गोप्य भेटवार्ता भएको छ ।
ओली र भैंसेपाटी गठबन्धनका नेताहरूले शुक्रबार बिहानैदेखि आन्तरिक परामर्श र सम्वादहरूलाई तिब्रता दिएको स्रोतले जनाएको छ । नेकपाको सचिवालयको बैठक शनिबार बस्नेछ । शनिबारको बैठकले ठोस निर्णय गर्ने जनाइएको छ ।
नेताहरूबीच तिकडम चलिरहेका बेला शुक्रबार बिहान दोस्रो तहका अध्यक्ष प्रचण्ड र नेपालवीच गोप्य भेटवार्ता भएपछि बालुवाटार झस्किएको छ ।
नेकपाका सांसद कृष्णलाल महर्जनको ललितपुरको बालकुमारीस्थित निवासमा प्रचण्ड र वरिष्ठ नेता नेपालवीच गोप्य वार्ता भएको उच्च स्रोतले जनाएको छ ।
नेता नेपालले आफ्ना गोप्य छलफल र वार्ताहरू महर्जनकै निवासमा गर्ने गरेका छन् । ओलीको प्रस्तावलाई कसरी लिने भन्ने बारेमा प्रचण्ड–नेपालवीच छलफल भएको स्रोतले जनाएको छ ।


