नेपालमा कोरोना परीक्षण कति विश्वसनीय ?



हाम्रो इकोनोमि

 

कोरोना (कोभिड–१९) विश्वका एक सय २५ देशमा फैलिसकेको छ । बिहीबारसम्म विश्वभर एक लाख ३० हजार संक्रमित भएका छन् । तर, नेपालमा अहिले कोही पनि संक्रमित नभएकोमा एकातिर खुसी छ भने अर्कोतिर आशंका । धेरैको प्रश्न छ– कतै नेपालको परीक्षणमै समस्या त छैन ?

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ भने नेपालको परीक्षण विश्वसनीय भएकोमा ढुक्क छन् । उनले  भने, ‘कोरोना परीक्षण गर्ने हाम्रो ल्याबमा शंका नगर्न म सबैलाई अनुरोध गर्न चाहन्छु । किनकि, हाम्रो ल्याबको गुणस्तरको अनुगमन विश्व स्वास्थ्य संगठनले पनि गरिरहेको छ । उसले समेत मान्यता दिएकाले हामीले चिन्ता गर्नुपर्ने कारण केही पनि छैन ।’

नेपालमा गरिएका परीक्षणको विश्वसनीयता जाँच्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नमुना वेलावेलामा हङकङ पनि पठाउँदै आएको छ । ‘संकलन गरेका नमुना हङकङ पनि पठाउने गरेका छौँ । सुरुमा चीनबाट आएका एकजना नेपालीमा पोजेटिभ भेटिएको थियो । उहाँको नमुना पनि हामीले हङकङ पठाएका थियौँ । हङकङबाट पनि पोजेटिभ आयो,’ उनले भने, ‘अरूको यहाँ नेगेटिभ रिपोर्ट आएको छ, उताबाट पनि नेगेटिभ आयो । त्यसैले हाम्रो ल्याबमा समस्या छैन भन्नेमा निश्चिन्त छौँ ।’

नेपालमा हालसम्म चार सय ५० जनाको नमुना परीक्षण गरिएकोमा सुरुमै चीनबाट आएका एक नेपालीमा मात्र कोरोना भेटिएको थियो, उनको पनि उपचार भएको छ । अहिलेसम्म रिपोर्ट आएका चार सय ४९ मा कोरोना भेटिएको छैन ।

तर, संक्रमणको आशंकामा बिरामीलाई वेलावेलामा आइसोलेसनमा राख्ने गरिएको छ । अहिले पनि संक्रमणको आशंकामा ६ जनालाई आइसोलेसनमा राखिएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा चार र पाटन अस्पतालमा दुई व्यक्तिलाई भर्ना गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । उनीहरूको रिपोर्ट आइसकेको छैन ।

जनस्वास्थ्य प्रयोगशालाले परीक्षण गरिएकामा धेरै इन्फ्लुएन्जा (मौसमी रुघाखोकी) देखिएको छ । प्रयोगशालाकी निर्देशक डा. रुणा झा प्रश्न गर्नुपर्ने ठाउँ नरहेको बताउँछिन् । ‘मौसमी रुघाखोकीजस्तै कोरोना पनि लुक्ने रोग होइन । त्यस्तो रोग लागेमा लुकाउन सम्भव छैन, ल्याबमाथि पनि शंका गर्ने ठाउँ छैन,’ झाले भनिन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ल्याबको गुणस्तर कायम भए–नभएको हेर्न पहिलो पोजेटिभ केसलाई पनि हरेक ब्याचमा परीक्षण गरिरहेको छ । ‘ल्याबको गुणस्तर मापन गर्न सो ब्याच हरेक दिन परीक्षण हुन्छ । तर, त्यसबाहेक अन्य नमुनामा कोरोना पोजेटिभ आएको छैन,’ उनले थपिन् । चिकित्सकहरूका अनुसार कोरोना भए बिरामीको संख्या तीव्र गतिमा बढ्नुपर्छ । तर, यहाँ बिरामीको संख्या बढेको छैन । त्यसले पनि नेपालमा कोरोना नभएको स्पष्ट पार्छ ।

स्वास्थ्य अधिकारीहरूले रुघाखोकीको समय भएकाले मानिसहरूलाई सबै कोरोना हो कि भन्ने शंका लाग्नु स्वाभाविक रहेको बताउँछन् । बरु कसैमा कोरोना भाइरस संक्रमित भएको आशंका भएमा तत्काल खबर गर्न उनको सुझाब छ । ‘कोरोना भाइरस एक व्यक्तिबाट अन्य व्यक्तिमा तीव्र रूपमा सर्ने हुन्छ, तर नेपालमा अहिलेसम्म यसरी बिरामी देखिएको अवस्था छैन । त्यसैले नेपालमा कोरोना छैन भनेर स्पष्ट पार्न सकिन्छ,’ डा. झाले भनिन्, ‘कसैले परीक्षणमा आशंका गरेकै भरमा विश्वास दिलाउन रिपोर्टलाई पोजेटिभ बनाउन मिल्छ ?’ निर्देशक झाले प्रश्न गरिन् । नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई नैतिकताका आधारमा तत्काल...

प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न हुन्न : योगेश भट्टराई

  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाएका...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    जेठ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

२०४६ देखि २०८२ चैत सम्म को-को पर्दैछन सम्पत्ति छानबिनमा

    सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदधारी बहाल र सेवा निवृत्त...