मैले प्रधानमन्त्रीलाई घेराबन्दी गरेको छैन, पाँच बर्ष प्रधानमन्त्री बन्ने मौका दिएको छु – प्रचण्ड
। नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफुले घेराबन्दी नगरेको बताएको छन् । पछिल्लो समय नेकपाभित्रको शक्ति सन्तुलन बिग्रेको छ । अध्यक्ष एवं प्रधानमन्त्री ओली र प्रचण्ड फरक फरक धारमा देखिएका छन् । विशेष गरी सभामुख चयनको बिषयमा दुई अध्यक्षबीच शक्ति संघर्ष चर्केको थियो ।
सभामुख चयनका बिषयमा प्रधानमन्त्री ओलीलाई भैसेपाटीमा छुट्टै भेला गरी प्रचण्डले घेराबन्दी गरेका थिए । शनिवार प्रचण्डलाई त्यही प्रश्न सोधियो । तर उनले अस्वीकार गरेका छन् । ‘मैले प्रधानमन्त्रीलाई घेराबन्दी गरेको छैन, उहाँलाई नै पाँच बर्ष प्रधानमन्त्री बन्ने मौका दिएको छु’, कान्तिपुर कनक्लेभको कार्यक्रममा प्रचण्डले भने ।
प्रचण्ड राजनीतिकरुपमा अस्थीर नेता हुन् । कहिले ओलीसँग मिलेर वरिष्ठ नेता माधवकुमार नेपाललाई कर्नर पार्ने गर्दछन् भने कहिले नेपालसँग मिलेर ओलीलाई घेराबन्दी गर्न पुग्छन् । उनको यो ब्यवहारलाई कतिपयले कुटनीतिक मुभका रुपमा ब्याख्या गर्दछन् भने कतिपयले अस्थीर नेताको उपमा दिने गर्दछन् ।
उनले राजनीतिक स्थायीत्वका लागि ‘आलोपालो सरकारको माग आफुले छोडिदिएको बताए । ‘मैले नै केपीजीलाई पाँच बर्ष तपाई नै सरकार सञ्चालन गर्नुहोस् भन्ने प्रस्ताव गरेको हुँ’, प्रचण्डले भने ‘राजनीतिक स्थायीत्वका लागि मैले यो प्रस्ताव गरेको हुँ ।’ प्रचण्डले अर्का अध्यक्ष आलीसँग कुनै मनमुटाव नभएको पनि दाबी गरे। उनले भने,‘ हामी धेरै ठूला संघर्ष गरेर यहाँ सम्म आएका हौँ। यस्ता संघर्ष गरेकाहरुबीच कहिलेकाँही उपलब्धी मात्रै होइन दुर्गति पनि हुन्छ। तर पार्टीमा दुर्गति हुन हामी दिने छैनौ।’
उनले दुई वर्षको अनुभवले प्रधानमन्त्री बीचमा फेर्दा कहीँ न कहीँ राजनीतिक अस्थिरता उत्पन्न हुने भएकोले प्रधानमन्त्री पद छोडेको बताए । प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्न हतारो छैन भन्दा भन्दै पनि भित्रभित्र त पद हात पार्न नै खोजेको होला भन्ने कतिपयलाई भएपनि त्यसो नभएको बताए ।


