प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले भने– ठीक छु



 

प्रधानमन्त्री केपी ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । शिक्षण अस्पतालका चिकित्सक प्रा.डा. प्रेम ज्ञवाली र प्रा.डा. उत्तमकुमार शर्माको नेतृत्वमा बुधबार साढे चार घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको हो । प्रधानमन्त्री ओली र मिर्गौलादाता समीक्षा संग्रौला दुवैको स्वास्थ्य सन्तोषजनक रहेको अस्पतालले जनाएको छ ।

साँझ ओलीलाई होस आएको छ । शल्यक्रिया गरेका डा. ज्ञवालीले भने, ‘होसमा त साँझ (बुधबार) नै आउनुभएको हो । तर, हामीले आराम होस् भनेर निद्रा लाग्ने औषधि दिएका छौँ । कुराकानी गर्नुपरेमा राम्रोसँग गर्न सक्ने अवस्थामा हुनुहुन्छ । हामीले कस्तो छ भनेर सोध्यौँ, उहाँले ठीक छ भन्नुभयो । अरू थप कुरा आज नै गर्न उचित भएन । त्यसैले हामीले आराम गर्न दिएका छौँ ।’

बिहान साढे १० बजेबाट सुरु भएको प्रत्यारोपण ३ बजे सकिएको थियो । ‘सबैको जस्तै हो । मिर्गौला प्रत्यारोपण गर्न जम्माजम्मी चार घन्टा ३० मिनेट लाग्यो । त्यसमध्ये मिर्गौला जोड्न ३९ मिनेट लाग्यो । यो भनेको सामान्य हो,’ डा. ज्ञवालीले  भने ।

त्यस्तै, उनलाई मिर्गौला दान गर्ने भान्जी समीक्षा संग्रौलाको स्वास्थ्य सन्तोषजनक रहेको डा. ज्ञवालीले जनाएका छन् ।  ‘दाताको स्वास्थ्य ठीक छ, उहाँको मिर्गौला निकाल्न डेढ घन्टा लागेको थियो । दाताको शल्यक्रिया ल्याप्रोस्कोपिक विधिबाट गर्‍यौँ । यसो गर्दा सानो मात्र घाउ हुन्छ,’ उनले भने ।

अब प्रधानमन्त्री ओलीको शरीरमा चारवटा मिर्गौला हुनेछन् । तर, काम बुधबार प्रत्यारोपण गरिएको नयाँ मिर्गौलाले मात्रै गर्नेछ । अन्य मिर्गौलाले कुनै समस्या नदिएकाले यथावत् राखिएको डा. ज्ञवालीले बताए । ‘अब काम नयाँले मात्रै गर्छ, पुरानाले गर्दैन । त्यसको मतलब पनि हँुदैन । अर्को कुरा, शरीरमा जतिवटा मिर्गौला राखे पनि कुनै असर गर्दैन । त्यसैले झिकेर फालिँदैन । तर, कुनै पनि वेला भित्र भएको अतिरिक्त मिर्गौलाले समस्या बनायो भने मात्र झिकेर फालिन्छ । समस्या पारेको छैन, त्यसले काम मात्रै नगरेको हो भने भित्रै रहन्छ,’ उनले भने ।

ओलीलाई रगत दिँदै आएकी समीक्षाले मिर्गौला पनि दिइन्
‘मामाको मुख हेरेर होइन, देशको भविष्य हेरेर मिर्गौला दान गर्ने निर्णय गरेकी हुँ’

नाताले भान्जी पर्ने समीक्षा संग्रौला र ओलीको परिवारबीचमा निरन्तर आवतजावत थियो । ओली प्रधानमन्त्री भएपछि समीक्षा प्रधानमन्त्रीनिवास बालुवाटार पुगिरहन्थिन् । त्यहीबीचमा ओलीको १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या आयो । उनी पटकपटक बिरामी पर्न थाले । प्रधानमन्त्रीलाई बीचबीचमा रगत चढाउनुपर्ने अवस्था पनि आयो । प्रधानमन्त्रीको रगत ‘ओ नेगेटिभ’ अर्थात् दुर्लभ समूहको छ ।

