एमसीसीले दुई अर्ब खायो, संसदबाट पारित नभए के हुन्छ ?



हाम्रो इकोनोमि

 

अमेरिकाको मिलिनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) माथि नेपालमा अहिले चलिरहेको बहस ‘गाडा अघि-अघि गोरु पछि-पछि’ जस्तो बन्न पुगेको छ । संसदबाट एमसीसी पारित गर्ने वा नगर्ने विवादमा रुमल्लिरहँदा नेपालले अढाई वर्ष अगाडि नै सम्झौतामा हस्ताक्षर गरेर अर्बौं रकम यसमा खर्चसमेत भइसकेको तथ्यलाई कमैले ध्यान दिएका छन् ।

२०७३ सालबाटै काम सुरु भएर २०७४ सालको भदौ २९ गते कांग्रेस सरकारका तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका तर्फबाट तत्कालिन कार्यवाहक सीईओ जोनाथन नाशले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सन् २०१७ को अगष्टमा बसेको एमसीसीको सञ्चालक समितिको वैठकले नेपालको सहयोग प्रस्तावलाई अनुमोदन गरेको थियो ।

हस्ताक्षरपछि सरकारले यो परियोजना अघि बढाउन एमसीए (मिलेनियम च्यालेन्ज अकाउन्ट) नेपालको स्थापना गरेर काम थाल्यो । अहिलेसम्म कागजी कामहरु धेरै भइसकेका छन् ।

नेपालमा एमसीसी परियोजना अघि बढाउने जिम्मेवारी एमसीए नेपालको काँधमा छ । दरबारमार्गमा एमसीए नेपालको कार्यालयमा छ, जहाँ ६४ जना कर्मचारी कार्यरत छन् । उनीहरुमध्ये ६१ जना नेपाली र १ जना भारतीय हुन् । दुई जना चाहिँ अमेरिकाको ग्रीन कार्ड भएका गैरआवासीय नेपाली हुन् । एमसीएले आवश्यकताअनुसार खुल्ला प्रतिस्पर्धाबाट जुनसुकै देशका नागरिकलाई कर्मचारी नियुक्त गर्न सक्ने सम्झौतामा उल्लेख छ ।

परियोजनाका नीतिगत निर्णयहरुका लागि बोर्ड अफ डाइरेक्टर गठन गरिएको छ । यसमा अर्थ सचिव डा. राजन खनाल पदेन अध्यक्ष छन् । एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर बिष्ट बोर्डका सदस्य सचिव हुन् । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बोर्ड सदस्य छन् । अन्य सदस्यहरुमा उर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देल, निजी क्षेत्रका प्रतिनिधिका रुपमा स्वतन्त्र उर्जा उत्पाक संघ (इपान)का उपाध्यक्ष कुमार पाण्डे र पत्रकार गोपाल खनाल छन् ।

६३ जना कर्मचारी कार्यकारी निर्देशक खड्काको मातहतमा छन् । उनीहरुमध्ये तीनजना उपकार्यकारी निर्देशक हुन् । सबै कर्मचारीहरुको सेवा-सुविधा बोर्ड अफ डाइरेक्टरले तय गरे बमोजिम छ ।

अहिलेसम्मको प्रगति र खर्च

सांसदबाट पारित हुन बाँकी रहे पनि एमसीसी परियोजनाका पूर्वतयारीका धेरै कामहरु पूरा भइसकेका छन् । सम्झौताअनुसार परियोजना पूर्ण कार्यान्वनमा जानुपूर्व ६ वटा पूर्वशर्त पूरा भएका हुनुपर्छ । तीमध्ये ४ वटा पूरा भइसकेको कार्यकारी निर्देशक विष्टले बताए ।

कार्यकारी निर्देशक खड्काले अहिलेसम्म करिब १८ मिलियन डलर -झण्डै दुई अर्ब रुपैयाँ) परियोजनामा खर्च भइसकेको जानकारी दिए । योमध्ये कति रकम नेपाल सरकारको र कति अनुदानबाट हो भन्ने चाहिँ उनले बताउन चाहेनन् ।

‘हामीसँग पैसाका दुई स्रोत छन् । एउटा स्रोतबाट रोकियो भने अर्को स्रोतबाट त आउनैपर्छ । दुवै स्रोतबाट रोकिएमा हाम्रो काम रोकिन्छ । अहिले एमसीसीको पैसा अवरुद्ध हुँदा नेपाल सरकारले दिएको पैसाबाटै खर्च भइरहेको सत्य हो,’ खड्काले भने ।

दुई अर्ब आफैंमा ठूलो रकम हो । अहिलेसम्म परियोजना वास्तविक कार्यान्वयनमा नजाँदै यति रकम केमा सकियो त ?

