इटाली र स्पेन जस्तो संकट निम्त्याउने महादुस्चक्रको मञ्चन



 

सञ्जयलीला भन्सालीको बाजिराउ मस्तानीमा एक दृश्य निकै दर्दनाक छ । सैन्य कमान्डर बाजिराउ युद्ध मैदानमा भएका बेला उनकी दासी पत्नी मस्तानी र नाबालक छोरालाई परिवारबाटै घरमा बन्धक बनाइन्छ । सबैभन्दा माया गर्ने पत्नीलाई बन्धक बनाएको पीडाले युद्ध जिते पनि बाजिराउ मृत्युको मुखमा पुग्छन् । उनले प्राण त्याग्दा बन्धक बनेकी मस्तानीले पनि धर्ती छोड्छिन् ।

विश्व कोरोना भाइरसविरुद्धको जैविक युद्धमा होमिएको छ । शक्तिशाली देशहरू धमाधम रक्षात्मक बनिरहेका छन् । आँखै अगाडि परिवारका सदस्यले ज्यान गुमाउँदा पनि दाहसंस्कार गर्ने मौका विश्व मानवले पाएको छैन । इटाली, स्पेन, अमेरिकाजस्ता सम्पन्न र शक्तिशाली देश इतिहासको कठोर परीक्षामा उभिएका छन् । संसारभरका वैज्ञानिक र चिकित्सक कोरोनासँगको लडाइँमा जित हात पार्न नसकेर चकित खाएका छन् । कोरोना संक्रमतिलाई राख्ने अस्पतालका बेड मात्र कम परेका छैनन्, शव राख्न ठाउँको अभाव हुन थालेको छ ।

नेपालमा भने कोरोनाविरुद्धको लडाइँमा होमिएका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई बाजिराउ बनाउन खोजिँदै छ । जबरजस्त भ्रष्टाचारको नैतिक तरबार झुन्ड्याएर युद्ध कमान्डरलाई कमजोर बनाउने र इटाली, स्पेनको संकट निम्त्याउने महादुस्चक्र मञ्चन हुन थालेको छ । स्वास्थ्यमन्त्री ढकाल कोरोनाविरुद्धको लडाइँमा अग्रमोर्चाका एक कमान्डर हुन् । युद्ध मैदानमै कमान्डरलाई नैतिक पतनको बिल्ला भिराउँदा लडाइँ कदापि जितिँदैन । कोरोनासँग पराजित भए कमान्डर मात्र सकिँदैनन् देशै अनिश्चित दिशातिर जाने निश्चित छ ।

सरकार र व्यापारिक घरानासँग ब्ल्याकमेलिङको सेयर कारोबार नमिल्दा चैतमास छोडेको साँढेजस्तै बनेका केही थान लुथुर्के कोरोना रोकथाम र नियन्त्रणका स्वास्थ्य सामग्री खरिदमा आँखा बिछ्याइरहेका छन् । स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनिमितता भएको भए त्यसको छानबिन र दोषीउपर कारबाही अवश्य होला । तर, खरिद गरिएका स्वास्थ्य सामग्री नेपाल आइनपुग्दै रोइलो मच्चाउनेहरू नेपाली समाजका साँच्चीकै दुस्मन हुन् । राजनीतिक दाउपेच र आर्थिक फाइदाका लागि कोरोनाविरुद्धको लडाइँमा अवरोध पुर्याउनेलाई पनि कारबाहीको डन्डा बर्साउन बाँकी राख्नुहुँदैन ।

देश संकटमा परेका बेला नागरिक, कर्मचारी र नेताहरू इमानदार बन्नै पर्छ । नागरिकलाई संकट परेका बेला सरकार चाहिने हो । अन्य बेला भारतको गल्ली चहारेर, खाडीमा पसिना बगाएर भए पनि नागरिकले जीवनयापन गरिरहेकै छन् । संकटमा आर्थिक लाभको बाटो रोज्नु महापाप पनि हो । त्यसको मूल्य गल्ती गर्नेले अवश्य चुकाउनेछन् ।

नेपाली कांग्रेसका नेता गगन थापाले केही दिनअघि प्रधानमन्त्रीलाई पत्र लेख्दै अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, हवाई र सीमा नाकाबाट स्वदेश फर्केका सबै नेपालीको स्वास्थ्य परीक्षणमा ढिलाइ गर्न नहुने तर्क पेस गरेका थिए । स्वास्थ्य सामग्री ल्याउन सरकारले कठोर कदम चाल्नुपर्ने उनको सुझाव थियो । सबैको सुझाव र आवश्यकताका आधारमा स्वास्थ्य मन्त्रालयले २४ घण्टाभित्र टेन्डर खोलेर पाँच दिनभित्र स्वास्थ्य सामग्री नेपाल ल्याएको छ । स्वास्थ्य सामग्री नेपाल आउँदा केही थान व्यापारी र मिडिया व्यापारीलाई निद्रा लाग्न छाडेको छ ।

कोरोना आशंकित बिरामीलाई पीपीई अभावमा चिकित्सकले चेकजाँच गर्न सकिरहेका थिएनन् । किट अभावमा कोरोना परीक्षण गर्न सकिएको थिएन । कोरोना आशंकित बिरामी अस्पतालको गेटबाटै फर्किने गरेका थिए । त्यो अवस्था अन्त्य गर्न टेन्डरको झन्झट हटाएर छिटो खरिद गर्नु राज्यको कर्तव्य हो, त्यही काम भयो ।

नेपाल कोरोनाविरुद्धको लडाइँमा रक्षात्मक छ । लकडाउन र सीमा नाका बन्द गरेर नेपालले राम्रो रक्षात्मक प्रणाली अपनाएको छ । रक्षात्मक मात्र भएर हुँदैन, आक्रमण पनि गर्नुपर्छ । त्यसका लागि औषधि र स्वास्थ्य सामग्री कोरोनाविरुद्धका हतियार हुन् । यी हतियार ल्याउँदा आँखाबाट बलिन्द्र धारा चुहाउनुपर्ने कारण छैन ।

बाजिराउ सेनाका कमान्डर थिए । उनले ४० युद्ध जितेका थिए । तर, घरभित्रको युद्ध जित्न सकेनन् । दुस्मनको गोलीबाट नढलेका उनी घरभित्रकै प्रहारबाट ढले । वाणले प्रिय पत्नी र नाबालक छोरालाई परिवारले बन्धक बनाई कठोर यातना दिएको खबरले उनको जीवनलीला समाप्त भयो । कोरोनाविरुद्धको लडाइँमा पनि यही दुस्चक्रको थालनी भएको छ ।

प्रतिक्रिया दिनुहोस
रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने

    रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकामा नेपाल आयल निगमका लुम्बिनी प्रदेशिक भण्डारण

प्रधानमन्त्रीद्वारा एसियाली जनसंख्या सम्मेलनको उद्घाटन

    आजदेखि काठमाडौंमा सुरु भएको छैटौं एसियाली जनसंख्या सम्मेलनको उद्घाटनमा फरक शैली

३८ अंकले बढ्यो नेप्से, ९ अर्बको कारोबार

    बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकले बढेर बन्द भएको छ

संविधान संशोधनमा कांग्रेस-एमालेबीच साझा धारणा बन्छ : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई ठूला दलको सातबुँदे सहमतिलाई संस्थागत