संयोगले समीक्षाको पनि ‘ओ नेगेटिभ’ नै हो । त्यसैले उनले मामालाई रक्तदान पनि गरिन् । तर, ओलीको मिर्गौलाको कार्यक्षमतामा निरन्तर ह्रास आयो । अन्ततः मिर्गौला प्रत्यारोपण नै गर्ने टुंगो भयो । तर, कसको मिर्गौला लिने भन्ने विषयमा छलफल भयो । रक्तदान गर्दै आएकी समीक्षा तयार भइन् । हुन त अन्य पनि इच्छुक थिए । तर, नाता र स्वास्थ्यको हिसाबले समीक्षाको मिर्गौला छनोट भयो ।

मिर्गौला दान गर्ने निर्णय गर्दा समीक्षाले प्रधानमन्त्रीनिवास बालुवाटारमा भनेकी थिइन्, ‘केपी ओली मेरो मामा मात्र होइन, यो देशको प्रधानमन्त्री हो र देशलाई समृद्ध बनाउने सपना लिएर हिँडेको नेता हो । त्यसैले मैले मामाको मुख हेरेर होइन, देशको भविष्य हेरेर मिर्गौला दान गर्ने निर्णय गरेकी हुँ ।’ समीक्षाका पति नेपाली सेनामा कार्यरत छन् । उनीहरूका एक छोरा र एक छोरी छन् ।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सम्पन्न भएको छ, उहाँको स्वास्थ्य अवस्था अहिले कस्तो छ ?

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था धेरै राम्रो छ । हरेक घन्टा ६ सयदेखि सात सय मिलिलिटरका दरले पिसाब हुन थालेको छ । यसको अर्थ अहिलेसम्म प्रत्यारोपण गरेको नयाँ मिर्गौलाले चार लिटरभन्दा बढी पिसाब बनाइसकेको छ । त्यो भनेको हाम्रा लागि धेरै हर्षको कुरा हो ।

उहाँको शल्यक्रिया कस्तो रह्यो, औसतभन्दा जटिल वा सजिलो ?

सबैको जस्तै हो । मिर्गौला प्रत्यारोपण गर्न जम्माजम्मी चार घन्टा ३० मिनेट लाग्यो । त्योमध्ये मिर्गौला जोड्न ३९ मिनेट लाग्यो । यो भनेको सामान्य हो ।

देशको प्रधानमन्त्रीको जटिल शल्यक्रिया गर्दा तपाईंहरू कति दबाबमा हुनुहुन्थ्यो ?

बिरामीको पक्षबाट हामी बिलकुलै दबाबमा थिएनौँ । तर, बाहिरी दबाब धेरै थियो । सरकारप्रमुखको शल्यक्रिया गर्दा मिडिया, समाज सबैले हेरिरहेको थियो । त्यसैले चर्को दबाब थियो । तर, हामीले आफ्नो सम्पूर्ण सीप र क्षमता कुशलतापूर्वक प्रयोग गर्‍यौँ ।

अप्रेसन थिएटरमा छिर्नुअघि प्रधानमन्त्रीले के भन्नुभयो ?

सबै स्वास्थ्यजाँच गरेपछि हामीले ‘केही भन्नु छ अथवा केही आदेश छ प्रधानमन्त्रीज्यू’ भनेर सोधेका थियौँ । उहाँले ‘मेरो केही भन्नु छैन, तपाईंहरूप्रति पूर्ण भरोसा छ’ मात्रै भन्नुभयो ।

प्रधानमन्त्री होसमा त आउनुभयो, बोल्न सक्नुहुन्छ ?

