प्रधानमन्त्री ओलीले भने कार्यवाहक कोहिलाई दिन्न, कसैको विश्वास छैन
मन्त्रिपरिषद् बैठकमा कार्यवाहक प्रधानमन्त्री तोक्ने विषयमा छलफल नभएको मन्त्रीहरुको भनाई छ । स्वदेशमै प्रत्यारोपण हुन लागिरहेको र चिकित्सकहरुले पनि छिट्टै काममा फर्किनसक्ने सुझाव दिएका कारण प्रधानमन्त्री ओलीले कार्यवाहक तोक्ने विषयमा कुनै निर्णय नलिएको एक सल्लाहकारले बताए ।
‘प्रधानमन्त्रीज्यू विदेशमा रहने अबस्थामा कार्यवाहक तोक्ने प्रचलन हो’, स्वदेशमै उपचार हुने र केही दिनभित्रै स्वास्थ्यलाभ हुने भएका कारण पनि उहाँले त्यस्तो(कार्यवााहक तोक्ने) आवश्यकता ठान्नु भएन ।’ ती सल्लाहकारले भने । उच्च स्रोतका अनुसार स्वास्थ्यमा सुधार हुनासाथ प्रधानमन्त्री अस्पतालमै रहनु परेको अबस्थामा पनि ‘भिडियो कन्फरेन्स’ बाट पनि बैठक चलाउन सकिने निष्कर्षमा प्रधानमन्त्री र उनको सचिवालय पुगेको छ ।
देशको कार्यकारी प्रमुख प्रधानमन्त्री बिरामी भएर लामो समय उपचारका लागि अस्पतालमा बस्नुपर्दा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीबारे संविधानमा उल्लेख छैन । धारा ७७ को उपधाराहरुमा राष्ट्रपतिसमक्ष राजीनामा दिएमा, धारा १०० बमोजिम विश्वासको मत पारित हुन नसकेकामा वा अविश्वास पारित भएमा र मृत्यू भएमा प्रधानमन्त्रीको पद रिक्त हुने व्यबस्था छ । देश बाहिर गएको अबस्थामा राष्ट्रपतिले वरिष्ठतम मन्त्रीलाई कार्यवाहक प्रधानमन्त्री तोक्ने प्रचलन रहे पनि देशभित्रै रहेकाले नतोक्ने निष्कर्षमा प्रधानमन्त्री पुगेका हुन् । संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले भने प्रधानमन्त्री स्वदेशमै रहेका बेला कार्यवाहक तोक्ने या नतोक्ने विषय ठूलो विषय नभएको बताए । ‘त्यो कार्यकारी प्रमुख प्रधानमन्त्रीको अधिकार क्षेत्र र स्वविवेकको विषय हो’, आवश्यक ठान्नुभो भने तोक्न पनि सक्नुहुन्छ, संविधानले स्वदेश या विदेशमा रहेका बेला भनेर केही बोल्दैन ।’
नेकपा सचिवालय बैठकमा मृगौला प्रत्यारोपनका बिषयमा जानकारी गराएका प्रधानमन्त्री केपी शर्मा ओली अपरान्न मन्त्रीपरिषदको बैठकमा सहभागी भए । मन्त्रीपरिषदको बैठकमा पनि उनले बुधवार मृगौला प्रत्यारोपन गर्न लागेको जानकारी गराउँद भने ‘उच्च मनोबलका साथ मृगौला प्रत्यारोपन गराउन शिक्षण अस्पताल जाँदैछु, छिट्टै ठिक भएर आउँछु, अर्काे साता फेरी मन्त्रीपरिषदको बैठक गरौला । ’
प्रधानमन्त्री ओलीले सहजै अर्काे साता बैठक बसौँला भन्दा मन्त्रीहरु तीनछक परेका थिए । प्रधानमन्त्रीको आत्मबल देखेर कृषिमन्त्री घनश्याम भूसालले भने ‘तपाईंको आत्मवलबाट हामी सबैले व्यबहारमा साँच्चिकै शिक्षा लिन्छौ, प्रधानमन्त्रीज्यू तपाईलाई पूर्ण स्वास्थ्यलाभको कामना’
लगतै सवैमन्त्रीले एकैसात प्रधानमन्त्री ओलीलाई पूर्ण स्वास्थ्यलाभको कामना गरे । जवाफमा प्रधानमन्त्रीले भने ‘म तपाईंहरुको यो स्वास्थ्यलाभको कामना चिकित्सकहरुलाई सुनाइदिन्छु ।’