खड्काका अनुसार डिटेल डिजाइन, सम्भाव्यता अध्ययन, वातावरणीय प्रभाव मूल्यांकन -इआईए) मा धेरै रकम खर्च भएको छ । यसैगरी केही उपकरणहरु र सवारीसाधनहरु खरिद गरिएका छन् । अफिस सेटअपका लागि पनि खर्च भएको छ । बाँकी चाहिँ कर्मचारीको तलव-भत्ता र अन्य प्रशासनिक खर्च हो ।

परियोजनाका लागि अबको प्राथमिकता जग्गा अधिग्रहण र वन कटानी भएको खड्काले बताए । परियोजनाको पाँच वर्षे अवधिको गणना अगाामी जुलाईबाट सुरु हुन्छ । यसको अर्थ जून ३० सम्ममा नेपालले साइट क्लीयरेन्स र सांसदबाट अनुमोदन गरिसक्नुपर्छ ।

जग्गा अधिग्रहणका लागि नेपालको सरकारले विनियोजन गरेको रकम खर्च गर्ने एमसीए नेपालको तयारी छ । खड्काका अनुसार नुवाकोटको रातमाटेमा सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहण गर्न सूचना प्रकाशित गरिएको छ । साइट क्लियरेन्स कति रुख कटानी गर्नुपर्छ भन्ने एकिन गर्न बाँकी नै छ । ईआइए रिपोर्टले यसबारे मोटामोटी आँकलन गरे पनि एकिन संख्या निकाल्न छुट्टै विधी अपनाइने खड्काले बताए ।

एमसीसीको ५० अर्ब अनुदानमध्ये ४० अर्ब रुपैयाँ प्रशारणलाइनमै खर्च हुने अनुमान छ । बाँकी १० अर्ब विभिन्न सडकको स्तरोन्नतिका लागि छुट्याइएको छ ।

पारित नभए के हुन्छ ?

दुई अर्ब रुपैयाँ खर्च भइसके पनि एमसीसी संसदबाट पारित हुने वा नहुनेमा अन्योल छ । पारित नभएको खण्डमा यो परियोजना यत्तिकैमा स्थगित गर्नुपर्ने हुन्छ । अर्कोतर्फ नेपालमा भइरहेको विवादबाट आजित भएर अमेरिका आफैं ब्याक हुन सक्ने पनि चर्चा चलिरहेको छ ।

यी दुवै अवस्थामा दुई विकल्प हुनेछन् । पहिलो परियोजनलाई यथास्थितिमै यत्तिकै छाड्ने । दोस्रो नेपाल सरकार आफैंले स्रोत जुटाएर अघि बढाउने । तर, अहिलेसम्म एमसीसीले गरेको खर्चचाहिँ के हुन्छ ?

पूर्व कार्यकारी निर्देशक सिटौला यदि एमसीसी लागू भएन भने पनि अहिलेसम्म भएको खर्च फिर्ता गर्नु नपर्ने बताउँछन् ।

‘खर्च भएको पैसा फिर्ता गर्नुपर्ने प्रावधान सम्झौतामा कतै पनि छैन,’ उनले भने, ‘जति दियो दियो, त्यसपछि आउँदैन ।

सम्झौता कार्यान्वयनमा आइसकेपछि पनि दुवै देशमध्ये एकले चाहेमा रद्द गर्न सक्ने भनिएको छ । यदि अमेरिकाले सम्झौता रद्द गर्‍यो भने त्यस बेलासम्म भएको खर्च उसले फिर्ता माग्न पाउँदैन ।

पाँच वर्षे म्यादमा परियोजना सकिनैपर्ने भनिएको छ । यदि सकिएन भने के हुन्छ ?

सिटौला भन्छन्, ‘सकिएन भने यथास्थितिमा परियोजनाबाट अमेरिका पछि हट्छ । जहाँसम्म सकिएको छ, त्यहाँबाट नेपाल आफैंले खर्च गरेर पूर्ण दिनुपर्ने अन्यथा अलपत्र पर्ने स्थिति आउँछ ।’

परियोजना ५ वर्षमा पूरा नभएमा नेपालले कुनै क्षतिपूर्ति व्यहोर्नु पर्ने प्रावधान भने छैन । त्यसको अर्थ ५ वर्षमा अमेरिकाले जति पैसा दियो त्यो फच्चे हुन्छ, फिर्ता गर्नु पर्दैन ।

संशोधनको सम्भावना ?

नेपालमा एमसीसीको फिर्ता गनुपर्ने र लागू गर्नुपर्ने विषयमा भइरहेको विवादमा मध्यविन्दूमा रहेकाहरुले चाहिँ ‘संशोधनसहित पारित गर्नुपर्ने’ बताइरहेका छन् । के एमसीसी सम्झौतामा नेपालले चाहेर संशोधन हुन सक्छ त ?
सिटौलाको भनाइमा एमसीसी सम्झौतामा संशोधन हुन जटिल छ । एकपटक गरिसकेको विषयमा फेरि किचलो झिक्नुले अन्तर्राष्ट्रिय स्तरमा नेपालको विश्वसनीयता गुम्ने पनि उनी बताउँछन् ।

‘यो सम्झौतालाई अमेरिकाको संसदले समेत पारित गरिसकेको छ, अब यसमा संसोधन सहज छैन,’ उनले भने ।
अमेरिकी राजदूत राण्डी बेरीले हिजो मात्रै एक कार्यक्रममा एमसीसीमा संसोधन हुन नसक्ने स्पष्ट बताएका छन् । त्यसो त अहिले एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक नेपालमै आएर सम्झौताको पक्षमा माहोल बनाउन जुटिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...