होसमा त साँझ (बुधबार) नै आउनुभएको हो । तर, हामीले आराम होस् भनेर निद्रा लाग्ने औषधि दिएका छौँ । कुराकानी गर्नुपरेमा राम्रोसँग गर्न सक्ने अवस्थामा हुनुहुन्छ । हामीले कस्तो छ भनेर सोध्यौँ, उहाँले ठीक छ भन्नुभयो । अरू थप कुरा आज नै गर्नु उचित भएन । त्यसैले हामीले आराम गर्न दिएका छौँ ।

दोस्रो प्रत्यारोपण भएकाले मान्छेहरू अलिकति सशंकित पनि थिए, पहिलो र दोस्रोमा खास केही फरक पर्छ कि पर्दैन ?

दोस्रो प्रत्यारोपण गर्दा केही समस्या त हुन्छ नै । उहाँको शरीरले पहिलो मिर्गौलालाई अस्वीकार गर्‍यो, दोस्रोलाई के गर्छ भन्ने त हुन्छ नै । शरीरले दोस्रोपटक प्रत्यारोपण गरेको मिर्गौलालाई पनि अस्वीकार गर्ने हो कि, विगतमा पनि वेला–वेला संक्रमण हुँदै आएको थियो, फेरि दोहोरिन्छ कि भन्ने डर रहन्छ । तर, अहिलेसम्म सबै ठीक छ । मिर्गौलाले काम गर्न सुरु गरिसकेको छ । अरू मुटु र फोक्सो राम्रो अवस्थामा छन् । शरीरमा कुनै समस्या छैन ।

प्रत्यारोपण नेपालमा गर्ने कि विदेशमा भनेर छलफल भयो होला, नेपालमै गर्ने टुंगो कसरी लाग्यो ?

विभिन्न विकल्पमा छलफल चलेका थिए । चाहेको भए उहाँले संसारको जुनसुकै अस्पतालमा गएर प्रत्यारोपण गराउन सक्नुहुन्थ्यो । कतिपयले बाहिर जानुपर्छ पनि भनेका थिए होलान् । तर, हामीले नेपालमा राम्रो छ, यहीँ गर्नुस् भन्यौँ । उहाँले पनि हामीलाई विश्वास गरिदिनुभयो । यसको अर्थ नेपाली चिकित्सकको काममा उहाँलाई चित्त बुझेको हुनुपर्छ । आफ्नै देशमा प्रत्यारोपण गर्दा देशलाई राम्रो भयो, जनतामा पनि राम्रो सन्देश गयो । सुरक्षाका हिसाबले पनि राम्रो थियो । प्रधानमन्त्रीको परिवारले पनि स्वदेशमै प्रत्यारोपण गराउन चाहेको थियो ।

प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने दाताको स्वास्थ्य अवस्था कस्तो छ ?

दाताको स्वास्थ्य ठीक छ । उहाँको मिर्गौला निकाल्न डेढ घन्टा लागेको थियो । दाताको शल्यक्रिया ल्याप्रोस्कोपिक विधिबाट गर्‍यौँ । यसो गर्दा सानो मात्र घाउ हुन्छ । त्यसैले दाताबाट मिर्गौला झिक्दा ल्याप्रोस्कोपिक विधि नै प्रयोग गर्न थालिसकेका छौँ । पहिला हामीले ठूलै घाउ बनाएर गर्थ्यौं। अहिले हामीले नयाँ सीप पनि सिक्यौँ र प्रविधि पनि उपलब्ध भएकाले ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया गरेका हौंँ । उहाँलाई अहिले राम्रो छ ।

दाताका रूपमा समीक्षा संग्रौलालाई नै छनोट कसरी गर्नुभयो, इच्छुक त अरू पनि थिए होलान् नि ?

