सुनसरीको दुर्घटना अपडेट : मृतक सबैजनाको सनाखत
सुनसरीको इनरुवास्थित तित्रिवना सडकखण्डमा बस र माइक्रोबस जुध्दा मृत्यु हुनेहरुको संख्या चार पुगेको छ ।
मृत्यु हुनेमा माइक्रो बसका चालक धादिङको बैरेनी ३ का दीपक खड्का, झापा भद्रपुर ५ की ६५ वर्षीया डोलकुमारी कोइराला, उनका श्रीमान हेमराज कोइराला र झापा चन्द्रगढीकी गरिमा पौडेलको मृत्यु भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
दुर्घटनामा १५ जना घाइते भएका छन् । ९ जनाको गोल्डेन अस्पतालमा, ४ जनाको एपेक्स अस्पतालमा र २ जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।
झापाबाट काठमाडौं जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हाइस माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७०५ नम्बरको बस आइतबार बिहान सवा ७ बजेतिर सुनसरीको रामधुनी नगरपालिका २ कृषिफर्म नजिक आपसमा ठोक्किएका थिए ।
बस चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।


