स्वास्थ्य मन्त्री ढकालकै मुखबाट सुनौं उनको परिचय, को हुन् ढकाल ?



हाम्रो इकोनोमि

 

मन्त्री ढकाललाई नजिकबाट चिन्ने पूर्वएमालेका नेताहरु उनलाई ‘सोझा नेता’ भन्न रुचाउँछन् । उनलाई प्रयोग गरेर अरुले फाइदा उठाउने सम्भावना प्रचुर रहेको उनका समकालीन बताउँछन् ।

मन्त्री ढकाललाई नजिकबाट चिन्ने एक नेताका अनुसार सोझो भए पनि बोली वचनमा भने उनी निकै नै रुखा छन् ।

बोलीमा मात्र होइन, व्यवहारमा पनि आफ्ना आलोचक र विपक्षीप्रति उनी संकीर्ण छन् । गुटमा मात्र रमाउने उनी आलोचक र विपक्षीसँग मिलेर काम गर्न सक्दैैनन् । मन्त्रालयमा एमाले भनेर चिनिएका बाहेक अन्य कर्मचारी र स्वास्थ्यकर्मीलाई उनी एमालेका शत्रु वा कांग्रेस देख्छन् र झस्कन्छन् । पार्टीभित्र माधव नेपाल पक्ष र पूर्वमाओवादीलाई उनी रुचाउँदैनन् । उनी एकदमै सानो घेरामा काम गर्न रुचाउने संकीर्ण वाम नेता हुन् ।

केपी ओलीकै निकटका कतिपय नेताहरुको स्वीकारोक्ति के छ भने मन्त्री ढकाल जनताको वीचमा भिजेर नेतृत्वमा आइपुगेका होइनन् । यही कारणले उनी अलि अव्यवहारिक लाग्छन् ।

उनी जिल्लाबाट काठमाडौंमा पढ्न आए, यतै विद्यार्थी राजनीति गरे । चुनावमा उनी न काठमाडौंका भए, न तेह्रथुमका । ०७० सालमा समानुपातिकको कोटामा परेपछि पछिल्लो चुनावमा तेह्रथुमबाट चुनाव लड्ने विचार गरेका थिए । तर, तेह्रथुमेले उनलाई ठाउँ दिएनन् ।

अन्ततः विद्यार्थीकालदेखि नै काठमाडौंलाई कर्मथलो बनाएका ढकाल मोरङको बेलबारीमा चुनाव लड्न झरे । सुन्दर हरैंचामा दाजुको घर हुनु बाहेक मोरङसँग उनको नाता थिएन । पार्टीले ‘पाहुना उम्मेद्वार’ बनाएको भन्दै बेलबारीमा एमालेकै स्थानीय नेताले ढकालविरुद्ध विद्रोहसमेत गरेका थिए । तर, माओवादीसँग एकता भएको हुनाले ढकालले बेलबारीबाट चुनाव जिते ।

अबका दिनमा ढकालको चुनाव लड्ने ठाउँ न मोरङ, न काठमाडौं, न त तेह्रथुम नै छ । उनको राजनीतिक ग्राउण्ड नै नरहेको नेकपाका नेताहरु बताउँछन् ।
यस्तो अवस्थामा अब मन्त्री ढकालसँग एउटै मात्र विकल्प बचेको छ- स्वास्थ्यमन्त्रीका रुपमा राम्रो र पारदर्शी ढंगबाट काम गर्ने, सिंगै देशबासीको विश्वास जितेर लोकपि्रयता कमाउने ।

यति गरे भने ढकालको राजनीतिक भविश्य काठमाडौं, तेह्रथुम, वा मोरङ, जहाँबाट पनि अजमाउन सक्छ ।

तर, के ५६ वर्षीय स्वास्थ्यमन्त्री भानुभक्त ढकालबाट मुलुकको आवश्यकता र जनअपेक्षा पूरा हुन सक्ला ? उनको कमाण्डिङमा कोरोनाविरुद्धको अग्रमोर्चा विजयी बन्ला ? अहिले बाँचौं र बचाऔं । बहस पछि गरौंला !

को हुन् स्वास्थ्यमन्त्री ढकाल ?

मन्त्री ढका २०२१ साल पुस २१ गते तेह्रथुमको ओख्रेमा जन्मिएका हुन् । उनी मोरङको क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेद्वार एवं बिराटनगर नोबेल अस्पतालका मालिक सुशील शर्मालाई चुनाव हराएर प्रतिनिधिसभा सदस्य बनेका हुन् ।

ओख्रेमै विद्यालय तहको अध्ययन गरेका ढकालले कीर्तिपुर विश्वविद्यालयबाट इतिहासमा एमए पढेका छन् ।

०३५ सालको विद्यार्थी आन्दोलनबाट स्कुलदेखि नै राजनीतिमा प्रवेश गरेको बताउने ढकाल अखिलको तेह्रथुम जिल्ला अध्यक्ष भएपछि काठमाडौंमा कानून पढ्न आए । काठमाडौंमा रहँदा यहाँको अखिल कमिटीमा जिल्ला अध्यक्ष हुँदै दुई कार्यकाल अनेरास्ववियूको महासचिव भए । ०५३ सालबाट उनले अखिलबाट विदा लिएर पार्टीमा काम गर्न थाले । काठमाडौंमै उनले ०४९ साल बैशाख ४ गते बिवाह गरे ।

काठमाडौंमा मनमोहन अभिकारीको चुनाव परिचालन कमिटीको संयोजक भएका ढकालले विभिन्न समयमा सडक आन्दोलनमा भूमिका निभाए ।

मन्त्री ढकालसँग पञ्चायतकालमा तीन वर्षजति जेल जीवन बिताएको अनुभव छ ।

तत्कालीन एमालेको उपत्यका विशेष समन्वय कमिटीमा रहेर काम गरेका ढकाल एमालेको आठौं महाधिवशेनबाट केन्द्रीय सदस्य बने । नवौं महाधिवेशनबाट पोलिटब्यूरो सदस्य बने । पार्टी एकतापछि उनी नेकपाको केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् ।

पार्टीमा केपी ओलीनिकट रहँदै आएका ढकाल ०७० सालमा एमालेबाट समानुपातिक सांसदको कोटामा परे ।

त्यही कार्यकालमा उनले पार्टीको संसदीय दलको प्रमुख सचेतकको भूमिका पाए । उनले पाएको त्यो जिम्मेवारी मन्त्री सरहको थियो । र, त्यहीँबाट राष्ट्रिय राजनीतिमा उनको नाम चर्चामा आयो ।

तर, प्रधानमन्त्री ओली उनको भूमिकाप्रति सन्तुष्ट थिएनन् । समानुपातिक सांसद हुँदा तेह्रथुममा बजेट पुर्‍याएका र पहिल्यै काठमाडौंमा स्थायी घरबार जोडिसकेका ढकाल मोरङबाट पाहुना सांसद चुनिए, उनको भाग्य चम्कियो ।

र, ०७५ साल साउन १८ गते कानून मन्त्रीका रुपमा क्याबिनेटमा पुगेका ढकाल उपेन्द्र यादवले राजीनामा दिएपछि स्वास्थ्य मन्त्रीको जिम्मेवारीमा छन् ।

प्रतिक्रिया दिनुहोस
यस्ता छन आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्ति नियुक्त...

सडकमा जाने तयारी गर्न पार्टीपंक्तिलाई शंकर पोखरेलको निर्देशन

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको स्वेच्छाचारिता रोक्नको लागि एमाले सडकमा...

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...