त्यो त परिवारको कुरा भयो । मलाई दाता देखाउने वेला सीधै समीक्षा मात्र देखाउनुभएको थियो । समीक्षालाई मैले तपाईंको नाता के पर्छ भनेर सोधेको थिएँ । उहाँले हामी मामा–भान्जी हौँ, टीका पनि लगाउँछौँ भन्नुभयो । कानुनी रूपमा छनोट गर्ने विषयमा मेरो भूमिका हुँदैन । नाता हो, प्रत्यारोपण गर्न मिल्छ भनेर सिफारिस गर्न समिति छ । समितिले वैधानिकता दिएपछि हामी गर्छौँ ।

उहाँको कुन मिर्गौला झिकिएको छ ? मिर्गौला छनोट गर्ने पनि विधि हुन्छ होला नि ?

हामीले समीक्षा संग्रौला अर्थात् दाताको बायाँतर्फको मिर्गौला झिकेका छौँ । दाताको प्रायः बायाँ मिर्गौला नै झिक्ने गरिन्छ । किनकि, मुटुबाट अक्सिजनयुक्त रगत मिर्गौलामा लैजाने मुख्य नसा (रेनल आर्टरी) तथा मिर्गौलाले छानेको रगत फोक्सोमा लैजाने नसा (रेनल भेन)को लम्बाइ बायाँतर्फको मिर्गौलाको लामो हुन्छ । त्यसैले बायाँ मिर्गौला निकालेर जोड्न सहज हुने भएकाले हामीले उहाँको पनि बायाँतर्फको मिर्गौला झिकेका हौँ । तर, दाताको दायाँभन्दा बायाँ मिर्गौला प्राविधिक रूपमा राम्रो छ भने दायाँतर्फको निकाल्छौँ, तुलनात्मक रूपमा राम्रो अर्थात् बायाँतर्फको निकाल्दैनौँ । तर, उहाँको दुवै मिर्गौलाले बराबर काम गरेका थिए । त्यसैले बायाँतर्फको निकाल्यौँ ।

प्रधानमन्त्रीको शरीरमा अब कतिवटा मिर्गौला छन् ?

अहिले चारवटा छन् ।  दुईवटा उहाँका आफ्नै हुन् । तेस्रो १२ वर्षअघि प्रत्यारोपण गरिएको हो । चौथो आज प्रत्यारोपण गरियो । प्रत्यारोपण गर्दा पहिलो मिर्गौला सामान्यतया दायाँँपट्टि राखिन्छ । अहिलेको बायाँपट्टि राखिएको छ । अब काम नयाँले मात्रै गर्छ । पुरानाले काम गर्दैनन् । त्यसको मतलब पनि हुँदैन । अर्को कुरा शरीरमा जतिवटा मिर्गौला राखे पनि कुनै असर गर्दैन । त्यसैले झिकेर फालिँदैन । तर, कुनै पनि वेला भित्र भएको अतिरिक्त मिर्गौलाले समस्या बनायो भने झिकेर फालिन्छ । समस्या पारेको छैन, त्यसले काम मात्रै नगरेको हो भने भित्रै रहन्छ ।

भारतबाट आउनुभएका डा. अनन्त कुमारको भूमिका के थियो ?

भारतबाट दुई फिजिसियन र एक सर्जन डा. अनन्त कुमार आउनुभएको थियो । डा. अनन्त कुमारले १२ वर्षअघि हाम्रा प्रधानमन्त्रीको पहिलो प्रत्यारोपण गर्नुभएको थियो । आज पनि उहाँ शल्यक्रियाकक्षमै रहनुभयो । आवश्यक परिहाल्यो भने सहयोग गर्न बोलाएका थियौँ । उहाँ दाताबाट मिर्गौला झिक्ने र प्रत्यारोपण गर्ने दुवै कार्यमा सरिक हुनुभयो ।

तपाईंले अहिलेसम्म कतिजनाको मिर्गौला प्रत्यारोपण गर्नुभएको छ ?

हामीले शिक्षण अस्पतालमा अहिलेसम्म करिब सात सयजनाको मिर्गौला प्रत्यारोपण गरेका छौँ । तीमध्ये करिब पाँच सयमा म सहभागी छु । सामाचार नयाँ पत्रिकाबाट, फोटो सामाजिक संञ्जालबाट

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्